गण्डकीमा ७ निर्देशनालय खारेज, १ सय ८५ दरबन्दी कटौती

पोखरा । बढ्दो प्रशासनिक खर्च कटौती गर्न भन्दै गण्डकी प्रदेश सरकारले ७ वटा निर्देशनालय खारेज गरी मन्त्रालयमा गाभ्ने र १८५ कर्मचारी दरबन्दी घटाउने निर्णय गरेको छ । यो निर्णयले प्रदेशको प्रशासनिक संरचनामा ठूलो परिवर्तन ल्याएको छ भने कर्मचारी वृत्तमा असन्तुष्टि र चिन्ता बढाएको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको प्रशासनिक संरचनालाई छरितो र मितव्ययी बनाउने भन्दै यस्तो निर्णय लिएको हो । सरकारको दाबीअनुसार यो कदमले तत्कालै प्रदेश सरकारको करिब ५० करोड रुपैयाँ बराबरको आर्थिक भार कम हुनेछ ।
मन्त्रिपरिषद्ले खारेज गरिएका निर्देशनालयहरूले प्रदान गर्दै आएका सेवाहरू अब सम्बन्धित मन्त्रालयका महाशाखाहरूबाटै उपलब्ध गराउने व्यवस्था मिलाएको छ । यसका साथै, जिल्लास्तरका केही कार्यालयहरूको सेवालाई एकीकृत गर्ने र संघबाट काजमा आएका कर्मचारीहरूलाई फिर्ता पठाउने प्रक्रिया पनि अघि बढाइएको छ ।
प्रदेशको प्रशासनिक संरचना बोझिलो भएको र खर्च धान्न नसकिने अवस्था आएको भन्दै सरकारले २०८१ चैतमा नेपाल सरकारका पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा एक उच्चस्तरीय ‘प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समिति’ गठन गरेको थियो । समितिमा पूर्वसहसचिव महेश्वर नरसिंह केसी र सहसचिव अच्युत लामिछाने सदस्य थिए । समितिले बुझाएको विस्तृत प्रतिवेदनका आधारमा सरकारले आंशिक रूपमा कार्यान्वयनमा जाने निर्णय गरेको हो ।
सरकारको यो निर्णयप्रति कर्मचारीहरूले भने असन्तुष्टि व्यक्त गरेका छन् । आधिकारिक ट्रेड युनियन र अन्य कर्मचारी संगठनहरूले सरकारले सरोकारवालाहरूसँग पर्याप्त छलफल नगरी एकतर्फी रूपमा निर्णय गरेको आरोप लगाएका छन् ।
एक कर्मचारी नेताले भने, “प्रशासनिक सुधारको नाममा कर्मचारीको मनोबल गिराउने काम भएको छ । यसले गर्दा कर्मचारीहरूको वृत्ति विकासमा असर पर्ने, कामको बोझ बढ्ने र अन्ततः सेवा प्रवाहमा समेत नकारात्मक प्रभाव पर्ने देखिन्छ ।” उनीहरूले समायोजन हुने कर्मचारीको भविष्य, कार्यविवरण र जिम्मेवारीबारे स्पष्ट खाका नआउँदा अन्योलता बढेको बताएका छन् ।
यो निर्णयसँगै गण्डकी प्रदेश प्रशासनिक खर्च घटाउने प्रयासमा अघि बढेको छ । तर, खारेज भएका संरचनाका कर्मचारीहरूको व्यवस्थापन र सेवा प्रवाहलाई पहिलेभन्दा चुस्त र प्रभावकारी बनाउनु सरकारका लागि प्रमुख चुनौती हुनेछ । कर्मचारीको मनोबल उच्च राख्दै पुनर्संरचनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सके मात्र सरकारको यो कदमले सार्थकता पाउने देखिन्छ ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया