
म गैरदलित भएर दलितका विषयमा लेख्नु कति जायज हो, मलाई थाह छैन । म यो विषयमा बोल्नुपर्ने हो कि होइन भन्ने पनि दुविधा छ । तर म जुन समाजमा बाँचेकी छु त्यहाँ देखेको यथार्थ अनदेखा गर्न पनि सक्दिनँ । स्कुल पढ्ने बेलामा लाग्थ्यो, हाम्रो गाउँमा जातीय विभेद धेरै हदसम्म हटिसकेको छ । कम्तीमा, बाबा आमाको समयको तुलनामा धेरै कम भएको थियो । उहाँहरुलाई हुने रोकतोक मेरो पुस्तासम्म आइपुग्दासम्म केही मत्थर भएको थियो ।
स्कुल पढ्दा मेरो एउटी साथी थिइन्—दलित समुदायकी । हामीसँगै हाँस्थ्यौं, पढ्थ्यौं, खेल्थ्यौं । कहिल्यै उनको जात मेरो सोचमा आएको थिएन । हामी विद्यालयमा खाजासँगै खान्थ्यौं । घरबाट १/२ पटक भन्दा बढी खाजासँगै नखान भनेको याद छैन । मेरो घरमा केही सीमित कुराका लागि रोकतोक थियो नत्र हाम्रो घरमा जातीय विभेद थिएन ।
त्यो समय लाग्थ्यो, हामीले विभेद पार गरिसकेका छौं । तर अहिले पनि समाजमा गएर हेर्ने हो भने जातीय विभेद ज्यूका त्यूँ छ ।
८ वर्षपछि म गाउँ गएकी थिएँ । मेला लागेको थियो, मसँगै केही साथीहरु (मगर र दलित) भएर मन्दिर जान निस्कियौं । हामी ४ घन्टासम्म एउटै बाटो हिँड्यौं, हाँस्दै गफ गर्दै । त्यो क्षणमा कहिल्यै जातको कुरा आएन । हामी ‘साथी’ थियौँ । कुरा गर्दै, हाँस्दै रमाउँदै त्यो समयमा कतै जातको कुरा निस्किएन । कतै जातले छोएको थिएन ।
मन्दिरबाट फर्केपछि खाजा खाने बेलामा दृश्य एकाएक बदलियो । दलित साथीहरुलाई छुट्याएको देख्दा एक छिन त विश्वासै लागेन । के हुँदै छ, मैले ठम्याउन पनि सकिनँ । अघिसम्म सँगै हिडेका साथी खाने बेलामा चाहिँ कसरी अछूत भयो ? मैले विरोध गर्ने सक्ने अवस्था पनि थिएन । विभेदका बारेमा ज्ञान दिने अवस्था पनि थिइन । मैले केही भन्न सकिनँ । अन्तर मनमा भने असहज र आक्रोश बलिरह्यो ।
यस्ता कुरा नदेखेको/नभोगेको भएर मैले बिर्सिइसकेकी थिएँ । एक्कासि देख्दा त दिमाग नै फ्रिज भयो । उनीहरु कोही प्लस टु पढेका, कोही स्नातक पढ्दै गरेका थिए । शिक्षित भनिएका व्यक्तिले जातका आधारमा व्यवहार गरेको देख्दा मनमा गहिरो चोट लाग्यो । त्यो दिन विभेदको चिसो सास फेरें । प्रमाणपत्रले शिक्षित हुनु र साँच्चिकै शिक्षित हुनु फरक कुरा रहेछ ।
त्यो दिन मैले विभेदको चिसो सास फेरें । प्रमाणपत्रले शिक्षित हुनु र साँच्चिकै शिक्षित हुनु फरक कुरा रहेछ ।
८/१० वर्षमा ठूलै परिवर्तन आएको होला भन्ने सोचेकी थिएँ । तर समाज अझै त्यही मानसिकतामा बाधिएको रहेछ । जातीय विभेद अन्धविश्वास हो । जातीयता भनेको पहिचान हो, जुन मेटिन सक्दैन, मेटिनु हुँदैन पनि । तर जातका आधारमा हुने विभेद भने हट्नैपर्छ । अहिलेको पुस्ताले छुवाछुत गर्नु लज्जास्पद हो । जातकै कारण ठूलो भइन्छ भन्ने कुरालाई प्रस्ट्याउन जरुरी छ ।
परम्परादेखि चलिआएको कथित जातीय छुवाछुत संवैधानिक तथा कानुनी रूपमा हटाइएता पनि मानसिक रूपमा हटाउन सकिएको छैन । गाउँमा एक जना फार्मेसिस्ट अंकल हुनुहुन्छ । उहाँ दलित हो । अरु सामान्य समयमा उहाँलाई घरभित्र पस्ने अनुमति हुँदैन तर घरमा कोही बिरामी हुँदा, औषधी दिनुपर्ने अवस्थामा भने भित्रै बोलाइन्छ ।
तर विडम्बना बिरामी निको भएपछि फेरि पुरानै व्यवहार दोहोरिन्छ । आवश्यकता हुँदा सहजै तोडिने ‘अछुतको रेखा’ आवश्यकता पूरा भएपछि फेरि ठ्याक्कै पुरानै ठाउँमा फर्किन्छ । यस्तो अवसरवादी ‘अछूत’ व्यवहारले समाजको खोक्रोपनमात्र होइन, मानवीय व्यवहारको विरोधाभासलाई पनि उजागर गर्छ । जहाँ मान्छेलाई भन्दा बढी प्राथमिकता सुविधा र स्वार्थलाई दिइन्छ ।
स्नातक पढ्ने बेलाको कुरा हो, म जातमा विश्वास गर्दिनँ भन्थे । एउटा ब्राह्रमण साथीले ‘त्यसो भए दलितसँग बिहे गर, अनि मात्र तिमीमाथि विश्वास गर्छु’ भनेकी थिइन् । जातीय विभेद अन्त्य गर्न दलितसँगै बिहे गर्नुपर्ने हो र ? जातीय विभेद अन्त्यको मापन विवाह नै हो त ? विवाह नै समानताको प्रमाणपत्र हो ? म दलितसँग मात्र होइन, अन्य थर/जातसँग पनि सजिलै विवाह गर्न सक्दिनँ । हाम्रो संस्कार, परम्परा फरक छन् । विवाह नगर्नुको अर्थ विभेद गरियो भन्ने हुँदैन । कसैको संस्कारको सम्मान गर्नु र त्यो आत्मसात गर्नु फरक कुरा हो ।
अझ अचम्मको कुरा त उनी जैसी बाहुन थिइन् । उनी खुलेआम नै भन्थिन्ः मैले उपाध्याय बाहुनसँग बिहे गर्न मिल्दैन । आफ्नै जातको उपवर्गलाई स्वीकार गर्न नसक्ने उनी समानताको प्रमाणका लागि अन्तरजातीय बिहे गर्नुपर्ने सोच देख्दा मलाई आश्चर्य लागिरहन्छ ।
आजको पुस्ताले यो कुरा कसरी बुझिरहेको छ, त्यो म ठ्याक्कै भन्न सक्दिनँ । तर यो कुरा निश्चित छ । जातीय विभेद अन्त्य हुनु अनिवार्य छ । कोही पनि जातका आधारका ठूलो–सानो हुँदैन । सबैले समान सम्मान र व्यवहार पाउनु पर्छ । समानताको समाज हामी सबैले मिलेर बनाउने हो, पीडितले मात्र होइन । आशा गरौं, जातीय विभेद कुनै दिन पूर्ण रुपमा हट्नेछ ।

प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।









निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैन: महामन्त्री थापा- पूर्ण पाठसहित
सडक सञ्जालमा जोडिँदै गुर्जा
गण्डकीमा महिला मतदाता बढी
महामन्त्री शर्माद्वारा विशेष महाधिवेशनको बन्दसत्रमा सांगठनिक प्रतिवेदन पेस- पूर्णपाठ
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया