जलवायु परिवर्तनको असरबारे मुस्ताङमा जुट्दै देशभरका पालिका, ‘मुस्ताङ घोषणापत्र’ जारी गरिने

समाधान संवाददाता २०८२ भदौ १० गते ७:५३

मुस्ताङ

जलवायु परिवर्तनले निम्त्याएको संकटबारे राष्ट्रिय ध्यानाकर्षण गराउन मुस्ताङको घरपझोङ गाउँपालिकाले एक नवीन पहल थालेको छ । गाउँपालिकाले आगामी भदौ ३१ गते देशभरका स्थानीय तहका प्रतिनिधिहरूलाई मुस्ताङमा भेला गराई जलवायु असरबारे गम्भीर छलफल कार्यक्रम आयोजना गर्न लागेको हो ।

घरपझोङ गाउँपालिकाले देशका सबै ७५३ वटै स्थानीय तहलाई आ-आफ्नो पालिकामा जलवायु परिवर्तनले पारेको असरबारे कार्यपत्रसहित उपस्थित हुन निम्ता दिएको छ ।

Advertisement

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जलवायु परिवर्तनको असरबारे सबै स्थानीय तहमा देखिएका साझा समस्या र चुनौतीहरूलाई एकीकृत गरी ‘मुस्ताङ घोषणापत्र’ तयार पारिने बताए । ‘हामीले नगरेको गल्तीको असर भोग्नुपर्ने अवस्था आयो,’ उनले भने, ‘पानीका मूल सुक्दै गए, हिउँदमा हिउँ नपरेको दुई वर्ष हुन थाल्यो, सुक्खा मौसममा पहिरो गैरहेको छ । कृषि, पर्यटन, पशुपालनलगायत हरेक क्षेत्रमा असर देखिन थाल्यो ।’

यो सम्मेलनमार्फत जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि स्थानीय, प्रदेश र संघीय सरकारलाई बजेटको आकारअनुसार ठोस कार्यक्रम बनाउन दबाब दिइने उनको भनाइ छ ।

Advertisement

सम्मेलनको तयारीसँगै विभिन्न पालिकाले आ-आफ्नो क्षेत्रमा देखिएका असरबारे गृहकार्य थालेका छन् । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पर्न छाडेर काला पहाडमा परिणत हुन थालेको बताए । ‘पहिले सोलुमा धेरै हिउँ पर्थ्यो, तर अहिले हाम्रै नगरपालिका क्षेत्रमा हिउँ नपरेको तीन वर्ष भइसक्यो,’ उनले भने, ‘यसले कृषि, पशुपालन र जलविद्युत्मा प्रत्यक्ष असर पारेको छ ।’

यसैगरी, तराईमा पनि जलवायु परिवर्तनको असर गहिरो बन्दै गएको छ । मोरङको धनपालथान गाउँपालिकाका अध्यक्ष जीवच्छप्रसाद गच्छदारले वर्षायाममा पानी नपर्दा धानबालीमा ठूलो क्षति पुगेको अनुभव सुनाए । ‘असार/साउनमा पानी नपरेर खडेरी जस्तै भयो, बल्ल भदौ लागेपछि पानी पर्दैछ,’ उनले भने ।

दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कहिले खडेरी र कहिले अतिवृष्टिका कारण बाढीपहिरोको समस्या बढेको बताए । उनका अनुसार, मौसमको फेरबदलले नयाँ-नयाँ रोगको संक्रमणसमेत बढ्दै गएको छ । उनले आफ्नो पालिकाको जलवायु असरबारे मुस्ताङ सम्मेलनमा विस्तृत जानकारी दिने बताए ।

भदौ ३१ गते आयोजना हुने एकदिने कार्यक्रममा स्थानीय तहका प्रमुख, जलवायु विज्ञ तथा अन्य विषय विज्ञहरूको सहभागिता रहनेछ । कार्यक्रममा २ हजार ५ सयभन्दा बढी सहभागी हुने र ६० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया