गण्डकी प्राविधिक शिक्षालयलाई कोरियाको सवा अर्ब अनुदान

समाधान संवाददाता २०८२ साउन २९ गते १५:०४

पोखरा । सरकारले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको पूर्वाधार निर्माणका लागि दक्षिण कोरिया सरकारबाट प्राप्त हुने करिब १ अर्ब २५ करोड रुपैयाँ (९० लाख अमेरिकी डलर) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

Advertisement

गत साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।. सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा सो निर्णयबारे जानकारी दिएका हुन् ।

यो निर्णयसँगै स्याङ्जाको फेदीखोला गाउँपालिका-१, गुर्धुममा प्रतिष्ठानको प्रशासनिक र आवासीय भवन निर्माणको काम अघि बढेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शनिबार उक्त भवनको शिलान्यास गरे । शुक्रबार बिहानै गण्डकी प्रदेशका सामाजिक विकास सचिव राजेन्द्रदेव पाण्डे र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) नेपालका प्रतिनिधिबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुदान सम्झौतामा हस्ताक्षर भएको थियो ।

Advertisement

शिलान्यास कार्यक्रममा मुख्यमन्त्री पाण्डेले प्राविधिक शिक्षा आजको प्रमुख आवश्यकता भएको बताए । ‘अहिले नेपालमा केही पनि गर्न सकिँदैन भन्ने नकारात्मक सोच छ’, उनले भने, ‘अब यहाँबाट उत्पादन भएका विद्यार्थीहरूले स्वरोजगार सिर्जना वा रोजगारका लागि आफूलाई स्थापित गर्न दक्ष र सिपयुक्त व्यक्ति निर्माण गर्छ । यहाँबाट ज्ञान, सिप प्राप्त गरेकाहरूमा भोलिका दिनमा नेपालमै केही सकिन्छ र यहीँ गर्नुपर्छ भन्ने भावना पनि जगाउँछ भन्ने मलाई लाग्छ ।’

गण्डकी प्रदेश सरकारले दक्ष जनशक्ति उत्पादन गरी युवालाई रोजगारीमा आबद्ध गर्ने उद्देश्यले २०७६ सालमा ऐन बनाएर २०७७ मा प्रतिष्ठान स्थापना गरेको थियो ।. पोखराको ड्यामसाइडस्थित गण्डकी यातायात व्यवस्था कार्यालयको पुरानो भवनका चारवटा कोठाबाट काम सुरु गरेको प्रतिष्ठानले लामो समयसम्म देखिने गरी काम गर्न नसक्दा आलोचनासमेत खेपेको थियो ।

Advertisement

प्रतिष्ठानका लागि फेदीखोलामा रहेको १ सय ६० रोपनी जग्गा प्राप्त भएपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी शिलान्यास गरिएको हो । कार्यक्रममा सामाजिक विकास तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, पूर्वमन्त्रीहरू सीताकुमारी सुन्दास, पञ्चराम गुरुङ, कोइका नेपालका देशीय निर्देशक मुहुन कङ, प्रदेश सांसद सुधीरकुमार पौडेल र कल्पना तिवारीलगायत उपस्थित थिए ।

सम्झौताअनुसार यो परियोजना सन् २०२५ बाट सुरु भई ५ वर्षसम्म चल्नेछ ।. कोइकाले ४ हजार ६ सय ३० वर्गमिटर क्षेत्रफलमा कक्षाकोठा, कार्यशाला, महिला छात्रावाससहितको प्राविधिक शिक्षालय भवन निर्माण गर्नेछ । साथै, आवश्यक उपकरण, फर्निचर, शैक्षिक सामग्री र प्राविधिक मार्गदर्शन पनि उपलब्ध गराउनेछ ।

प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सोमनाथ सापकोटाले भवन निर्माणपछि पहिलो चरणमा इलेक्ट्रोनिक्स/इलेक्ट्रिकल, अटोमोबाइल्स र टुरिजम/हस्पिटालिटी विषयमा पठनपाठन सुरु हुने जानकारी दिए ।

कोइका नेपालका देशीय निर्देशक मुहुन कङले यो परियोजनाले युवा, महिला र फरक क्षमता भएका व्यक्तिलाई गुणस्तरीय प्राविधिक शिक्षाको अवसर प्रदान गर्ने बताए । कोइकाले यसअघि पोखराको फोहोर व्यवस्थापन र सार्वजनिक यातायात सुधारका लागि पनि काम थालिसकेको छ ।

तपाईको प्रतिक्रिया