पोखराको खेलकुद विकासमा कोरियाली काउन्टीसँग सहकार्य, खेलाडीको क्षमता अभिवृद्धिमा सघाउने

पोखरा ।
पोखरा महानगरपालिका र दक्षिण कोरियाको चेओङ योङ काउन्टीबीच खेलकुद क्षेत्रको विकासका लागि महत्त्वपूर्ण समझदारी भएको छ । खेलाडीको क्षमता अभिवृद्धि, मैत्रीपूर्ण सम्बन्ध विस्तार र अनुभव आदानप्रदान गर्ने उद्देश्यसहित दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा पोखरा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र चेओङ योङ काउन्टी खेलकुद समितिका तर्फबाट अध्यक्ष हान ग्वाङ् सेओकले हस्ताक्षर गरे ।
नगर प्रमुख धनराज आचार्यले यो समझदारीले पोखरालाई ‘खेलकुदको हब’ बनाउने लक्ष्यमा सघाउ पुग्ने बताए । ‘फुटबल, बक्सिङ, तेक्वान्दो लगायतका खेलमा हाम्रा खेलाडीहरूको दक्षता अभिवृद्धि गर्न यो समझदारी महत्त्वपूर्ण हुनेछ,’ उनले भने, ‘यसले पर्यटकीय राजधानी पोखरालाई खेलकुदको हब बनाउने सन्दर्भमा अन्तर्राष्ट्रिय सहकार्यको औचित्य पुष्टि गरेको छ ।’ उनले यो सहकार्यमार्फत पोखरेली खेलाडीले कोरियाली प्रशिक्षकबाट मार्गदर्शन पाउने र नियमित मैत्रीपूर्ण खेलको अवसर प्राप्त गर्ने बताए ।
चेओङ योङ काउन्टी खेलकुद समितिका अध्यक्ष हान ग्वाङ् सेओकले पोखराका खेलाडीको प्रदर्शन सुधार गर्न कोरियाली पक्षले उन्नत प्रविधि र प्रशिक्षण विधिहरू प्रदान गर्ने प्रतिबद्धता जनाए । उनले युवा खेलाडी आदानप्रदान, विद्यालयस्तरीय खेलकुद कार्यक्रम सञ्चालन र पोखराका खेलकुद संस्थाहरूको व्यावसायिक विकासमा सहयोग गर्न आफूहरू तत्पर रहेको बताए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले समझदारीले पोखराको समग्र खेलकुद विकास, पूर्वाधार निर्माण र खेलाडीको क्षमता अभिवृद्धिमा उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सोही अवसरमा जिल्ला खेलकुद विकास समिति कास्की र चेओङ योङ काउन्टीबीच पनि छुट्टै समझदारी भएको छ । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई र महानगरको खेलकुद विकास समितिका संयोजक तोरणबहादुर बानियाँ लगायतले समझदारीले पोखरेली खेलाडीको अन्तर्राष्ट्रिय पहुँच विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया