१२२ जनाको सरुवा हुँदा गण्डकी प्रदेशका ३ उपसचिव पालिकामा पठाइए

समाधान संवाददाता २०८२ भदौ १३ गते ७:४२

पोखरा । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार १२२ उपसचिवको सरुवा गर्दा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र मातहत कार्यरत ३ उपसचिवको पनि सरुवा भएको छ। गण्डकीमा प्रशासनिक सुधारसँगै सङ्घीय कर्मचारी फिर्ता पठाउने निर्णय भएलगत्तै उनीहरूको सरुवा भएको हो।

गण्डकी प्रदेशबाट सरुवा भएका उपसचिवहरू:

  • मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको बैठक प्रशासन महाशाखामा कार्यरत प्रविण ढकाल (सङ्केत नम्बर १९३१०३) लाई बेनी नगरपालिका, म्याग्दीको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ।
  • यसैगरी, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा कार्यरत प्रेम सुवेदी (सङ्केत नम्बर २००९४६) लाई चौरजहारी नगरपालिका, रुकुम पश्चिमको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ।
  • सहकारी रजिस्ट्रारको कार्यालयमा रहेका भेषराज रिजाल (सङ्केत नम्बर १६७०९४) लाई महागढीमाई नगरपालिका, बाराको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पदस्थापन गरिएको छन्।

यसैगरी पर्वतको फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएका छन् । उनको ठाउँमा रुपन्देहीको सैनामैना नगरपालिकाबाट जीवन ज्ञवाली आएका छन् ।पराजुली सहकारी ठगीकाण्डमा मुछिएपछि अघिल्लो वर्ष कारागार हिरासतमा समेत पुगेका व्यक्ति हुन् ।

Advertisement

स्याङ्जाको चापाकोटमा अर्जुन गौतम, बागलुङको गलकोटमा सूर्यप्रसाद उपाध्याय, तनहुँको भानु नगरपालिकामा सुरज श्रेष्ठ आउने भएका छ।

यसैबिच, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले देशभरका गाउँपालिका र नगरपालिकालाई ‘निमित्तविहीन’ बनाइएको घोषणा गरेकी छन्।

Advertisement

मन्त्री न्यौपानेले सामाजिक सञ्जालमा केही मिनेटअघि एक स्टाटसमा लेखेकी छन्, ‘आजबाट देशभरिका गाउँपालिका र नगरपालिकालाई निमित्तविहीन बनाइएको जानकारी गराउँछु।’

उनले आफू कार्यभार सम्हाल्दा देशभरका ७५३ मध्ये करिब २०० पालिकामा प्रमुख प्रशासकीय अधिकृतहरू केवल ‘निमित्त’मा कार्यरत रहेको उल्लेख गर्दै आफूले ती पालिकालाई निमित्तविहीन बनाएको बताएकी हुन्।

जिम्मेवारी पाउने कर्मचारी मित्रहरूलाई हार्दिक बधाईसमेत दिँदै उनले कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी उच्च दक्षता र इमानदारीसाथ निर्वाह गर्न र पालिका प्रमुख तथा जनप्रतिनिधिहरूलाई प्रमुख प्रशासकीय अधिकृतको क्षमताअनुसार काम गराउन आग्रह गरेकी छन्।

तपाईको प्रतिक्रिया