सम्पादकीय—पर्वतका विद्यालयमा शैक्षिक अराजकता

पर्वत जिल्लाका २७२ सामुदायिक विद्यालयमध्ये २७० वटामा शिक्षा ऐन र नियमावलीविपरीत प्रधानाध्यापकहरू कार्यरत रहेको कटु यथार्थ सार्वजनिक भएको छ । यो शैक्षिक सुशासन र कानुनी राजको धज्जी हो । यो केवल एउटा जिल्लाको प्राविधिक त्रुटिको विषय होइन, बरु यो देशको समग्र शैक्षिक प्रणालीमा व्याप्त अराजकता, दण्डहीनता र जिम्मेवार निकायहरूको चरम उदासीनताको एउटा सजीव चित्र हो । शिक्षा नियमावली, २०५९ ले स्पष्ट रूपमा प्रधानाध्यापकको पदावधि ५ वर्षको हुने र पुनः नियुक्तिका लागि प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरेको छ ।
तहअनुसारको शैक्षिक योग्यता अनिवार्य तोकेको छ । तर, पर्वतमा वर्षौंदेखि, कतिपय अवस्थामा १८ वर्षसम्म एउटै व्यक्ति प्रधानाध्यापकको पदमा रहनु र तल्लो तहका शिक्षकले माथिल्लो तहको विद्यालयको नेतृत्व गर्नुले के देखाउँछ भने कानुन केवल किताबमा सीमित छ, व्यवहारमा त्यसको कुनै अर्थ छैन । जब ज्ञानको ज्योति छर्ने पवित्र मन्दिर मानिने विद्यालयहरू नै कानुनको पालना गर्दैनन् भने त्यहाँबाट उत्पादित जनशक्तिबाट कस्तो नागरिक समाजको अपेक्षा गर्ने ?
यो समस्याको जडमा बहुआयामिक कमजोरीहरू छन् । विद्यालय व्यवस्थापन समितिहरूको गैरजिम्मेवारपन यसको प्रमुख कारक हो । आफ्नो अनुकूल व्यक्तिलाई नेतृत्वमा टिकाउन वा नयाँ प्रक्रियाको झन्झटबाट बच्न समितिहरूले कानुनलाई नजरअन्दाज गरिरहेका छन् । कतिपय व्यवस्थापन समितिका अध्यक्षले ‘यो काम हाम्रो होइन’ भनेर पन्छिनुले उनीहरूको अकर्मण्यता र कानुनी अज्ञानता दुवैलाई उजागर गर्छ । स्थानीय सरकारहरू, जसलाई संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार दिएको छ, तिनीहरू पनि यो बेथितिप्रति मौन छन् । पर्वतका स्थानीय तहहरूले प्रधानाध्यापक नियुक्तिसम्बन्धी आवश्यक कार्यविधिसमेत नबनाउनुले शिक्षा उनीहरूको प्राथमिकतामा नरहेको स्पष्ट हुन्छ ।
शिक्षा विकास तथा समन्वय एकाइ जस्ता नियामक निकायहरूको भूमिका पनि ‘कर्मकाण्डी’ पत्रचारमा मात्र सीमित देखिन्छ । सूचना जारी गर्ने र निर्देशन दिनेबाहेक ठोस कार्यान्वयन र अनुगमनमा शून्यप्रायः छ । जब अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्र जस्ता निकायले समेत चासो देखाएर कारबाहीका लागि अनुरोध गर्नुपर्छ, तब स्थिति कति भयावह छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । अझ रोचक त के छ भने, कतिपय शिक्षकहरू नै प्रधानाध्यापकको जिम्मेवारी लिन अनिच्छुक देखिन्छन् । यसले विद्यालयको नेतृत्व तह कति चुनौतीपूर्ण, सुविधाविहीन र राजनीतिक हस्तक्षेपले भरिएको छ भन्नेतर्फ पनि संकेत गर्छ ।
यो समस्या पर्वत जिल्लाको मात्र होइन, यो देशभरका अधिकांश सामुदायिक विद्यालयहरूको साझा व्यथा हो । योग्यता, क्षमता र निश्चित कार्यकालमा आधारित नेतृत्व प्रणालीले मात्र विद्यालयमा नवीनता, जवाफदेहिता र शैक्षिक गुणस्तर ल्याउन सक्छ । तर, तदर्थवाद र मनपरीतन्त्रमा चलेको नेतृत्वले विद्यालयलाई यथास्थितिमा कैदी बनाउँछ, जसको अन्तिम सिकार निर्दोष विद्यार्थीहरू हुन्छन् ।
अब पत्रचार र निर्देशनको नाटक मञ्चन गर्ने समय सकिएको छ । स्थानीय सरकारहरूले तत्काल शिक्षा ऐन र नियमावलीसँग नबाझिने गरी प्रधानाध्यापक नियुक्तिसम्बन्धी स्पष्ट कार्यविधि बनाएर कडाइका साथ लागु गर्नुपर्छ । शिक्षा विकास तथा समन्वय एकाइले कानुन नमान्ने विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई कारबाहीका लागि सिफारिस गर्ने हिम्मत गर्नुपर्छ । योग्यता पुगेका शिक्षकहरूलाई प्रोत्साहन र सुविधासहित नेतृत्वमा आउन प्रेरित गर्ने वातावरण बनाउनु आवश्यक छ । अन्यथा, ‘सार्वजनिक शिक्षा सुधार’ को नारा केवल भाषणमा सीमित हुनेछ र हाम्रा विद्यालयहरू शैक्षिक अराजकताको प्रयोगशाला बनिरहनेछन् ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया