पोखराको सार्वजनिक यातायात विद्युतीय बनाइने, एसियाली विकास बैंकको ४ करोड डलर सहयोग

समाधान संवाददाता २०८२ भदौ १२ गते १७:२५

पोखरा

पोखराको सार्वजनिक यातायातलाई व्यवस्थित र वातावरणमैत्री बनाउन विद्युतीय सवारी साधन (इमोबिलिटी) परियोजना सञ्चालन गरिने भएको छ । एसियाली विकास बैंक (एडीबी) को ४ करोड अमेरिकी डलर (करिब ५ अर्ब ३० करोड रुपैयाँ) बराबरको सहयोगमा यो महत्त्वाकांक्षी परियोजना सञ्चालन हुन लागेको हो ।

यसै सम्बन्धमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, विकास साझेदार र यातायात व्यवसायीसहितका सरोकारवालाबीच एक कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा पोखराको सार्वजनिक यातायात सुधारका लागि विद्युतीय सवारीमा जोड, चार्जिङ स्टेसन निर्माण, डिजिटल सूचना प्रणाली र व्यवस्थित बस स्टप पूर्वाधार निर्माण लगायतका विषयमा छलफल भएको हो ।

Advertisement

एसियाली विकास बैंक र ग्रिन क्लाइमेट फन्डको साझेदारीमा नेपालका लागि कुल १० करोड अमेरिकी डलर बराबरको परियोजना सञ्चालन हुन लागेकोमा पोखराले त्यसको ४ करोड डलर हिस्सा पाएको हो । पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरिएसँगै एडीबीले यहाँको यातायात व्यवस्थापनमा विशेष चासो देखाएको हो । यसअघि नगर प्रमुख धनराज आचार्यले मनिलास्थित एडीबीको मुख्यालयमा समेत यो परियोजनाबारे छलफल गरेका थिए ।

नगर प्रमुख आचार्यले परियोजनाको स्थानीय व्यवस्थापन र समन्वयको जिम्मा महानगरपालिकाले लिने बताए । यो परियोजनाले पोखराको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउनुका साथै वातावरण संरक्षणमा समेत महत्त्वपूर्ण योगदान गर्ने उनले विश्वास व्यक्त गरे । उनले यातायात व्यवसायीहरूलाई सेवाको गुणस्तर सुधार गर्दै पर्यावरणप्रति सचेत बन्न आग्रह गरे ।

Advertisement

यसैबीच, गण्डकी प्रदेश सरकारले पोखरासहित समग्र प्रदेशको सार्वजनिक यातायात व्यवस्थापन गर्न प्राधिकरण गठनका लागि कानुनी संरचना निर्माणको तयारी गरेको छ । परियोजनाबारे भइरहेको छलफलमा एसियाली विकास बैंकका वरिष्ठ सार्वजनिक व्यवस्थापन विशेषज्ञ अरुण रामामुर्तिको नेतृत्वमा एक प्रतिनिधि मण्डल सहभागी भएको छ ।

तपाईको प्रतिक्रिया