कास्कीमा निजामती कर्मचारी युनियनको संयुक्त बैठक सम्पन्न

समाधान संवाददाता २०८२ भदौ १३ गते १९:१९

पोखरा ।
नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्यसमिति कास्की र गण्डकी प्रदेश विभागीय कार्यसमितिको पहिलो संयुक्त बैठक शुक्रबार भएको छ । बैठकले कर्मचारी युनियन स्थापना दिवस र निजामती सेवा दिवस मनाउने, पदाधिकारी तथा सदस्य मनोनयन गर्ने, रिक्त पद पूर्ति गर्ने लगायतका निर्णय गरेको छ ।

बैठकले आगामी भदौ १९ गते कर्मचारी युनियन स्थापना दिवसका अवसरमा पोखरा महानगरपालिका वडा नम्बर ९ स्थित नव प्रभात माध्यमिक विद्यालयका कक्षा १ देखि ३ मा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने निर्णय गरेको छ । यसका लागि गण्डकी प्रदेश कार्यसमितिका उपाध्यक्ष अर्जुन गुरुङ संयोजक तोकिएका छन् भने जिल्ला उपाध्यक्ष इञ्जिनियर सुमन शर्मा र विभागीय कार्यसमितिका उपाध्यक्ष भक्तबहादुर मल्ल सदस्य रहनेछन् ।

त्यसैगरी निजामती सेवा दिवस २०८२ को अवसरमा भदौ २२ गते बिहान ७ बजेबाट जिल्ला समन्वय समिति कास्कीको प्राङ्गणमा वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय बैठकले गरेको छ । सो कार्यक्रमको संयोजक जिल्ला उपाध्यक्ष नरबहादुर सारु रहनेछन् भने सदस्यमा केन्द्रिय प्रतिनिधि महेन्द्र गुरुङ र विभागीय कार्यसमितिका सचिव कृष्णप्रसाद सुवेदी रहनेछन् ।

Advertisement

बैठकले नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित कास्की जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य, केन्द्रिय प्रतिनिधि र प्रदेश प्रतिनिधिहरुको विवरण केन्द्रिय कार्यसमितिलाई पठाउने निर्णय पनि गरेको छ । साथै अधिवेशनमा उम्मेदवार बनेका पदाधिकारी, सदस्य, केन्द्रिय तथा प्रदेश प्रतिनिधिहरुबाट बराबर रकम संकलन गरी कोष खडा गर्ने निर्णय गरिएको छ ।

जिल्ला कार्यसमितिको नियमित बैठक प्रत्येक महिनाको अन्तिम शुक्रबार दिउँसो ३ बजेर १५ मिनेटमा युनियनको कार्यालय, जिरो कि.मी.मा बस्ने व्यवस्था मिलाइएको छ ।

Advertisement

रिक्त पदमा पदाधिकारी र सदस्य मनोनयन गर्ने निर्णयअनुसार सल्लाहकारका रूपमा सामाजिक विकास कार्यालय कास्कीका प्रमुख तथा युनियनका पूर्व केन्द्रिय सदस्य राजेन्द्र प्रसाद पौडेल, पोखरा महानगरपालिकाका अधिकृत जीवन प्रसाद रेग्मी, कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत पदमबहादुर घिमिरे, प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत रघुनाथ पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्कीका वरिष्ठ रेडियोग्राफी सुपरभाइजर उदयकान्त तिवारीलाई चयन गरिएको छ ।

त्यसैगरी माटो तथा मल परीक्षण प्रयोगशाला कास्कीका लेखा सहायक ठाकुर प्रसाद ढकाललाई अध्यक्षले मनोनित गर्ने सदस्य पदमा मनोनयन गरिएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला कास्कीका ह.स.चा. बलराम आचार्य र माछापुच्छ्रे गाउँपालिकाका कार्यालय सहयोगी केशव अधिकारीलाई रिक्त श्रेणीविहीन सदस्यमा मनोनित गरिएको छ । साथै राष्ट्रिय पशु प्रजनन् कार्यालय कास्कीका पशु सेवा प्राविधिक भोजबहादुर थापालाई जिल्ला सदस्य (समावेशी) पदमा मनोनित गरिएको छ ।

बैठकमा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै युनियन कास्कीका अध्यक्ष केदार सापकोटाले सबै निर्णय कार्यान्वयनमा सबैको सक्रिय भूमिका रहने विश्वास व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया