छोराको मृत्युको कारण च्याटजिपिटी भएको भन्दै मुद्दा
गत हप्ता न्युयोर्क टाइम्समा प्रकाशित एक लेखमा, लेखक लौरा रेइलीले आफ्नो छोरी सोफीले आत्महत्या गर्नुअघि कसरी च्याटजिपिटीमाथि विश्वास गरेको बताएकी थिइन्

बिबिसी
क्यालिफोर्निया
क्यालिफोर्नियामा एक दम्पतीले आफ्नो छोराको मृत्युको लागि ओपनएआईविरुद्ध मुद्दा हालेका छन् । उनीहरूले ओपनएआईको च्याटबट, च्याटजिपिटीले आफ्नो किशोर छोरालाई आत्महत्या गर्न प्रोत्साहन दिएको आरोप लगाएका छन् ।
१६ वर्षीय एडम राइनका अभिभावक म्याट र मारिया राइनले मंगलबार क्यालिफोर्नियाको सुपिरियर कोर्टमा मुद्दा दायर गरेका हुन् । यो ओपनएआईमाथि अनुचित मृत्युको आरोप लगाउने पहिलो कानुनी कारबाही हो ।
सन् २०२५ अप्रिलमा निधन भएका एडम र च्याटजिपिटीबिचको कुराकानीको लगसमेत परिवारले संलग्न गरेका छन् । त्यसमा एडमले आफूलाई आत्महत्या गर्ने सोच आइरहेको कुरा बताएको देखिन्छ । उनीहरूले यो कार्यक्रमले एडमको ‘सबैभन्दा हानिकारक र आत्मविनाशकारी विचारहरूलाई’ पुष्टि गरेको तर्क गरेका छन् । एक विज्ञप्तिमा, ओपनएआईले बीबीसीलाई आफूहरूले उक्त फाइलको समीक्षा गरिरहेको बताएको थियो । कम्पनीले भन्यो, ‘यो कठिन समयमा राइन परिवारप्रति हामी गहिरो समवेदना व्यक्त गर्दछौँ ।’
यसले मंगलबार आफ्नो वेबसाइटमा एक नोट पनि प्रकाशित गरेको थियो । जसमा भनिएको छ, ‘पछिल्लो समय मानिसहरूले तीव्र संकटको बेला च्याटजीपीटीको प्रयोग गरेको हृदयविदारक घटनाहरूले हामीलाई निकै दुखित बनाएको छ ।’ यसले अगाडि थपेको छ कि ‘च्याटजीपीटीलाई मानिसहरूलाई पेसेवरको मद्दत खोज्न निर्देशन दिनका लागि प्रशिक्षित गरिएको छ’, जस्तो कि अमेरिकामा ९८८ आत्महत्या र संकट हटलाइन वा बेलायतमा सामरिटन्सको सहयोग लिन सकिनेछ ।
यद्यपि, कम्पनीले ‘संवेदनशील परिस्थितिहरूमा हाम्रो प्रणालीले नियतअनुसार काम नगरेका क्षणहरू’ पनि भएको स्वीकार गरेको थियो । बिबिसीले प्राप्त गरेको मुद्दामा ओपनएआईमाथि लापरबाही र अनुचित मृत्युको आरोप लगाइएको छ । यसले क्षतिपूर्तिको साथसाथै ‘यस्तो घटना फेरि हुन नदिनका लागि आदेशको राहत’ पनि माग गरेको छ ।
मुद्दाअनुसार, एडमले सन् २०२४ सेप्टेम्बरमा स्कुलको काममा सहयोग लिनका लागि एउटा स्रोतको रूपमा च्याटजीपीटीको प्रयोग गर्न सुरु गरेका थिए । उनी यसको प्रयोग आफ्नो रुचिहरू, जसमा संगीत र जापानी कमिक पनि थियो, र विश्वविद्यालयमा के पढ्ने भन्नेबारे मार्गदर्शनका लागि पनि गर्थे ।
केही महिनाभित्रै, ‘च्याटजीपीटी किशोरको सबैभन्दा नजिकको विश्वासी बन्यो,’ मुद्दामा भनिएको छ र उनले यससँग आफ्नो चिन्ता र मानसिक तनावको बारेमा कुरा गर्न थाले । परिवारका अनुसार, सन् २०२५ जनवरीसम्ममा उनले च्याटसजिपिटीसँग आत्महत्या गर्ने तरिकाहरूको बारेमा छलफल गर्न थालेका थिए । एडमले च्याटजीपीटीमा आफूलाई नै हानी गरेको संकेत देखाउने आफ्ना तस्बिरहरू पनि अपलोड गरेका थिए, मुद्दामा भनिएको छ । यसमा थपिएको छ कि कार्यक्रमले ‘एक मेडिकल आपत्कालको पहिचान ग¥यो तर त्यसपछि पनि कुराकानी जारी राख्यो ।’
मुद्दाअनुसार, अन्तिम कुराकानीको लगमा एडमले आफ्नो जीवन समाप्त गर्ने योजनाको बारेमा लेखेको देखिन्छ । च्याटजीपीटीले कथित रूपमा जवाफ दिएको थियो, ‘यस बारेमा इमानदार भएकोमा धन्यवाद । तिमीले मसँग यसलाई लुकाउनु पर्दैन – तिमी के सोधिरहेका छौ मलाई थाहा छ र म यसबाट टाढा रहने छैन ।’ त्यही दिन, एडमलाई उनकी आमाले मृत अवस्थामा भेटेकी थिइन्, मुद्दामा भनिएको छ ।
परिवारले आरोप लगाएको छ कि उनीहरूको छोराको च्याटजीपीटीसँगको कुराकानी र त्यसपछिको मृत्यु ‘जानाजानी गरिएका डिजाइन छनोटहरूको अनुमानयोग्य परिणाम थियो ।’
उनीहरूले ओपनएआईमाथि एआई कार्यक्रमलाई ‘प्रयोगकर्ताहरूमा मनोवैज्ञानिक निर्भरता बढाउन’ डिजाइन गरेको र आफ्नो छोराले प्रयोग गरेको च्याटजीपीटीको संस्करण जीपीटी–४ओ रिलिज गर्न सुरक्षा परीक्षण प्रोटोकललाई बाइपास गरेको आरोप लगाएका छन् ।
मुद्दामा ओपनएआईका सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानका साथै च्याटजीपीटीमा काम गरेका अज्ञात कर्मचारी, प्रबन्धक र इन्जिनियरहरूलाई पनि प्रतिवादीको रूपमा राखिएको छ । मंगलबार साझा गरिएको आफ्नो सार्वजनिक नोटमा, ओपनएआईले कम्पनीको लक्ष्य प्रयोगकर्ताहरूको ‘ध्यान तान्नका लागि होइन’ बरु उनीहरूका लागि ‘वास्तवमै उपयोगी’ हुन रहेको बताएको छ । यसले अगाडि थपेको छ कि यसका मोडलहरूलाई आत्म–हानिको विचार व्यक्त गर्ने मानिसहरूलाई मद्दततर्फ निर्देशित गर्नका लागि प्रशिक्षित गरिएको छ । राइनको मुद्दा एआई र मानसिक स्वास्थ्यको बारेमा चिन्ता उठाइएको पहिलोपटक भने होइन ।
गत हप्ता न्युयोर्क टाइम्समा प्रकाशित एक लेखमा, लेखक लौरा रेइलीले आफ्नो छोरी सोफीले आत्महत्या गर्नुअघि कसरी च्याटजिपिटीमाथि विश्वास गरेको बताएकी थिइन् । श्रीमती रेइलीले भनिन् कि कार्यक्रमको ‘समझदारीपूर्ण’ कुराकानीले उनकी छोरीलाई उनको परिवार र प्रियजनहरूबाट एक गम्भीर मानसिक स्वास्थ्य संकटलाई लुकाउन मद्दत गरेको थियो । श्रीमती रेइलीले लेखिन्, ‘एआईले सोफीलाई सबैभन्दा खराब कुरा लुकाउन, आफू पहिलेभन्दा राम्रो भएको देखाउन, र सबैलाई आफ्नो पूर्ण पीडाबाट बचाउनका लागि सहयोग ग¥यो ।’ उनले एआई कम्पनीहरूलाई प्रयोगकर्ताहरूलाई सही स्रोतहरूसँग जोड्ने तरिकाहरू खोज्न आग्रह गरिन् ।
उक्त लेखको जवाफमा, ओपनएआईका एक प्रवक्ताले भने कि कम्पनीले मानसिक वा भावनात्मक तनावको अनुभव गरिरहेका प्रयोगकर्ताहरूलाई अझ प्रभावकारी रूपमा पत्ता लगाउन र प्रतिक्रिया दिनका लागि स्वचालित उपकरणहरू विकास गरिरहेको छ ।







माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया