बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदाप्रति कांग्रेस गण्डकी प्रदेश महिला विभागको ध्यानाकर्षण

समाधान संवाददाता २०८२ साउन २२ गते १२:५६

पोखरा । नेपाल सरकार कानुन तथा संसदीय मन्त्रालयले मुलुकी अपराध संहितालाई संशोधन गर्न ल्याएको बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदाप्रति नेपाली कांग्रेस गण्डकी प्रदेश महिला विभागको ध्यानाकर्षण भएको जनाएको छ।

Advertisement

विभागद्वारा पोखरामा आयोजित महिलाहरूको विशेष भेलाले नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति बुधबार शर्मामार्फत ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको छ।

सो पत्रमा महिलाहरूको आत्मसम्मानमा ठेस पुऱ्याउने गरी अझै पनि दोस्रो दर्जाको नागरिकको रूपमा धकेल्ने अभिप्रायले सरकारले बहुविवाह गर्न पाउने सम्बन्धी कानुन प्रस्तावित मस्यौदालाई अगाडि नबढाउन चेतावनी दिएको छ।

Advertisement

सो पत्र बुझ्दै सभापति शर्माले ज्ञापनपत्रमा उल्लेख भएका विषयलाई सम्बन्धित ठाउँमा पुऱ्याउने बताए। प्रजातन्त्रमा सबै नागरिक समान हुने र कसैमाथि विभेद नहुने स्पष्ट पारे। संसार चलाउन भगवान्ले लिंगको आधारमा महिला र पुरुष भनिएको उनले बताए। ‘शरीर महिला हो भने पुरुष आत्मा हो’ भन्ने भनाइ राखे।

उक्त कार्यक्रममा कांग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारीले महिला नै कांग्रेस संगठनको मूल आधार भएको बताइन्।

Advertisement

त्यसैगरी अर्का उपसभापति मेखलाल श्रेष्ठले महिलाहरूलाई अझ सशक्त बनाई राजनीति मूलधारमा ल्याउन आवश्यक रहेको बताए। महामन्त्री विष्णु लामिछानेले सबल संगठनको पहिलो आधार कांग्रेस भित्र महिला विभाग रहेको बताए। पार्टी प्रवक्ता मधु बास्तोलाले नेपाली कांग्रेसमा मात्र समानुपातिक, समावेशितालाई पहिलो मान्यता दिने भएकाले महिलाहरूलाई राजनीतिमा आउन उत्प्रेरित गरे। गण्डकी प्रदेश महिला विभाग प्रमुख शकुन्तला शर्माले कार्यक्रमको अध्यक्षता गर्दै सरकारले ल्याउन थालेको विधेयकको विरोध गरिन्। प्रदेशका ११ जिल्लाका महिला प्रतिनिधिहरूको सहभागिता रहेको सो कार्यक्रममा मनोनित गरिएका महिला विभागका सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरियो। सहभागी महिला एवं विभागका प्रमुखहरूले नेपाली कांग्रेसको संगठन र भावी कार्यदिशाबारे बोलेका थिए।


तपाईको प्रतिक्रिया