असफल प्रेमको सफल कथा

समाधान संवाददाता २०८२ भदौ १० गते १२:४४

नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै साहित्यिक यात्रामा निरन्तर लागेका वसन्त चौधरी कुशल साहित्यकार हुन् । सामान्य कथा, कविता हुँदै आख्यान क्षेत्रमा पाइला राख्न चौधरी सफल भएका छन् । वर्तमान समयमा उनको चर्चित कृतिका रुपमा ‘देवयानी’ प्रकाशित भएको छ ।


उपन्यासमा प्रमुख पात्रका रुपमा आदित्य र देवयानी छन् । यी दुई पात्रको सेरोफेरोमा उपन्यासले आफ्नो यात्रा तय गरेको छ । उपन्यासको मुख्य विषय प्रेम छ । विवाहित पुरुष र अविवाहित युवती बिचको प्रेमालापको रोचक प्रसंगमा उपन्यासले पाठकलाई डुबाएको छ । आदित्य एक व्यवसायी हुन् । उनको अफिसको कामको सिलसिलामा देवयानीसँग भेट हुन्छ । पहिलो भेटमा नै आदित्य देवयानीप्रति आकर्षित हुन पुग्छन् । निरन्तरको भेटघाटले दुबैमा प्रेमको टुसा पलाउँन पुग्छ ।


भेटघाट पनि बक्लिदै जान्छ । तपाइँबाट सुरु भएको सम्बन्ध तिमीको घनिष्ठतामा परिवर्तन हुन समय लाग्दैन । दुबैको मनमा प्रेमरुपी पिपल झाँगिएर सारा शरीर एक अर्काको कल्पनामा हराउन थाल्दछ । एक पल पनि उनीहरु विछोड भएर बस्न नसक्ने अवस्थामा पुग्छन् । अफिसका काम बाहेकको समयमा दुबैको मन मस्तिष्कले एक अर्कालाई खोज्न थालिहाल्थे ।

Advertisement


आदित्य एक विवाहित पुरुष हुन् । उनका बा, आमा, पत्नी र छोरी हुन्छन् । पारिवारिक जीवनको जिम्मा बोकोर हिँडेको आदित्य अविवाहित देवयानीको प्रेममा पर्छन् । देवयानीको प्रेमको बन्धनले बाँधिएका आदित्यले आफू विवाहित हुँ भन्ने पनि भुल्न पुग्दछन् भने आफ्नो वास्तविकता देवयानीलाई भन्न पनि सक्दैनन् । जति जति प्रेम उत्कर्षमा पुग्दै जान्छ, त्यति त्यति आदित्यलाई विगतले सताउँछ । बिलाद् बहिःबिलस्यान्त स्थितः मार्जार सर्पयोः । अर्थात् दुलोको बिचमा फसेको मुसो न बहिर निस्कन सक्छ, न भित्र पस्न सक्छ । किनकि भित्र गए सर्पले खाने डर बाहिर आए बिरालोले खाने डर । आदित्यको पनि यस्तै अवस्था उपन्यासमा भएको छ । न वास्तविकतादेखि भाग्न सक्छन् न त देवयानीसँगको प्रेमबाट बिछोड हुन सक्छन् ।

विवाहित पुरुष र अविवाहित युवती बिचको प्रेमालापको रोचक प्रसंगमा उपन्यासले पाठकलाई डुबाएको छ

Advertisement


देवयानी पढे, लेखेकी शिक्षित नारी हुन् भने उपन्यासको नायिका पनि हुन् । सम्पूर्ण कथा देवयानीकै जीवनीसँग गाँसिएका छन् । उनी अविवाहित युवती हुन्, जो विवाहित आदित्यको प्रेममा पर्छिन् । प्रेममा मान्छे अन्धो हुन्छ, भनेझैँ देवयानी पनि आदित्यको प्रेममा अन्धो बन्न पुग्छिन् । आदित्यको प्रेममा उनले आफ्नो जीवन भविष्य सबै देख्न थाल्दछिन् । आदित्य विवाहित पुरुष हो भन्ने थाहा भएपछि पनि उनी आदित्यबाट टाढा हुन सकेकी छैनन् । उनीहरुको प्रेम यति गहिरो हुन्छ कि जुन प्रेम अब कुनै पनि शक्ति वा तागतले छुटाउन सक्दैन भन्ने भान पाठकमा पर्न जान्छ ।


आदित्यको प्रेम देवयानीतिर सरेपछि माधवीको मनमा हलचल मच्चिन थाल्छ । माधवी आदित्यकी पत्नी हुन् । उपन्यासमा उनलाई कुशल नारीका रुपमा प्रस्तुत गरिएको छ । पारिवारिक जिम्मेवारीलाई निष्ठापूर्वक पूरा गरेकी छिन् । परिवारको खुसी नै आफ्नो खुसी मान्ने माधावीमा कुनै खोट देखिँदैन । पतिको सुख नै आफ्नो सुख सम्झिने महान् नारी हुन् माधवी । तर आदित्य र देवयानीको सम्बन्धले भने उनको मन छियाछिया हुन्छ । सबै कुरा थाहा भएर पनि केही थाहा नभए जस्तो गरी उनी आफ्नो दिनचर्या चिन्तामा नै व्यतित गर्छिन् । उनी आफूलाई परिवर्तन गर्न नसक्ने गतिहीन पात्र पनि हुन् ।


मुख्यतः उपन्यासको आद्योपान्त विषय प्रेममा नै आधारित छ । आदित्य, देवयानी र माधवी बिचको त्रिकोणात्मक प्रेमले उपन्यासलाई रोमाञ्चकारी बनाएको छ । उपन्यासकारले देवयानी र आदित्यको प्रेमलाई उत्कर्षमा त पुर्‍याए तर सफल बनाउन भने सकेका छैनन् । उपन्यासले विवाहित पुरुषसँग गरिएको प्रेमले निश्चित गन्तव्य पाउन सक्दैन भन्ने विषयलाई उजागर गरेको छ । सामाजिक मूल्य, मान्यता, परम्परा, बन्धुवान्धवलाई त्यागेर नयाँ जीवन सुरु गर्न भागिरथ प्रयास गरेका आदित्य सफल हुन सकेका छैनन् । उनलाई विगत र पारिवारिक जीवनले कसेको छ । जुन बन्धनबाट उनी उम्कन सकेका छैनन् ।


भाषाका दृष्टिमा पनि उपन्यास अब्बल छ । सरल र सरस भाषाको प्रयोगले आख्यानलाई सरल तरिकामा अघि बढाएको छ । पात्रानुकूल भाषाको प्रयोग भएका छन् । छोटा तर मीठा वाक्यले आख्यानको सौन्दर्य बढाउने काम गरेका छन् । भाषाले पात्रको बौद्धिकताको मापन पनि गरेका छ । विषय र सन्दर्भ अनुसारको भाषिक प्रयोग पनि उपन्यासको प्रमुख विशेषता हो । उखान, टुक्का, कविता, सूक्तिले सुनमा सुगन्ध छर्ने काम गरेका छन् । साथै तत्सम, तद्भव, आगन्तुक शब्दको पनि प्रचूर मात्रामा प्रयोग भएका छन् । समान्य तर रोचक संवादले पाठकलाई एकोहोर बनाउन उपन्यास सफल भएकै छ ।


पूर्वदीप्ति शैलीको प्रयोग पनि आख्यानमा भएको छ । जसले गर्दा पाठकको मन नियन्त्रण गर्न उपन्यास सफल भएको देखिन्छ । उपन्यास जति पढ्दै गयो पाठक उति हराउँदै जान्छ । उपन्यासको पात्रका रुपमा स्वयंलाई देख्न र अनुभव गर्न थाल्दछ । पाठकलाई यस्तो आभास हुन्छ कि कतै यो मेरै जीवन त हैन ?


उपन्यासमा आदित्य र देवयानी गतिशील पात्रका रुपमा प्रस्तुत भएका छन् भने गतिहीन पात्रका रुपमा माधवी छिन् । माधवीको जीवन आदित्यसँग जोडिएपछि उनको जीवनमा कुनै परिवर्तन भएका छैनन् । उनी सधैँ यथावत रुपमा नै रहेकी छन् । एक कर्तव्य परायण नारीका रुपमा उनी उपन्यासमा उभिएकी छन् ।


उपन्यासलाई गतिशील बनाउन सहायक पात्रहरुको पनि विशेष भूमिका छ । सहायक पात्रका रुपमा रेणु आदित्यको साथी । आदित्यका हरेक कार्यमा सुझाव दिने र आदित्यलाई सत्मार्गमा हिड्न उत्प्रेरित गर्ने पात्र हो रेणु । उनले आदित्यलाई माधवीको ठाउँमा रहेर सोच्न बाध्य पारेकी छन् । जसका कारण आदित्यले देवयानीका निमित्त माधवीलाई छोड्न सक्दैनन् ।


शीर्षक सार्थकताको दृष्टिले पनि उपन्यासको शीर्षक सार्थक छ । कुनै पनि कृतिको पहिलो पहिचान भनेको शीर्षक नै हो । अभिन्न अंगका रुपमा पनि शीर्षक रहेको हुन्छ । देवयानीकै सेरोफेरोमा उपन्यास रहेकाले उपन्यासको शीर्षक चयनमा कुनै कमजोरी देखिँदैन ।


उपन्यासकारले विवाहेतर प्रेमको न कुनै लक्ष्य, न उपयुक्त गन्तव्य नै हुन सक्छ भन्ने विषयलाई नै केन्द्रविन्दुमा राखेर उपन्यास एकानब्बे अध्यायमा सकेका छन् । प्रेमले न उमेर, न जात, न धर्म वर्ग भन्ने हेर्दैन भन्ने विषयलाई देवयानीको प्रेमले प्रष्ट पारेको छ । उनले विवाहित पुरुषसँग प्रेम गरेकी छिन् । वास्तविकता थाहा भएर पनि उनको प्रेम भएको छ । उनले निस्वार्थ रुपले प्रेम गरे पनि सफल भने हुन सकेकी छैनन् ।

तपाईको प्रतिक्रिया