सम्पादकीय—हार्दिकता र सशक्तीकरणको पर्व

नेपाली समाजमा धार्मिक आस्था, पारिवारिक एकता, सामाजिक मेलमिलाप र सांस्कृतिक पहिचानको कोणबाट अनेकता छ । कुनै पनि देश वा समुदायमा आफ्नो संस्कृति हुन्छ, त्यसैले चाडपर्वलाई संस्कृतिकै निरन्तरताको रुपमा मनाइने भएकाले चाडपर्वलाई अलग राखेर समाज विकासको कल्पना गर्न सकिँदैन । बरु चाडपर्वलाई बदलिएको समाज र विज्ञानको विकाससँग कसरी तालमेल मिलाउँदै लैजाने भन्ने सन्दर्भमा आवश्यक बहस र सुधारका कार्य गर्नु पर्दछ । चाडपर्वका विविध आयाम छन् । धार्मिक आस्था राख्नेहरुले देवी–देवता, ऋषि र पितृप्रतिको श्रद्धाको रुपमा यसलाई लिन्छन् ।
सांस्कृतिक रुपमा चाडपर्वलाई नाचगान, भेला, मेलाजात्रामार्फत संस्कृतिको संरक्षणमा केन्द्रित गर्न सकिन्छ भने सामाजिक रुपमा यसलाई परिवारजनको भेटघाट, मिलन, आपसी सद्भाव र सहयोग आदानप्रदानको रुपमा लिन सकिन्छ । आर्थिक कारोबारका हिसाबले व्यापार, मेला, किनमेल र बजारको चहलपहलमार्फत अर्थतन्त्र चलायमान बनाउने अवसरको रुपमा चाडपर्वलाई लिन सकिन्छ । शिक्षा र नैतिकताको आधारमा हेर्दा सत्य, न्याय, प्रेम, मिलन र कर्तव्यबोधको सन्देशको रुपमा पनि चाडपर्वलाई लिन सकिन्छ । यीमध्ये समाजमा कुन क्षेत्रलाई महत्व दिने भन्ने आआफ्नै तर्क छन् ।
चाडपर्वको महत्वमाथि मात्र होइन, यसलाई मनाउने शैलीमाथि पनि केही प्रश्न अवश्य छन् । नेपालमा पछिल्लो समय चाडपर्व मनाउने तरिका भड्किलो र देखावटी भएको भन्ने सुनिन्छ । यसलाई पनि समाज विकाससँगै जोडेर हेर्नुपर्ने हुन्छ । तीजकै कुरा गरौं, हिजो नेपाली महिला घरभन्दा बाहिर जान नपाउने अवस्थामा एक दिन भए पनि सामूहिकरुपमा दुःख र पीडाजन्य भावनाहरु नाचगानमार्फत सुनाउँथे । तर, आज त्यो अवस्था छैन । समाज विकासअनुसार महिलामुक्तिको अभियान अघि बढ्न सकेको छैन तर राजनीतिक, सामाजिक र सांस्कृतिकरुपमा नेपाली महिला धेरै अघि बढिसकेका छन् । त्यसैले हिजो सामन्ती समाजमा जस्तै आज पनि एक दिनमात्र तीज मनाइदिनुपर्छ भन्ने कुनै तथ्यपरक मान्यता होइन । आज महिला विभिन्न राजनीतिक र सामाजिक क्षेत्रमा क्रियाशील छन् । तीजमात्र होइन, हरेक चाडपर्व मनाउँदा हामीले केही सवालमा चाहिँ ख्याल गर्नैपर्छ ।
चाडवाड सबैले मनाउनसक्ने हुनुपर्छ । सम्पन्नले चाडपर्वलाई धनदौलत प्रदर्शन गर्ने अवसर बनाउने र विपन्नले यसलाई संकटको रुपमा लिने अवस्था आउन दिनुहुँदैन । बजारले चाडपर्वलाई उपभोग–संस्कृतिमा परिणत गर्न खोज्छ । ऋण लिएर भए पनि भड्किलो तवरले पर्व मनाउनुपर्ने दबाब समाजमा बढ्दै गएको छ । यो प्रवृत्ति चाडपर्वमा मात्र नभई जन्म, विवाह र मृत्यु जस्ता संस्कारमा पनि बढ्दै गएको छ । यसलाई समाजले गम्भीरतापूर्वक लिनैपर्छ । कुनै पनि हाम्रा चाडपर्वमा पाश्चात्य संस्कृतिले प्रश्रय पाउनु हुँदैन । चाडपर्वलाई विदेशी संस्कृतिको नक्कल गरेर होइन, सादगी शैली अपनाएर सामूहिक भेला, पारिवारिक भेटघाट र संस्कृति संरक्षणमै जोड दिन आवश्यक छ । तीजलाई महिला सशक्तीकरण र पारिवारिक र साथीभाइबिच हार्दिकता साटासाट गर्ने पर्वका रुपमा मनाउन जरुरी छ ।







सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया