नेपाल निजामति कर्मचारी युनियन कास्कीको पदस्थापन

समाधान संवाददाता २०८२ भदौ ५ गते १८:०४

पोखरा । नेपाल निजामति कर्मचारी युनियन, कास्कीको नवनिर्वाचित कार्यसमितिको बिहीबार पोखरामा पदस्थापन गरिएको छ ।
संस्थाको नवौं तथा पहिलो प्रदेश विभागीय अधिवेशनबाट निर्वाचित कार्यसमिति, प्रदेश प्रतिनिधि र केन्द्रीय प्रतिनिधिको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदम मन्त्री विन्दुकुमार थापाको उपस्थितीमा पदस्थापन गरिएको हो । अधिवेशन साउन २२ गते पोखरामै भएको थियो । उक्त अधिवेशनबाट नेपाल निजामती कर्मचारी युनियन, कास्कीमा केदार सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । प्रदेश विभागीय कार्यसमितिमा प्रदीपचन्द्र सुवेदीको कार्यसमिति बनेको थियो । कार्यक्रममा अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई शपथग्रहण, प्रमाणपत्र वितरण एवम् जिम्मेवारी हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीले संगठनात्मक सुदृढता र आन्तरिक एकतामार्फत जनताप्रति हुने सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए । उनले निजामती कर्मचारी संगठनले कर्मचारी अधिकारको संरक्षणसँगै पारदर्शी, जिम्मेवार र दक्ष सेवाप्रवाहमा योगदान दिनुपर्ने आवश्यकता औंल्याए । ‘निजामती कर्मचारी युनियन कर्मचारी वर्गको पेशागत अधिकार र हितको मात्र पक्षधर नभई सुशासन, जवाफदेहितापूर्ण प्रशासन र नागरिकलाई समयमै सेवा पु¥याउने संस्कारलाई बलियो बनाउन उत्प्रेरक हुनुपर्छ । संगठनको मजबुती नै विश्वासिलो सेवा र संस्थागत विकासको आधार हो,’ उनले भने ।
संगठनले यथार्थपरक नीति सुझाव, कर्मचारीबीचको एकता र संगठनात्मक सचेतनाबाट सरकार र कर्मचारीबीचको समन्वयलाई अझ सबल बनाउन सक्ने विश्वास उनको छ । मन्त्री थापाले नयाँ नेतृत्वलाई शुभकामना दिँदै जिम्मेवारी वहन गर्न दृढ संकल्पित भई अघि बढ्न आह्वान समेत गरे ।
उनले प्रदेश सरकारले गरेका कामको प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । विगतका समयमा नभएका कामहरु अहिले सरासर भइरहेको र जनता लाभान्वित हुने गरि अग्रसर रहन समेत कर्मचारीलाई निर्देशन दिएका छन् ।
तीज पर्वको अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमलाई समेत जोड्दै उनले नेपाली समाजमा सद्भाव, पारिवारिक खुसी र सांस्कृतिक एकताको सन्देश प्रवाह गर्ने परम्परा तीज भएको बताए । शपथग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रममा जिल्ला कार्यसमिति, प्रदेश विभागीय संरचना, विभिन्न शाखा युनियनका प्रतिनिधिहरु, समाजका सरोकारवाला तथा कर्मचारी परिवारको उल्लेख्य उपस्थिति रहेको थियो । नवनिर्वाचित अध्यक्ष केदार सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सचिव भानु ढकाल, गण्डकी प्रेस रजिष्ट्रार विमला भण्डारी लगायतले बोलेका थिए । कार्यक्रममा निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्दै जिम्मेवारी हस्तान्तरण समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया