सम्पादकीय—डेंगु नियन्त्रणको उपाय खोज

समाधान संवाददाता २०८२ भदौ ३ गते १०:१५

पछिल्ला वर्षमा नेपालमा डेंगुको संक्रमण बढिरहेको छ । गण्डकी प्रदेशमा गएको पुसयता डेंगु संक्रमित हुनेको संख्या ८ सयभन्दा बढी छ । पछिल्लो ३ सातामा मात्र २ सय २ जनामा संक्रमण पुष्टि भएको छ । मनाङबाहेक सबै जिल्लामा डेंगुमा संक्रमितमध्ये आधाभन्दा बढी बिरामी कास्कीको पोखरा महानगरपालिकाका हुन् । पोखरामा हालसम्म साढे ४ सयमा संक्रमण देखिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा गत वर्ष डेंगुको ‘हटस्पट’ बनेको थियो ।

Advertisement

उक्त वर्ष पोखरामा साढे ८ हजार जना डेंगु संक्रमित भएकोमा ३ जनाको यसबाट मृत्यु भएको थियो । पुसदेखि हालसम्म देशका ७४ जिल्लाबाट डेंगु पुष्टि भएको छ । सामान्यतः साउनदेखि असोजसम्म तराईका जिल्लामा यसको संक्रमण विस्तार हुने गरेको भए पनि पछिल्ला वर्षमा बाह्रै महिना तथा तराई, पहाडी र हिमाली भूभागमा समेत संक्रमण फैलिनु चिन्ताको विषय बनेको छ । डेंगुको गहिरो अध्ययन गरी रोकथामका लागि सचेतना अभियान जनस्तरसम्म लैजान ढिलाइ गर्नु हुँदैन ।


डेंगु संक्रमण विश्वव्यापी रुपमा ठूलै समस्या बन्दै गएको छ । सन् २०२४ मा डेढ करोड मानिस यसबाट संक्रमित भए । विश्व स्वास्थ्य संगठनले पछिल्लो दुई दशकमा विश्वव्यापी रुपमा डेंगुको संक्रमण ८६ प्रतिशतले बढेको देखाएको छ । २०६१ मा चितवनमा एक विदेशी नागरिकमा डेंगु पहिचान भएको थियो । त्यसयता छिटपुट रुपमा देखा पर्दै आए पनि २०७९ देखि यसले प्रकोपकै रुप लिएको छ । आर्थिक वर्ष २०७९÷८० मा ५६ हजार बिरामी परेकोमा ८० जनाको ज्यान भएको थियो भने २०८०/८१ मा ४८ हजार संक्रमितमध्ये २० जनाको मृत्यु भयो । गत आर्थिक वर्ष ५० हजार विरामी परेकोमा १५ जनाले ज्यान गुमाए । यो आँकडाले डेंगु संक्रमण नेपालका लागि ठूलै समस्याका रुपमा विकसित हुँदै गएको देखाउँछ ।

Advertisement


डेंगुबाट बच्ने मुख्य उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै हो । त्यसका लागि एकातिर सरकारले अभियानात्मक रुपमा लामखुट्टेको प्रजनन् स्थल तथा लार्भा खोज र नष्ट गर्न आवश्यक छ भने अर्कोतिर जनस्तरमा लामखुट्टेबाट बच्न सचेतना कार्यक्रम आवश्यक छ । भारत लगायत कतिपय देशले डेंगु सचेतना दिवस नै मनाउने गरेका छन् । नेपालमा पनि सरकारले साउन महिनालाई डेंगु सचेतना महिना घोषणा गरी राष्ट्रिय अभियान चलाएको थियो । यसलाई जनस्तरसम्म विस्तार गर्न सकिएको छैन । मूल रुपमा डेंगु नियन्त्रणका लागि समुदाय परिचालन आवश्यक हुन्छ । यसका लागि सरकारसँगै नागरिक स्वयं पनि सचेत एवं जागृत हुनु आवश्यक छ । सरकार र जनताको साझा प्रयासबाट डेंगु संक्रमण कम हुन सक्छ । अन्यथा नेपाल डेंगु महामारीको केन्द्र बन्न सक्छ ।

Advertisement

तपाईको प्रतिक्रिया