उच्च हिमाली क्षेत्रको पर्यटन जोखिमपूर्ण बन्दै, लेक लागेर हुने मृत्यु रोक्न सरोकारवालाको जोड

पोखरा ।
उच्च हिमाली क्षेत्रमा घुम्न जाने पर्यटकहरूमा लेक लाग्ने (अल्टिच्युड सिकनेस) समस्या विकराल बन्दै गएपछि पोखरामा सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । विशेषगरी मुस्ताङको मुक्तिनाथ जस्ता धार्मिक तथा पदयात्रा गन्तव्यमा एक्कासी उचाइमा पुग्दा पर्यटकको ज्यानै जाने घटना बढेपछि यसको रोकथामका लागि तत्काल कदम चाल्नुपर्नेमा उनीहरूको जोड छ ।
गत आर्थिक वर्षमा अन्नपूर्ण संरक्षण क्षेत्रभित्र मात्रै १८ जना पर्यटकले लेक लागेर ज्यान गुमाएको तथ्यांकले यसको भयावहता देखाउँछ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार ज्यान गुमाउनेमा ६ नेपाली, ८ भारतीय तथा अमेरिका, जर्मनी, कोरिया र स्वीजरल्याण्डका एक-एक नागरिक थिए । त्यसैगरी, जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्क अनुसार २०८१ सालमा मात्र मुस्ताङमा ८ भारतीय, २ नेपाली र १ अमेरिकी नागरिक गरी ११ जनाको लेक लागेर मृत्यु भएको छ ।
यही जोखिम न्यूनीकरण गर्ने उद्देश्यले मुस्ताङको घरपझोङ गाउँपालिकाको आयोजना र होटल संघ पोखरा नेपालको समन्वयमा बुधबार पोखरामा एक छलफल कार्यक्रम आयोजना गरियो । कार्यक्रममा व्यवसायीहरूले तराईको करिब १०० मिटर उचाइबाट एकै दिनमा ३७१० मिटर उचाइको मुक्तिनाथ पुग्ने प्रवृत्ति मानव स्वास्थ्यका लागि अत्यन्तै घातक रहेको बताए ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य विकल शेरचनले यो समस्यालाई नीतिगत रूपमै सम्बोधन गर्न प्रदेश सभामा आवाज उठाउने प्रतिबद्धता जनाए । उनले अन्नपूर्ण चक्रीय पदमार्गका विभिन्न स्थानमा पर्यटकले बुझ्ने गरी सचेतनामूलक सूचना सामग्री राख्नुपर्नेमा जोड दिए ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकको संख्याभन्दा गुणस्तरमा ध्यान दिनुपर्ने बेला आएको बताए । “भारतीय पर्यटकहरू एकै दिनमा मुक्तिनाथ पुगेर पोखरा वा मुस्ताङ कतै नबसी फर्कंदा एकातिर सुरक्षा जोखिम बढेको छ भने अर्कोतिर बसाइ अवधि पनि घटेको छ,” उनले भने, “यस्तो जोखिमले कतिपयको ज्यान समेत गएको छ ।”
कार्यक्रमका अन्य वक्ताहरूले पनि विभिन्न सुझाव प्रस्तुत गरे । होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले पोखरामा एक सुविधासम्पन्न सूचना केन्द्र स्थापना गरी पर्यटकलाई सही जानकारी दिनुपर्ने बताए । नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले सचेतनामूलक पुस्तिका र सूचना बोर्ड राख्न बोर्ड तयार रहेको जानकारी दिए । त्यसैगरी, टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स्) कार्ड अनिवार्य गर्दा सुरक्षा बढ्ने धारणा राखे ।
आयोजक संस्था घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले धेरै पर्यटकलाई उचाइमा जाँदा अपनाउनुपर्ने सावधानीबारे थाहै नहुने गरेको बताए । उनले पर्यटकलाई आराम गर्दै, समय लिएर र न्यानो कपडा लगाएर मात्र उच्च भूभागमा जान सचेत गराउनुपर्ने आवश्यकता औंल्याए । एक्यापका प्रमुख डा. रविन कडरियाले पर्यटक सुरक्षाका लागि एक्याप सचेत रहेको र स्थानीय व्यवस्थापन समितिसँग मिलेर काम गरिरहेको जानकारी दिए ।
छलफलमा व्यवसायीहरूले सरकारी निकायबाट यस विषयलाई गम्भीरतापूर्वक नलिएको गुनासोसमेत गरे । होटल संघ गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले यसअघि नै विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकोमा दुःख व्यक्त गरे । व्यवसायीहरूले पर्यटकको स्वास्थ्यमाथि खेलवाड गर्ने व्यवसायीलाई कारबाही गर्न र सरकारले नै नीति बनाएर सुरक्षा सुनिश्चित गर्न माग गरेका थिए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया