बुबाः मार्गदर्शक र संरक्षक

बाबुको मुख हेर्ने दिन नेपाली समाज र संस्कृतिमा अत्यन्तै महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रुपमा मानिन्छ । हिन्दु परम्परा अनुसार भाद्र कुशे औँसीका दिन यो पर्व मनाइन्छ र यस दिनलाई पिताप्रति आदर, सम्मान र कृतज्ञता प्रकट गर्ने विशेष अवसरका रूपमा लिइन्छ । हाम्रो जीवनमा आमाप्रति सम्मान र सम्झनाका लागि तीज, मातृ दिवस जस्ता दिन भएझैं बाबुप्रतिको श्रद्धा र स्नेह प्रकट गर्ने अवसर भने यसै दिनलाई मानिन्छ ।
यो दिनमा विशेष गरी बाबु जीवित भए उहाँको मुख हेर्ने, मिठामिठा खानेकुरा र उपहार दिने, उहाँलाई विशेष आदर र स्नेह प्रकट गर्ने गरिन्छ भने बाबु दिवंगत भए उहाँको सम्झनामा गोकर्णेश्वर, देवघाट, त्रिवेणी, मन्दिर तथा विभिन्न तीर्थस्थानमा स्नान गरी श्राद्ध, तर्पण र पिण्डदान गर्ने परम्परा छ ।
यस दिन बिहानै नुहाइधुवाइ गरी छोराछोरीले आफ्ना बाबुलाई विभिन्न फलफूल, मिठाइ, कपडा र मनपर्ने वस्तुहरू अर्पण गरी मुख देखाउने परम्परा छ । कतिपय स्थानमा छोराछोरीले बाबुलाई आफैंले पकाएको भोजन खुवाउने परम्परा पनि छ । जसले सम्बन्धलाई अझ घनिष्ट बनाउँछ ।
बाबुको मुख हेर्ने दिनको ऐतिहासिक पृष्ठभूमि वेद, पुराण र महाभारतसँग पनि सम्बन्धित पाइन्छ । पितृ देवतालाई देवता भन्दा पनि अग्रस्थान दिने परम्परा वैदिक सनातन संस्कृतिमा पाइन्छ । पितृ ऋण तिर्नु सन्तानको प्रमुख कर्तव्य मानिएको छ र यो पर्वले त्यही ऋण तिर्ने प्रयासको प्रतीक प्रस्तुत गर्दछ ।
बाबुको भूमिका सन्तानको जीवनमा आधारशीला जस्तै हुन्छ । आमाले गर्भ धारणा गरेर सन्तानलाई जन्म दिन्छिन् भने बाबुले जीवनलाई स्थायित्व, संरक्षण, पालनपोषण, अनुशासन र संस्कार दिन्छन् । बाबुको कठोर मेहनत, संघर्ष र माया–ममता बिना परिवारको अस्तित्व नै असम्भव हुन्छ । त्यसैले सन्तानले आफ्नो जीवनमा बाबुका योगदानलाई सम्झनु र कृतज्ञता प्रकट गर्नु अनिवार्य हुन्छ । यस पर्वले पारिवारिक सम्बन्धलाई मजबुत बनाउनुका साथै समाजमा पितृत्वको गरिमा उजागर गर्ने कार्य गर्दछ ।
धार्मिक दृष्टिले पनि यस दिन अत्यन्त गहिरो अर्थ छ । बाबु दिवंगत भएका सन्तानले गोकर्णेश्वरमा स्नान गरी श्राद्ध गर्ने परम्परा रहेको छ । त्यसैले यस दिनलाई गोकर्णे औंसी पनि भनिन्छ । यस दिन गरिएको श्राद्धले पितृहरूलाई तृप्त पार्ने विश्वास छ । विशेष गरी काठमाडौं उपत्यकाको गोकर्णेश्वर महादेव मन्दिर यस दिन भक्तजनले खचाखच भरिने गर्छ । यहाँ सन्तानहरूले दिवंगत पिताको सम्झनामा तर्पण, दान र पूजाआजा गर्छन् र यो परम्परा शताब्दीयौँदेखि चलिआएको छ । यसले पितृ तर्पणलाई सामाजिक एकतासँग जोडेको छ ।
बाबुको मुख हेर्ने दिन धार्मिक पक्ष मात्र नभई समाजशास्त्रीय दृष्टिले पनि अत्यन्त महत्वपूर्ण छ । पिताप्रतिको आदर सम्मान संस्कृतिमा निहित पारिवारिक मूल्य हो । समाजमा पिताको भूमिका परिवारमात्र होइन, समुदाय र राष्ट्र निर्माणमा समेत केन्द्रीय हुन्छ । परिवारलाई सुरक्षित राख्ने, सामाजिक आचारसंहिता पालन गर्न सिकाउने, संस्कार दिने र आफ्नो जीवनलाई संघर्षपूर्वक खपाएर पनि सन्तानलाई उज्ज्वल भविष्य दिलाउने कार्यमा बाबु अनन्त प्रेरणाको स्रोत हुन्छन् । यो पर्वले नयाँ पुस्तालाई पितृपक्षप्रतिको कर्तव्यबोध गराउँछ र संस्कृतिको संरक्षणमा योगदान पुर्याउँछ ।
पिताको मार्गदर्शन र मूल्यबोध आत्मसात गरी कर्तव्य पूरा गर्नु नै बाबुको मुख हेर्ने दिनको वास्तविक अन्तर्य हो
यस दिनको अर्को महत्वपूर्ण पक्ष भनेको पारिवारिक मिलन हो । दूरदराजमा रहेका सन्तानहरू पनि आफ्ना बाबुलाई भेट्न घर फर्कन्छन्, भेटघाट हुन्छ, परिवारको खुसी साटासाट हुन्छ । यसले पारिवारिक सम्बन्धलाई अझ मजबुत बनाउँछ । यसरी हेर्दा बाबुको मुख हेर्ने दिनले व्यक्तिगत, पारिवारिक, सामाजिक र धार्मिक सबै आयामलाई जोडेको पाइन्छ । यस पर्वको अभ्यासले नयाँ पुस्तामा वृद्धबाबु–आमाप्रतिको कर्तव्यबोध जगाउँछ र वृद्धाश्रमको बढ्दो प्रवृत्ति कम गर्ने पनि विश्वास गरिन्छ । बाबु जीवित हुँदा सम्मान गर्नु नै सबैभन्दा ठूलो धर्म हो भन्ने चेतना यस पर्वले फैलाउँछ । धर्मशास्त्रमा भनिएको छः पितृदेवो भव अर्थात् पिता नै देवता समान हुन् । यसैले यस दिन सन्तानले बाबुलाई देवतासमान मानेर पूजा–आराधना गर्छन् ।
बाबुको मुख हेर्ने दिन केवल एउटा संस्कार होइन, यो हाम्रो संस्कृतिको जीवित धरोहर हो । जसले पितृप्रतिको श्रद्धा, आदर, माया र कृतज्ञता सन्तानमा निरन्तर जगाइरहन्छ । यस पर्वले नयाँ पुस्तालाई संस्कार सिकाउने, संस्कृतिप्रति गर्व गराउने, परिवार र समाजलाई अझ नजिक ल्याउने काम गर्दछ । आधुनिक समाजमा बाबुका भूमिका केही हदसम्म फरक भए पनि पिताको महत्व भने सधैँ अपरिवर्तित रहन्छ ।
समय बदलिँदै जाँदा सन्तानको जीवनशैलीमा परिवर्तन भए पनि बाबुका योगदान र पितृत्वको गरिमा कहिल्यै हराउँदैन । यस पर्वले त्यही गरिमाको स्मरण दिलाउँछ र यसलाई जीवन्त राख्छ । आजको आधुनिक शिक्षित समाजमा पनि बाबुको मुख हेर्ने दिनको महत्व अझ बढ्दै गएको छ किनभने व्यस्त जीवनशैलीले आमा–बाबुप्रतिको ध्यान कम गराइरहेको अवस्थामा यस्ता पर्वहरूले हाम्रो कर्तव्य सम्झाइरहन्छ ।
यस दिनलाई केवल औपचारिकतामा सीमित नगरी जीवनभर बाबुप्रति आदर, सेवा र कृतज्ञता प्रकट गर्ने संस्कार जीवनमा उतार्न सके मात्रै यस पर्वको वास्तविक अर्थ पूरा हुन्छ । यसैले बाबुको मुख हेर्ने दिनलाई धार्मिक, सांस्कृतिक, सामाजिक र नैतिक मूल्यहरूको संगम मान्न सकिन्छ । जसले हाम्रो जीवनलाई मार्गदर्शन मात्र गर्दैन भविष्यलाई पनि संस्कारित बनाउँछ ।
यसरी हेर्दा बाबुको मुख हेर्ने दिन केवल परम्परा वा औपचारिक संस्कारमात्र नभई हाम्रो जीवन, संस्कृति र समाजलाई मार्गदर्शन गर्ने गहिरो सन्देश बोकेको पर्व हो । बाबुको असाधारण त्याग, माया, अनुशासन र परिश्रमप्रति आभार प्रकट गर्ने अवसरका रूपमा यस दिनले सन्तानलाई पितृऋण सम्झाइरहन्छ र पितालाई देवत्वको स्तरमा राख्छ । परिवारलाई एकताबद्ध बनाउने, पिताप्रतिको सम्मानलाई स्थायी बनाउन प्रेरित गर्ने, संस्कृतिको संरक्षण गर्ने र भविष्यलाई संस्कारित बनाउन मद्दत गर्ने यस पर्वले हाम्रो सामाजिक जीवनलाई अझ समृद्ध बनाएको छ । पिताले दिएको मार्गदर्शन र मूल्यबोधलाई जीवनमा आत्मसात गरी सन्तानले कर्तव्य पूरा गर्नु नै बाबुको मुख हेर्ने दिनको वास्तविक अन्तर्य हो ।
विगत र वर्तमानलाई हेर्दा समयको परिवर्तनसँगै बाबुको भूमिकामा केही रूपान्तरण भए पनि महत्व घटेको छैन । अहिले पनि बुबा परिवारका मुख्य उत्तरदायी सदस्य हुन्। तर अघिल्लो पुस्ताजस्तो कठोर अनुशासनभन्दा अहिलेका बुबाहरू साथी सरहको व्यवहार गर्ने गर्छन्। आजका बुबा केवल आम्दानी गर्नेमात्र होइनन्, घरभित्रै सन्तानसँग समय बिताउने, पढाइमा सहयोग गर्ने र मानसिक समर्थन दिने भूमिकामा पनि देखिन्छन् । शिक्षा, रोजगार, स्वास्थ्य, प्रविधि आदिमा अवसर दिलाउन बुबाले ठूलो त्याग गर्ने गर्छन्। पहिले परिवारका सम्पूर्ण निर्णय बुबाले मात्र गर्ने परम्परा थियो भने अहिले परिवारभित्र आमा र छोराछोरीसँग छलफल गरी निर्णय गर्ने प्रचलन बढेको छ ।
यसले बुबाको भूमिका अझ सन्तुलित र सहकार्यात्मक बनेको छ । बुबा विगतमा जस्तै आज पनि परिवारका स्तम्भ र प्रेरणाका स्रोत हुन् । तर, भूमिकाको स्वरुपमा समयअनुसार परिवर्तन आएको छ । पहिले कठोर अनुशासन र आदेशद्वारा सन्तानलाई अघि बढाउने बाबु, अहिले प्रेम, समझदारी र सहकार्यको माध्यमबाट सन्तानको भविष्य उज्यालो बनाउन लागिपरेका छन्। विगत होस् वा वर्तमान, बुबा परिवार र समाज दुवैका लागि अपरिहार्य पात्र हुन् ।
पिताको जीवन त्याग र संघर्षको जीवन हो । उहाँ दिनरात मेहनत गरेर सन्तानलाई राम्रो शिक्षा, स्वास्थ्य, संस्कार र उज्ज्वल भविष्य दिलाउन चाहनुहुन्छ । प्रायः बाबुहरूको माया कठोर शब्द वा अनुशासनमा देखिन्छ, तर त्यो कठोरताभित्र गहिरो माया, जिम्मेवारी र समर्पण लुकेको हुन्छ । बाबुले हरेक सानो खुसीलाई छोराछोरीकै लागि त्याग गरेका हुन्छन्, आफ्नो रहर, सपना र सुखलाई बिर्सिएर परिवारलाई अघि बढाउन समर्पित रहनुहुन्छ ।
त्यसैले बाबु जीवित हुँदा उहाँलाई सम्मान गर्नु नै सबैभन्दा ठूलो धर्म हो, उहाँ दिवंगत भएपछि उहाँको आत्माको शान्तिको लागि प्रार्थना गर्नु नै ठूलो कर्तव्य हो । बाबु हाम्रो जीवनका मार्गदर्शक, संरक्षक र प्रेरणाका स्रोत हुनुहुन्छ । उहाँको आशीर्वाद र प्रेरणाले नै हामीले जीवनमा सफलता र सुख पाउँछौं । त्यसैले, बाबुको मुख हेर्ने दिनलाई अवसर मानेर आजमात्र होइन, जीवनभर बाबुप्रतिको सम्मान, माया र कृतज्ञतालाई जीवित राखौं । बाबु जीवित हुँदा उहाँलाई गर्व हुने सन्तान बनौं, बाबु दिवंगत भएपछि उहाँको आत्मालाई शान्ति मिल्ने काम गरौं ।







कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया