सम्पादकीय—प्रवासी नेपालीको मताधिकारको सवाल

नेपालको लोकतान्त्रिक यात्रामा विदेशमा रहेका लाखौं नेपालीहरूको मताधिकारको महत्वपूर्ण पाटो अझै अधुरो छ । रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रको मेरुदण्ड बनेका प्रवासी नेपालीहरु आफ्नो देशको भविष्य निर्धारण गर्ने प्रक्रियामा प्रत्यक्ष सहभागी हुन पाएका छैनन् । हालै श्रमिक सञ्जालले गरेको एक सर्वेक्षणले यो तितो यथार्थलाई फेरि एक पटक उजागर गरेको छ । विदेशमा रहेका नेपालीहरू मतदान गर्न आतुर छन्, तर राजनीतिक दलहरू भने अनिच्छुक देखिन्छन् ।
कतार, साउदी अरब, यूएई लगायतका सात देशमा गरिएको यो बृहत् सर्वेक्षणले ६ हजारभन्दा बढी प्रवासी नेपालीमध्ये ५० प्रतिशतभन्दा बढीले मतदान गर्ने इच्छा व्यक्त गरेका छन् । लोकतान्त्रिक अधिकारको संरक्षण, आप्रवासी कामदारलाई असर गर्ने विदेश नीतिको चिन्ता, घर र यसको राजनीतिक विकाससँगको सम्बन्ध, र नेपालको राजनीतिक प्रक्रियामा योगदान गर्ने इच्छाजस्ता प्रबल कारणहरूले उनीहरूलाई मतदानका लागि उत्प्रेरित गरिरहेको छ । ९० प्रतिशतभन्दा बढीले त ‘इलेक्ट्रोनिक/इन्टरनेट भोटिङ’ मार्फत मतदानको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्, जसले प्रविधिमैत्री समाधानप्रतिको उनीहरूको भरोसा देखाउँछ ।
यो कुनै नयाँ माग होइन । २०७४ साल चैत ७ गते सर्वोच्च अदालतले नै विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने गरी कानुन र पूर्वाधारको व्यवस्था गर्न सरकारलाई आदेश दिएको थियो । तर, सात वर्ष बितिसक्दा पनि यो आदेश पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । निर्वाचन आयोगले विधेयकको मस्यौदामा केही प्रावधान राखे पनि, त्यो केवल समानुपातिक प्रतिनिधित्वका लागि मात्र सीमित र सूचना प्रविधिमाथि ‘आयोग विश्वस्त भएमा’ जस्ता शर्तहरूले जकडिएको छ ।
सर्वेक्षणका नतिजाले प्रष्ट पार्छ कि, सर्वोच्चको आदेशबारे ६८ प्रतिशतलाई जानकारी नभए पनि उनीहरूमा मतदान गर्ने प्रबल इच्छा छ । यसले सरकारले सूचना प्रवाहमा समेत कमी गरेको देखाउँछ । प्रवासी नेपालीले प्रत्यक्ष निर्वाचन प्रणालीलाई प्राथमिकता दिनुले उनीहरू जनप्रतिनिधि छनोटमा निर्णायक भूमिका खेल्न चाहन्छन् भन्ने बुझिन्छ । उनीहरू आफ्नो मतमार्फत देशमा आफूलाई प्रतिनिधित्व गर्ने आवाज स्थापित गर्न चाहन्छन् ।
तर, यस विषयमा मुख्य राजनीतिक दलहरूको उदासिनता चिन्ताजनक छ । यो सोच लोकतन्त्रका लागि घातक छ । नागरिकको मताधिकारलाई आफ्नो राजनीतिक लाभ–हानिसँग जोडेर हेर्नुले दलहरूको लोकतान्त्रिक प्रतिबद्धतामाथि नै प्रश्नचिह्न खडा हुन्छ ।
नेपालको वैदेशिक रोजगार ऐनले पनि आप्रवासनको ‘प्रेषक’ पक्षमा मात्र ध्यान केन्द्रित गरेको छ, तर कामदारको कल्याण, अधिकार वा फिर्ती र पुनःएकीकरणका लागि कम प्रावधानहरू छन् । सर्वोच्चको आदेशले मतदानलाई सबै योग्य नेपाली नागरिकको नैसर्गिक अधिकार’ को रूपमा पुष्टि गरेको छ, उनीहरूको स्थानको प्रवाह नगरी । राज्यले नागरिकहरूलाई उनीहरूको मतदान अधिकारबाट वञ्चित गरेर ’क्लस्टर’ गर्न मिल्दैन ।
राजनीतिक दलहरूले आफ्नो साँघुरो स्वार्थभन्दा माथि उठेर प्रवासी नेपालीहरूको मताधिकारलाई सुनिश्चित गर्नुपर्छ । सर्वोच्चको आदेशको पूर्ण पालना गर्दै, छिटोभन्दा छिटो कानुन निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्छ । यसका लागि प्राविधिक चुनौती र कानुनी बाधा फुकाउने कार्यमा सरकार र निर्वाचन आयोगले सक्रिय भूमिका खेल्नुपर्छ ।







म्याग्दीको सौगातः टिमुरका परिकार
कोरला नाकाबाट कैलाश मानसरोवर मार्ग खुलाऊँ, अर्धनिषेधित क्षेत्र हटाऊँ
भद्रकाली सहकारीको सातौँ साधारणसभा र तेस्रो अधिवेशन, अध्यक्षमा बाबुराम सापकोटा
मुस्ताङमा सवारी चाप बढ्यो, ट्राफिक राजश्व घट्यो
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया