पर्वतीय दौडमा ६ इभेन्ट

समाधान संवाददाता २०८२ भदौ ४ गते १०:४४

पोखरा ।
विश्व पर्यटन दिवसको सन्दर्भमा आउँदो असोज ४ गते शनिबार आयोजना हुने दोस्रो संस्करणको खुला पर्वतीय दौड प्रतियोगिताको तयारी तीव्र पारिएको छ । पोखरा क्लिक प्रालिको आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी तीव्र पारिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

Advertisement


विश्वशान्ति स्तूपबाट सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा–२२ वडा कार्यालय हुँदै निगालेडाँडामा अवस्थित कालाबाङ घरेडी बुद्ध पार्कमा समापन हुने आठ किलोमिटर पर्वतीय दौडमा खुला, वडास्तरीय, महिला, यू–१६ र पर्यटन तथा ४० वर्षमाथिका भेट्रानतर्फको प्रोत्साहन गरी ६ वटा इभेन्ट समावेश गरिएको प्रतियोगिताका संयोजक दीननाथ बरालले बताए । अघिल्लो संस्करणका तुलनामा पुरस्कार राशि दोब्बर गरिएको छ भने दुई इभेन्ट थप गर्दै प्रोत्साहन पुरस्कारको व्यवस्था गरिएको उनले जनाए ।


प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले ५० हजार नगद प्राप्त गर्नेछन् । दोस्रो, तेस्रो, चौथो र पाँचौँलाई क्रमशः ३० हजार, १५ हजार, सात हजार, तीन हजार र छैटौँदेखि दसौँ स्थानसम्म दुरी पूरा गर्ने धावकलाई जनही एक हजार नगद, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिने भएको छ ।

Advertisement


गत वर्ष खुलातर्फको इभेन्टमा प्रथम, द्वितीय र तृतीयलाई नगद पुरस्कार क्रमशः २५ हजार, १५ हजार र सात हजार रुपैयाँ थियो । यसैगरी, वडास्तरीय, खुला महिला र यू–१६ तर्फका विजेतालाई जनही १५ हजार र उपविजेतालाई जनही सात हजार रुपैयाँसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।


प्रतियोगितामा यस वर्ष ४० वर्षमाथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरिएको छ । भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही १५ हजार रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरूले अनलाइन फाराम भर्नुपर्नेछ, अनलाइन फाराम सोमबारदेखि खुला गरिएको प्रतियोगिताका निर्देशक ओम लामाले बताए । यही भदौ २५ गतेसम्म मात्र धावकहरूले अनलाइन फाराममार्फत आफ्नो नाम दर्ता गराउन सक्नेछन् । पोखरा क्लिक डटकममा अनलाइन फाराम भर्न सकिन्छ ।

Advertisement


आफ्नै क्षेत्रलाई सञ्चार र खेल पर्यटनसँग जोडेर प्रवद्र्धन गराउने उद्देश्यले प्रतियोगिता तयारी गरिएको छ,’ पोखरा क्लिक डटकमका वरिष्ठ संवाददाता असफल गौतमले बताए ।


पत्रकार सम्मेलनमा बोल्दै पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालले उक्त इभेन्टलाई वडाले आफ्नो चाडको रूपमा लिएको बताउँदै यसको स्तरोन्नति गर्न विस्तारै हाफ म्याराथनसम्म लैजाने योजना रहेको जनाए । पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष एवं अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले उक्त दौडलाई आठ किलोमिटरबाट बढाउँदै हाफ म्याराथन हुँदै लेकसाइडदेखि पञ्चासेसम्मको म्याराथन दौड गर्न सुझाव दिए ।


पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरिबहादुर भुजेलले विश्व पर्यटन दिवसको अवसरमा हुने उक्त प्रतियोगितामा विदेशी धावकहरू बढीभन्दा बढी सहभागी गराउन पहल गर्ने वचन दिए । नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले पोखरा र पुम्दी–भुम्दीलाई विश्वसामु परिचित गराउन उक्त इभेन्टले थप मद्दत पुग्ने बताए । विश्व शान्ति स्तूप समितिका अध्यक्ष अशोक गुरुङले दौडको सुरुआत शान्ति स्तूपबाट हुने भएकोले आवश्यक व्यवस्थापनमा सहयोग गर्ने बताए ।

प्रतियोगिताका प्राविधिक ओम गुरुङले यसपालि हावा, हुरी र पानी आए पनि प्रतियोगिता निर्धारित समयमै हुने गरी तयारी हुने बताए । पोखरा २२ को वडा युवा परिषद्का अध्यक्ष दिनेश बरालले प्रतियोगिता गाउँकै नयाँ ब्रान्ड भएकोले सफल पार्न आफूहरू कटिबद्ध रहेको जनाए ।

तपाईको प्रतिक्रिया