सम्पादकीय—शिक्षा विधेयकको सकस

नेपालको शैक्षिक इतिहासमा एउटा दूरगामी महत्व राख्ने विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित हुनु, आफैँमा एक उल्लेखनीय परिघटना हो । आधा शताब्दीभन्दा पुरानो, अर्थात् २०२८ सालको शिक्षा ऐनलाई विस्थापित गर्दै ल्याउन लागिएको यो विधेयकसँग स्वाभाविक रूपमा शैक्षिक क्षेत्रमा आमूल परिवर्तन र नवीनताको गहिरो अपेक्षा जोडिएको छ । विधेयक पारित भएको घोषणासँगै शिक्षा क्षेत्रका दुई प्रमुख स्तम्भ, शिक्षक महासंघ र निजी विद्यालय सञ्चालकहरू, एकैसाथ सडकमा उत्रिनुले यो सम्पूर्ण प्रक्रियाको नियत र गन्तव्यमाथि नै गम्भीर प्रश्न खडा गरेको छ ।
सरकार र नीति–निर्माताको तहमा सहमतिको ढोल पिटिए पनि सडकको यथार्थले संवाद र सहमतिको प्रक्रियामा गम्भीर खाडल रहेको स्पष्ट पारेको छ । शिक्षक महासंघले विगतमा सरकारसँग पटक–पटक भएका सहमतिहरु— चाहे त्यो २०७५, २०७८, २०८० वा २०८१/८२ कै किन नहोस कार्यान्वयन नभएको तीतो यथार्थको पृष्ठभूमिमा यस विधेयकका प्रावधानहरुप्रति अविश्वास व्यक्त गर्दै आन्दोलनको घोषणा गरेको हो । यो केवल विधेयकको विरोध मात्र होइन, बरु सरकारप्रतिको लामो समयदेखिको अविश्वास, उपेक्षा र आक्रोशको एकीकृत अभिव्यक्ति हो । उनीहरुका जायज मागलाई प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पनि सम्बोधन गरिएन भने गत चैतको २९ दिने आन्दोलनभन्दा ठूलो आन्दोलनको चेतावनीले सिंगो शैक्षिक सत्र नै प्रभावित हुन सक्ने र लाखौँ विद्यार्थीको भविष्य अन्योलमा पर्न सक्ने खतरा बढेको छ ।
अर्कोतर्फ, निजी विद्यालय सञ्चालकहरू ‘गैरनाफामूलक’ प्रावधान र ‘आवासीय सुविधासहितको पूर्ण छात्रवृत्ति’ जस्ता सैद्धान्तिक रूपमा आकर्षक तर व्यावहारिक रूपमा जटिल विषयमा गहिरो असन्तुष्टि पोखिरहेका छन् । कम्पनी ऐनअन्तर्गत दर्ता भई अर्बौंको लगानीमा सञ्चालित संस्थाहरूलाई कुन प्रक्रिया र पूर्वाधारमा गैरनाफामूलक बनाइन्छ भन्नेमा स्पष्टता नहुँदा उनीहरूको लगानी र भविष्य नै अनिश्चित बनेको छ । यी प्रावधानले निजी लगानीलाई निरुत्साहित गर्ने र अन्ततः शैक्षिक गुणस्तरमा समेत ह्रास ल्याउन सक्ने उनीहरूको चिन्तालाई बेवास्ता गर्न मिल्दैन ।
विधेयकमाथि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रदेखि राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाजस्ता दलहरूले फरक मत राख्नुले पनि यो विधेयक सर्वस्वीकार्य हुन नसकेको पुष्टि हुन्छ । यस्तो अवस्थामा, अन्तिम समयमा गरिने शिक्षामन्त्री रघुजी पन्त र संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाको दौडधुपले मात्रै समस्याको दिगो समाधान दिन सक्दैन । यो संकट टार्नका लागि केवल राजनीतिक तहमा मात्र नभई, सडकमा उत्रिएका सरोकारवालाहरूसँग परिणाममुखी र विश्वासिलो संवाद गर्नुको विकल्प छैन ।
संसद् संख्याको बलमा विधेयक पारित गर्न सकिएला, तर त्यसको सफल कार्यान्वयनका लागि सरोकारवालाहरूको विश्वास र सहकार्य अनिवार्य हुन्छ । तसर्थ, बलमिच्याइँ गरेर अघि बढ्नुको सट्टा, केही समय लिएर आन्दोलनरत पक्षका जायज चासोलाई सम्बोधन गरी विधेयकलाई परिमार्जन गर्नु नै मुलुकको शैक्षिक भविष्यका लागि बुद्धिमानी हुनेछ । एउटा अधुरो र विवादित कानुन बनाउनुभन्दा सबैको अपनत्व हुने दिगो र प्रभावकारी ऐन निर्माण गर्नु आजको निर्विकल्प आवश्यकता हो ।







भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया