सम्पादकीय—सहरको आत्माः पुस्तकालयको महत्व

सहरको पहिचान केवल अग्ला भवन, विशाल सपिङ मल वा फराकिला सडकहरूले मात्र बन्दैन । यसको प्राण सांस्कृतिक जीवन्तता र बौद्धिक समृद्धिमा निहित हुन्छ । एउटा समुन्नत सहर त्यो हो जहाँ शिक्षा, स्वास्थ्य र संस्कृतिको समानुपातिक विकास हुन्छ, जहाँका बासिन्दाले ज्ञानको आलोकमा आफ्नो जीवनलाई उज्यालो बनाउन सक्छन् । यस यात्राको एक अपरिहार्य हिस्सा हो – पुस्तकालय । जहाँ पुस्तकालय छैन, त्यहाँ शिक्षाको वास्तविक विकास हुन सक्दैन, न त ज्ञानको उत्पादन र विस्तार नै सम्भव हुन्छ । ज्ञानविहीन विकासको जग कमजोर हुन्छ ।
ज्ञानको मूल स्रोत पुस्तकहरू हुन् । पुस्तकहरू ज्ञानको अथाह भण्डार हुन्, जसले हामीलाई जीवनमा आवश्यक पर्ने ऐतिहासिक, सामाजिक, भौगोलिक, सांस्कृतिक र वैज्ञानिक ज्ञान प्रदान गर्छन् । यी पुस्तकहरूले हाम्रा विचारहरूलाई आकार दिन र ज्ञान, विचार तथा सीपलाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्छन् । ज्ञानको हस्तान्तरणविना मानव समाजले आजको उन्नत अवस्थामा पुग्न असम्भव थियो । त्यसैले पुस्तकालयहरू मानव समाजलाई थप उन्नत, सभ्य र समृद्ध बनाउने एक महत्वपूर्ण कडी हुन् ।
हरेक वर्ष भदौ १५ गते मनाइने राष्ट्रिय पुस्तकालय दिवसले हामीलाई पुस्तकालयको अपार महत्व र समाजप्रतिको यसको योगदानबारे मनन गर्न प्रेरित गर्छ । यस सन्दर्भमा, प्रकृतिको अनुपम सौन्दर्यले सजिएको पोखरा र यहाँ अवस्थित पोखरा सार्वजनिक पुस्तकालयको भूमिकामाथि विचार गर्नु सामयिक देखिन्छ । ताल र हिमालको सहर पोखरा, केवल पर्यटकीय गन्तव्य मात्र नभई ज्ञान र शिक्षाको केन्द्र बन्न सक्ने असीमित सम्भावना बोकेको ठाउँ हो । यस सम्भावनालाई मूर्त रूप दिन सार्वजनिक पुस्तकालयहरूले नेतृत्वदायी भूमिका खेल्न सक्छन् ।
विकसित राष्ट्रहरूमा पुस्तकालयलाई सहरको धड्कन मानिन्छ । फिनल्याण्डको हेल्सिन्कीमा रहेको ओओडी सेन्ट्रल लाइब्रेरी यसको उत्कृष्ट उदाहरण हो । यो पुस्तकालय केवल पठनपाठनका लागि मात्र नभएर स्थानीय समुदायका सदस्यहरूका लागि भेटघाट गर्ने, विचार विमर्श गर्ने, नयाँ कुरा सिक्ने र विभिन्न कार्यशालाहरूमा भाग लिने एक ऊर्जावान् केन्द्रका रूपमा स्थापित भएको छ । त्यसैगरी, अमेरिका र युरोपका धेरै सहरहरूमा सार्वजनिक पुस्तकालयहरूले डिजिटल साक्षरता, रोजगारीका अवसरहरू सिर्जना गर्न मद्दत गर्ने तालिमहरू र विभिन्न सामुदायिक कार्यक्रमहरू सञ्चालन गर्छन् । यी पुस्तकालयहरूले नागरिकहरूलाई सशक्त बनाउन र समाजमा समावेशिता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छन् ।
पोखरामा सार्वजनिक पुस्तकालयहरूको अभाव खड्किएको छ । राणाकालको समाप्तिपछि केही पुस्तकालयहरू खुले पनि तीमध्ये केही मात्र जेनतेन चलिरहेका छन् भने, अधिकांश नाम मात्रका छन् । पोखरा महानगरपालिकाले पृथ्वीचोकमा निर्माण गर्ने भनिएको पुस्तकालय भवन अझै पूरा हुन सकेको छैन । तर, महानगरले एउटा मात्र पुस्तकालय बनाएर पुग्दैन । जसरी यसले वडावडा र टोलटोलमा सामुदायिक भवन वा अन्य भौतिक पूर्वाधार निर्माणमा ध्यान दिन्छ, त्यसरी नै प्रत्येक वडामा पुस्तकालय निर्माणको अभियान चलाउनुपर्छ । यसो भए मात्र पोखराले एक समृद्ध र ज्ञानमा आधारित सहरको रूपमा आफ्नो पहिचान बनाउन सक्छ । अध्ययनशील र ज्ञानी मानिसहरूको सहरका रूपमा पोखरालाई विकास गर्न तथा समुन्नत सहर निर्माण गर्न धेरैभन्दा धेरै पुस्तकालयहरूको निर्माण अपरिहार्य छ ।








नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया