लोकप्रियतावाद अर्थात अराजकताको बिउ

आजको विश्वमा एउटा यस्तो राजनीतिक र सामाजिक प्रवृत्ति बढ्दै गएको छ, जसलाई हामी लोकप्रियतावाद (पपुलिज्म) भन्छौँ । यो प्रवृत्तिले समाजमा अराजकता र विभाजन निम्त्याउने काम गरिरहेको छ । यसले आफूलाई जनताको पक्षमा उभिएको दाबी गरे पनि, यसको मूल चरित्र भनेको समस्याको समाधान दिने नभई केवल समस्या देखाएर समाजलाई उत्तेजित पार्नु हो । लोकप्रियतावादले समाजको गहिरो घाउको उपचार गर्नुको सट्टा, त्यसमा झनै नुनचुक छर्किने काम गर्छ ।
लोकप्रियतावादको सबैभन्दा ठूलो विशेषता भनेको समस्याहरूको सतही विश्लेषण गर्नु हो । यसले अर्थतन्त्रको असफलता, सेवा प्रवाहमा देखिएका समस्या, बेरोजगारी र असमानता जस्ता समस्याहरूलाई कुनै एक व्यक्ति, समूह वा प्रणालीको गल्ती मात्र हो भनेर चित्रण गर्छ । उदाहरणका लागि ’सबै भ्रष्टाचार नेताहरूका कारण भएको हो’ वा ’देशमा केही भएको छैन’ जस्ता सरल नाराहरू दिएर जनताको समर्थन बटुल्ने प्रयास गरिन्छ । यस्ता नाराहरू सुन्नमा आकर्षक लागे पनि, यिनले वास्तविक समाधानको बाटो देखाउँदैनन् ।
बरु यसले जनतालाई भ्रममा पारेर जटिल समस्याहरूको गहिरो अध्ययन र ठोस समाधान खोज्नबाट विमुख गराउँछ । लोकप्रियतावादी नेताहरू समस्याको जडमा पुग्न चाहँदैनन्, किनभने समाधानका लागि अनुभव, कडा परिश्रम र दीर्घकालीन सोच आवश्यक पर्छ, जुन उनीहरूका लागि सहज हुँदैन । उनीहरू नागरिकका कर्तव्यका कुरा गर्दैनन् । नागरिकले देशप्रति गर्नुपर्ने योगदानका कुरा गर्दैनन् । मात्र निरपेक्ष अधिकारका कुरा गर्छन् ।
लोकप्रियतावादको मूल चरित्र भनेको चरम अवसरवाद हो । यसमा संलग्न अधिकांश व्यक्तिहरू विभिन्न राजनीतिक दलमा रहेका, विभिन्न संघसंस्थामा काम गरेका, राज्यका निकायमा काम गरेका तर पदमा हुँदा काम नगरेका अहिले ठूलाठूला गफ गर्नेहरू, विभिन्न राजनीतिक नियुक्ति खाएका तर आफू कार्यरत पार्टीबाट सधैँ त्यही पद वा अवसर नपाउने भएपछि पार्टी छोडेर कथित लोकप्रियतावादी पार्टीमा ’तर मार्न जाने’ झुन्ड बाहेक केही होइनन् ।
उनीहरूको यो प्रवृत्तिले उनीहरूमा कुनै आदर्श, सिद्धान्त वा निष्ठा नभएको कुरा स्पष्ट पार्छ । उनीहरूलाई समाजमा नयाँ अनुहार र विकल्पको रूपमा प्रस्तुत गर्ने प्रयास गरिए पनि, उनीहरूको विगतको इतिहासले उनीहरूको वास्तविक क्षमता र योग्यतालाई प्रस्ट्याउँछ । विभिन्न पार्टीमा रहेर, विभिन्न क्षेत्रमा नियुक्ति भइसकेर यसमा प्रवेश गरेकाले उनीहरूको क्षमता हिजै देखिएको हो ।
