गण्डकी विश्वविद्यालयका डा. राजकुमार थापा विश्व विज्ञान प्रतिष्ठान (ट्वास्) को युवा सम्बन्धन सदस्यमा नियुक्त

समाधान संवाददाता २०८२ भदौ ४ गते १६:०७

पोखरा । गण्डकी विश्वविद्यालयस्थित अनुसन्धान केन्द्र, आविष्कार तथा नवप्रवर्तन केन्द्रका निर्देशक डा. राजकुमार थापा विश्व विज्ञान प्रतिष्ठान (द वर्ल्ड एकेडेमी अफ साइन्सेस – ट्वास्) को मध्य तथा दक्षिण एसिया क्षेत्रका लागि युवा सम्बन्धन सदस्यमा नियुक्त भएका छन् ।

उनलाई सन् २०२५ देखि २०३० सम्मको कार्यकालका लागि नियुक्त गरिएको हो । यो प्रतिष्ठित सम्मानले डा. थापाले फार्मेसी तथा फर्मास्युटिकल विज्ञानको क्षेत्रमा स्थानीय, क्षेत्रीय र विश्वव्यापी स्तरमा पुर्‍याएको महत्वपूर्ण योगदानको कदर गरेको छ ।

ट्वास् एक योग्यतामा आधारित विज्ञान प्रतिष्ठान हो, जुन विकासोन्मुख देशहरूमा विज्ञानलाई अगाडि बढाउन समर्पित छ । यसले १०० भन्दा बढी राष्ट्रका १,४०० भन्दा बढी वैज्ञानिकहरूलाई एउटै मञ्चमा ल्याएको छ । इटालीको ट्रिएस्टेमा मुख्यालय रहेको ट्वासले अनुसन्धान, शिक्षा, नीति र विज्ञान कूटनीतिमार्फत दिगो समृद्धिलाई बढावा दिन्छ ।

Advertisement

ट्वास् युवा सम्बन्धन कार्यक्रमले वार्षिक रूपमा ४० वर्षभन्दा कम उमेरका २५ जनासम्म उत्कृष्ट वैज्ञानिकहरूलाई ६ वर्षे कार्यकालका लागि छनोट गर्दछ । सम्बन्धन सदस्यहरूले ट्वासका फेलोहरूसँग नजिकबाट संलग्न हुने, साधारण सभा र सम्मेलनहरूमा भाग लिने, र ट्वासका क्षेत्रीय साझेदारहरूद्वारा नेतृत्व गरिएका पहलहरूमा योगदान पुर्‍याउने अवसर पाउँछन् ।

डा. थापा गण्डकी विश्वविद्यालयका प्राध्यापक तथा अनुसन्धान केन्द्र, आविष्कार तथा नवप्रवर्तन केन्द्रका निर्देशक हुन् । उनको अनुसन्धान लक्षित नानो पार्टिकल्स, जीन थेरापी, र एन्टिमाइक्रोबियल डेलिभरी प्रणालीको प्रयोगबाट क्यान्सर र दीर्घकालीन घाउहरूको नवीन उपचारमा केन्द्रित छ । उनी स्ट्यानफोर्ड विश्वविद्यालय र एल्सिभियर (सन् २०२०-२०२४) द्वारा गरिएको एक वरीयता अनुसार विश्वका शीर्ष २% वैज्ञानिकहरू मध्येमा पनि पर्छन् ।

Advertisement

डा. थापाले भने, ‘ट्वास्को युवा सम्बन्धन सदस्यको रूपमा नियुक्त हुनु एक ठूलो सम्मान हो । यो सम्मानले मलाई अनुसन्धान, नवप्रवर्तन र सहकार्यमार्फत विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न निरन्तर लागिरहन प्रेरित गर्दछ ।’

डा. थापाको यो उत्कृष्ट सम्मानका लागि गण्डकी विश्वविद्यालयले उनीप्रति गौरवान्वित भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया