लामाचौर कप भलिबल : खुला पुरुष भलिबल सुरु

समाधान संवाददाता २०८२ भदौ ८ गते १९:२२

पोखरा । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरामा २७ औं संस्करणको लामाचौर तीज महोत्सव अन्तर्गत खुला पुरुष भलिबल आइतबारदेखि सुरु भएको छ ।
महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगितामा आयोजक नवआदर्श, जि.एम. समाज, ढुंगेदेउराली क्लब र एपिएफ क्लबले विजयी सुरुवात गरेका छन् ।
इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा सुरु भएको प्रतियोगिताको पहिलो दिनको खेलमा आयोजकले माछापुच्छ्रे गाउँपालिकालाई सोझो सेटमा पराजित गर्यो । आयोजकले पहिलो सेट ३३–३१ ले जितेको थियो भने दोस्रो र तेस्रो सेट क्रमशः २५–१३ र २५–१८ ले आफ्नो पक्षमा पार्यो । आइतबार नै भएको दोस्रो खेलमा जि.एम. समाजले कृष्णदल फूलबारीलाई २५–२०, २५–१८ र २५–२३ को सोझो सेटमा हरायो ।
तेस्रो खेलमा ढुंगेदेउरालीसँग पराजित भएको माछापुच्छ्रे गाउँपालिकाले लगातार दोस्रो हार बेहोर्यो । दिनको चौथो तथा अन्तिम खेलमा एपिएफ क्लबले कृष्णदलको चुनौतीलाई सोझो सेटमा पन्छायो । एपिएफले खेल २५–२०, २५–२१ र २५–१९ ले जित्यो । पहिलो दिनको खेल सकिँदा दुई खेलमा पराजय भोगेका माछापुच्छ्रे गाउँपालिका र कृष्णदल फूलबारी अंकविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएका छन् ।
तीन दिनसम्म चल्ने प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा आयोजक र ढुंगेदेउराली छन् भने समूह ‘बि’ मा जि.एम. समाज र एपिएफ रहेका छन् । सोमबार लिग चरणको पहिलो खेलमा आयोजकले ढुंगेदेउरालीको सामना गर्नेछ भने दोस्रो खेलमा जि.एम. समाज र एपिएफ भिड्ने रेफ्री बिमल रानाले जानकारी दिए ।
प्रतियोगिताको पुरुषतर्फको विजेताले ३ लाख रुपैयाँ र उपविजेताले १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । ३ सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ ।
यसैबीच, महोत्सव अन्तर्गतकै अन्तर मावि छात्रा भलिबलतर्फ टप्स र शान्त मावि फाइनलमा प्रवेश गरेका छन् । पहिलो सेमिफाइनलमा टप्सले सिर्जना माविलाई सोझो सेटमा र दोस्रो सेमिफाइनलमा शान्तले पोखरा युनाइटेडलाई २–१ को सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । फाइनल खेल भदौ १० गते हुनेछ । छात्रा भलिबलको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ पाउनेछिन् ।
समाजको २९ औं वार्षिक समारोह तथा तीजको अवसरमा आयोजित महोत्सवमा भलिबलसँगै तीज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, स्रष्टा सम्मान जस्ता कार्यक्रम पनि समावेश छन् । महोत्सवमा औद्योगिक तथा व्यापारिक गरी ५० स्टल, बालउद्यान र कलाकारहरुको दैनिक प्रस्तुति रहने प्रचार संयोजक विष्णुप्रसाद गौतमले बताए ।

तपाईको प्रतिक्रिया