यदि उनीहरू सक्षम थिए भने, उनीहरूले हिजो आफू कार्यरत पार्टी र पदमा नै प्रभावकारी काम गरेर देखाउन सक्थे । तर उनीहरूले आफ्नो असफलता र अवसरवादलाई लुकाएर आफूलाई नयाँ हो भनी प्रस्तुत गर्छन् । यस्ता मानिसहरू अधिकांशले आफू सबै जानेको भन्ने कुरा गर्छन् । तर केही समस्या र कानुनी अडचन आए ’थाहा छैन’ भनी उन्मुक्तिको प्रयास र स्टन्ट गर्छन् । विचारमा नयाँ र पुरानो हुँदैन, बरु विचारको सान्दर्भिकता, त्यसको गहिराइ र त्यसले दिन सक्ने समाधानको महत्त्व हुन्छ । तर, लोकप्रियतावादीहरू अनुभव, विचार, सिद्धान्त र नीतिमाथि विश्वास गर्दैनन् । उनीहरूका लागि महत्त्वपूर्ण कुरा केवल सत्ता र शक्ति हो ।
लोकप्रियतावादीहरूको अर्को मुख्य विशेषता भनेको राजनीतिक आन्दोलन र सामाजिक परिवर्तनको आन्दोलनमा उनीहरूको कुनै भूमिका नहुनु हो
नेपालको सन्दर्भमा, कथित लोकप्रियतावादीले शक्तिमा लाग्ने र नेतृत्व लिने व्यक्तिहरूको पृष्ठभूमि झनै चिन्ताजनक छ । यिनीहरूमध्ये केहिले नेपाली नागरिकता त्यागेका वा विदेशी नागरिकता लिएका हुन्छन् । विदेशी भूमिमा काम गरेर अलिकति पैसा कमाएर फर्केपछि उनीहरूले पुरानै नागरिकतालाई चलनचल्तीमा ल्याएर गलत काम गरिरहेका छन् । यिनीहरू नेपाली र विदेशी राहदानी दुवै प्रयोग गर्ने, बहुविवाह गर्ने, र विभिन्न स्क्याण्डलमा परेका व्यक्तिहरू हुन् । उनीहरूमा राजनीतिक नैतिकताको अभाव हुन्छ । उनीहरूले नेपालको हितमा कुनै योगदान गरेका हुँदैनन् । लामो समय विदेशमा बसेका र नेपालको माटो र जनताको वास्तविक पीडा नबुझेका यस्ता व्यक्तिहरूले लोकप्रियतावादको सहारामा शक्तिमा आउने प्रयास गरिरहेका छन् ।
लोकप्रियतावादको यो झुन्डसँग पत्रकारिताका नाममा मनपरी गर्ने व्यक्तिहरू पनि जोडिएका छन् । उनीहरू आफैंलाई पुलिस र न्यायाधीश ठानेर कानुनलाई समेत आफ्नो हातमा लिन खोज्छन् । उनीहरूले राज्यका हरेक संयन्त्रलाई कमजोर बनाउने प्रयास गर्छन् । हुलका भरमा प्रभाव पार्न सम्पूर्ण शक्ति लगाउँछन् । पुलिस प्रशासन, न्यायपालिका र सरकारी निकायलाई समेत प्रभाव पार्ने कोशिश गर्नु उनीहरूको मुख्य रणनीति हो । यसले देशको कानुनको शासनलाई कमजोर बनाउँछ र समाजमा अराजकता फैलाउँछ । उनीहरूका यस्ता हर्कतहरूले राज्यलाई अराजकता तथा अस्थिरताको चक्रमा फसाइरहन्छ ।
हालैका वर्षहरूमा नेपालमा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै लोकप्रियतावादी (पपुलिस्ट) व्यक्ति र समूहहरूले यसको दुरुपयोग गरी दुष्प्रचार फैलाउने, जनमतलाई प्रभावित पार्ने र विरोधीहरूलाई संगठित रूपमा हतोत्साहित गर्ने प्रवृत्ति मौलाएको छ । सरल, भावनात्मक र विभाजनकारी सन्देशहरू मार्फत आफूलाई ’जनताको असली आवाज’ र स्थापित राजनीतिक शक्ति तथा नेतृत्वलाई तथानाम झुट आरोप लगाउँदै विभिन्न चित्रण गरी यी पक्षहरूले सामाजिक सञ्जाललाई दुरुप्रयोगको प्रमुख हतियार बनाएका छन् ।
आफ्नो पक्षमा समर्थन जुटाउन र विरोधीहरूको आवाज दबाउन संगठित ’ट्रोल’ वा ’साइबर सेना’को प्रयोग बढ्दो छ । यस्ता समूहहरूले योजनाबद्ध रूपमा विपक्षी नेता, पत्रकार वा आलोचकहरूलाई सामाजिक सञ्जालमा गालीगलौज गर्ने, चरित्रहत्या गर्ने, धम्की दिने र हतोत्साहित गर्ने काम गर्छन् । नक्कली प्रोफाइलहरू मार्फत गरिने यस्ता आक्रमणले एक प्रकारको ’साइबर–लिन्चिङ’ को वातावरण सिर्जना गर्छ, जसले गर्दा मानिसहरू आलोचना गर्न डराउँछन् ।
लोकप्रियतावादीहरूको अर्को मुख्य विशेषता भनेको राजनीतिक आन्दोलन र सामाजिक परिवर्तनको आन्दोलनमा उनीहरूको कुनै भूमिका नहुनु हो । उनीहरूले आफ्नो जीवनको महत्वपूर्ण समय र ऊर्जा कुनै आदर्श, सिद्धान्त वा विचारका लागि खर्च गरेका हुँदैनन् । बरु, अरूले जीवन जोखिम र बलिदान दिएर ल्याएको उपलब्धिमा टेकेर उनीहरू विभिन्न हर्कत र मनपरी गरिरहेका हुन्छन् । चाहे त्यो प्रजातान्त्रिक आन्दोलन होस् वा सामाजिक न्यायको आन्दोलन, अग्रजहरूले आफ्नो रगत र पसिना बगाएर ल्याएका परिवर्तनहरूको फलमा बसेर उनीहरू आफ्नो स्वार्थसिद्ध गरिरहेका हुन्छन् । उनीहरूले परिवर्तनको इतिहास र त्यसका लागि भएको त्याग र समर्पणको कदर गर्दैनन्, किनभने उनीहरूलाई इतिहासको गहिराइ र त्यसको महत्त्वको ज्ञान नै हुँदैन ।
नेपालको सन्दर्भमा, यस्ता खाले शक्तिहरू संसदमा कुनै पनि दलको बहुमत नहुँदाको अवस्थाको फाइदा उठाएर सरकारमा सामेल भएका थिए । विभिन्न ठूला दलहरूसँग बार्गेनिङ गरेर उनीहरूले महत्त्वपूर्ण मन्त्रालयको नेतृत्व समेत लिए । फरक–फरक समयमा उनीहरू झन्डै एक वर्ष सरकारमा सामेल भए पनि कुनै परिणाम दिन सकेनन् । सरकारमा रहँदा उनीहरूले स्टन्टबाजी बाहेक केही गरेनन् । उनीहरूले समस्या समाधानका लागि ठोस नीति र कार्यक्रम बनाउनुको सट्टा केवल चर्चामा रहने र आफ्नो व्यक्तिगत छवि बनाउने प्रयास मात्र गरे । यसले उनीहरूको खोक्रो नारा र वास्तविक कार्यक्षमताबीचको भिन्नता प्रस्ट पार्छ ।
यो शक्ति देशमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्न चाहन्छ । खासगरी २०४६/०४७ सालको जनआन्दोलन र त्यसपछि जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा भएको २०६२/०६३ को शान्तिपूर्ण जनक्रान्तिपछि मुलुकले शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारको क्षेत्रमा विकासले ठूलो फड्को मारेको वास्तविकतालाई उनीहरूले अस्वीकार गर्छन् । यस्ता लोकप्रियतावादीहरूले आमजनतामा भ्रम छर्न ’केही भएको छैन’ भन्दै सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका हुन्छन् । उनीहरू अन्य राजनीतिक दल त्यसका नेता कार्यकर्ता र आफ्नो पक्षमा नलाग्ने व्यक्तिहरू विरुद्ध अत्यन्तै तल्लो स्तरको तथानाम र छाडा गाली गरिरहेका हुन्छन् । उनीहरू तथ्य र तर्कमा आधारित बहस गर्नुको सट्टा व्यक्तिगत आक्षेप र गालीगलौजमा उत्रन्छन्, जसले समाजलाई थप दूषित बनाउँछ ।







स्याङ्जाका ४ दर्जन बढी साहित्यिक मन भीरकोटमा जुटे
जेन जेड र जेन वाई सहकार्य : समृद्ध भविष्यको आधारशिला
सम्पादकीय—सहकारीका संकट सुल्झाऊ
कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया