राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी तनहुँमा सम्मानित

समाधान संवाददाता २०८२ भदौ ११ गते ६:०२

दमौली

राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) तनहुँमा सम्मानित भएकी छन् । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ, वडा नम्बर ४ को वडा व्यवस्थापन समितिले तीजको अवसरमा आयोजना गरेको कार्यक्रममा उनलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

दुलेगौंडामा आयोजित तीज गीत प्रतियोगिताको अवसरमा कप्तान भण्डारीलाई गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ र शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले दोसल्ला ओढाएर सम्मान गरेका थिए । खेलकुदको माध्यमबाट नेपाललाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै भण्डारीलाई सम्मान गरिएको वडा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण विकले बताए ।

Advertisement

सम्मान ग्रहणपछि बोल्दै कप्तान भण्डारीले जुनसुकै क्षेत्रमा कडा परिश्रम गरे सफलता प्राप्त गर्न सकिने बताइन् । गाउँमा मोजाको बल खेल्दै काठमाडौंसम्म पुगेको आफ्नो विगत स्मरण गर्दै उनले भनिन्, ‘म दाइहरुसँग फुटबल खेल्थें । जहिले पनि गाली खान्थें, पिटाइ खान्थें । मैले तत्कालीन समयमा गरेको मेहनतका कारण आज यो ठाउँमा छु ।’

कार्यक्रममा प्रदेशसभा सदस्य गुरुङले खेलकुदले सबै नेपालीलाई एकापसमा जोड्ने काम गरेको बताइन् । उनले भण्डारीले खेलकुदको माध्यमबाट नेपाललाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण सहयोग गरेको उल्लेख गरिन् ।

Advertisement

तपाईको प्रतिक्रिया