सम्पादकीय—सुधार राजनीतिबाट थालौं

अहिले जनस्तरमा जताततै निराशा देखिन्छ । अहिलेको नेतृत्व, प्रणाली र स्रोतबाट केही हुँदैन भन्ने भाष्य बन्दै गएको छ । यस्तो भाष्यले देश विकास र निर्माणभन्दा देशलाई वर्वादीको दिशामा लैजान्छ । राज्य सञचालन गर्ने प्रमुख नीति नै राजनीति भएकाले यसप्रति आम मानिसको रुचि रहनु जरुरी हुन्छ । तर राजनीतिको उद्देश्य देश र जनताको सेवा हुनुपर्नेमा धन कमाउने माध्यम बनेको भन्दै यसप्रतिको रुचि एवं आकर्षण घट्दै गएको छ । राजनीतिक दल र नेतृत्वले आफ्नो विश्वसनीयता स्थापित गर्न सकेका छैनन् । राजनीतिक प्रदूषण यति धेरै बढिसकेको छ कि यसमा लागेको चोखो मान्छे पाउन गाह्रो भइसकेको छ ।
यदाकदा कार्यकारी ठाउँमा पुगेका कतिपय राजनीतिक व्यक्तिले निष्कलंक निस्कन पाए हुन्थ्यो भन्ने गरेको र त्यसरी कार्यकारी ठाउँमा पुग्दै गरेकालाई चोखो निस्कनु भनेर शुभकामना दिएको सुनिन्छ । बिग्रिएको राजनीतिलाई सही ट्रयाकमा हिंडाउने र बिग्रिएका नेता कार्यकर्तालाई सुधार्ने विषय नै अहिलेको प्राथमिकता हुनुपर्छ । देशको अवस्था सुधार्ने र व्यवस्थालाई बलियो बनाउने हो भने परिवर्तनको सुरुआत राजनीतिबाट गर्नु उचित हुन्छ ।
यसमा जनता वा मतदाताको भूमिका ठूलो महत्वपूर्ण रहन्छ । मतदाता नै केही वस्तु र अवसरको लोभमा बिक्ने भए भने शासन सत्तामा बेइमानहरुकै हालीमुहाली रहन्छ । नेपालमा हिजो चप्पल लगाएर सहर पसेका नेताहरु छोटो समयमै विलासी जीवन जिउने अवसर प्राप्त भएको देखिन्छ । तलव, भत्ता, गाडी, महल अनेक सुविधा उपलब्ध छन् । राजनीति सेवा नभएर उद्योग व्यापार जस्तै भएको छ । त्यसैले राजनीतिमा पनि गलत नियतका व्यापारी, उद्योगीहरु हावी भएका हुन् । यसको प्रभाव समाजका सबै अंगमा परिरहेको छ । त्यसैले जनतामा असन्तुष्टि बढ्दै गएको छ । त्यसको विकृत रुप यत्रतत्र घृणा, आक्रोश अस्वाभाविक रुपमा देखिएको छ । सामाजिक सञ्जालमा नेता, कार्यकर्ता र दलहरुलाई गाली गलौजले भरिएका देखिन्छन् । राजनीतिले नेपाली समाजलाई ठीक ढंगले डोहो¥याउन नसक्दाको परिणाम अहिले देखिएको छ ।
अब चाँडै रुपन्देही ३ मा उपनिर्वाचन हुँदै छ । सबैजसो दलले उपनिर्वाचनको तयारी थालेका छन् । मतदाताहरुको परिवर्तित मनोविज्ञान र सामाजिक सञ्जालमा अभिव्यक्त रुझान हेर्दा परम्परागत शक्तिहरुको पराजय र नयाँको विजय भयो भने आश्चर्य हुने छैन । यति बेला परम्परागत शक्तिहरुसँग कुनै राजनीतिक एजेन्डा छैनन् । जनताले विकास र समृद्धिको नारा लगाएर आफ्नो स्वार्थ हासिल गर्ने भ्रष्ट तत्वहरुलाई चिन्नुपर्छ । सबै नीतिहरुको मूल नीति राजनीति हो । त्यसैले राजनीति बिग्रिए सबै बिग्रन्छ । हाम्रो समस्या पनि यही हो । बिग्रिएको राजनीतिलाई ठीक ठाउँमा ल्याउने जिम्मेवारी दल एवं ती दलका नेतृत्वको हो । दायित्व निर्वाह गर्ने दलहरु दीर्घजीवी हुन्छन्, त्यसो नगर्ने दलहरु हराउन सक्छन् ।









सरल छविका थिए प्रशान्त तामाङ
‘नेतृत्व परिवर्तन १५औं महाधिवेशनबाट गरौं, अहिले चुनावमा जुटौं’ : कार्यवाहक सभापति खड्का
म्याग्दीमा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ
सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया