अपांगता भएका छोराको स्याहारमा मनमायाको २३ वर्षे संघर्ष

राष्ट्रिय समाचार समिति (रासस) २०८२ भदौ १२ गते ५:५२

पोखरा

पोखरा–१७, सेती नदी किनारको एउटा जीर्ण टहरामा मनमाया थापा मगरले पूर्ण अपाङ्गता भएका छोरा पूर्णबहादुरको स्याहारसुसार गर्दै २३ वर्ष बिताएकी छन् । जन्मजात अपाङ्गता भएका छोराको स्याहारमै आफ्नो जीवन समर्पित गरेकी ५५ वर्षीया मनमायाको संघर्षपूर्ण कथाले जोकोहीलाई भावुक बनाउँछ ।

न बोल्न, न चल्न सक्ने, न त आँखा नै देख्ने पूर्ण ओछ्यानमा काठको मुढोजस्तै लडिरहन्छन् । वर्षामा टहराको भित्ताबाट रसाएको चिसोले उनको ओछ्यान भिज्छ । ‘छोरा जन्मिएदेखि नै मेरा लागि चाडपर्व, रमाइलो केही रहेन, यही छोराको स्याहार गर्दैमा जिन्दगी बितिरहेको छ,’ उनी भन्छिन् ।

Advertisement

छोराको उमेरसँगै तौल बढेपछि उनलाई दिसापिसाब गराउन शौचालयसम्म बोकेर लैजान सक्दिनन् । ‘विस्तारामै फोहोर गर्छ, आफैँले सोहोरेर फाल्ने गरेकी छु,’ उनले आफ्नो विवशता सुनाइन्, ‘जति सफा गरे पनि कोठा गन्हाउन थालेको छ ।’ छोरालाई भोक लाग्दा निकाल्ने घुरेको जस्तो आवाज नै उनका लागि सञ्चारको माध्यम हो ।

पूर्णका बुबा लक्षु थापा मगर एक निजी विद्यालयमा बस चलाउँछन् । उनको कमाइले घर चलाउन धौधौ पर्छ । पूर्णको नाममा आउने ‘क’ श्रेणीको अपाङ्गता भत्ताले गुजारामा केही राहत मिलेको उनका बुबा लक्षुले बताए । जग्गा पाए जेनतेन एउटा सानो घर बनाएर छोरालाई सुरक्षित छानामुनि राख्ने धोको भए पनि त्यो पूरा नहुनेमा उनीहरू ढुक्कजस्तै छन् ।

Advertisement

पूर्णका अन्य चार दाजुभाइ भए पनि उनीहरू सबै आ-आफ्नै परिवार पाल्नमै व्यस्त छन् । ५८ वर्षीय लक्षुको आफ्नै कथा पनि दुःखद छ । टुहुरा हुर्किएका उनलाई आफ्ना आफन्त को हुन्, कहाँ छन् भन्ने समेत थाहा छैन ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका बाल विभाग प्रमुख डा. रामचन्द्र बास्तोलाका अनुसार, जैविक संरचनामा देखिने खोट, गर्भमा पोषणको अभाव वा दुर्घटनाजस्ता कारणले बच्चामा अपाङ्गता देखिन सक्छ ।

अपाङ्गता स्वावलम्बन संघ कास्कीका संस्थापक अध्यक्ष गिरधारी सुवेदीले विपन्न परिवारका अपाङ्गता भएका व्यक्तिहरू अहिले पनि कष्टकर जीवन बिताउन बाध्य भएको बताए । कास्कीमा ‘क’ श्रेणीका पूर्ण अपाङ्गता भएका व्यक्ति १ हजार ४ सयभन्दा बढी छन् ।

अध्यक्ष सुवेदीका अनुसार, यस्ता पूर्ण अपाङ्गता भएका व्यक्तिको पालनपोषण र सुरक्षाको जिम्मा राज्यले लिने हो भने मनमाया र लक्षुजस्ता हजारौँ दम्पतीको दुःखमा केही हदसम्म मल्हम लाग्ने थियो ।रासस

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया