मेटिन लागेका स्मृतिहरु–२

पछाडि पनि आँखा भएका बा

पेमाकुमारी न्यौपाने २०८२ भदौ १५ गते १०:५४

समय परिवेश अहिलेको होइन । यसका रङ्ग र स्वरहरू आजभन्दा ३ बिसअघिका हुन् । साविकको सरौँखोला गाविस अनि हालको पर्वत पैयूँ गाउँपालिकाको सरौँखोला जान धमिलो स्मरणको सानो सानो गल्ली पार गर्न तयार हुनुपर्छ । दृश्यहरू स्पष्ट नलाग्लान् तर मनमा बसेका ती रङ्गहरू कहिले ओझेल परेका छैनन् ।


मेरो बुबाका बुबा र ठूलो दाइ मुखिया र प्रधान भएकाले मेरा बुबालाई आसपासका गाउँलेहरूले पनि मुखिया नै मान्ने गर्थे । उहाँलाई ‘कान्छा मुखिया’ भन्ने गर्थे । उहाँले त्यहीअनुसारको सुविधा पाउनुहुन्थ्यो । केही दैनिक कामकाज गर्ने मानिस त केही खेतीपातीको बेला सहयोग गर्ने मान्छे बुबालाई उपलब्ध थियो । एक जना घोडाको रेखदेख गर्ने मान्छे सधैँ घरमा नै हुन्थे । मैले देखेर बुझेअनुसार बुबाले कहिले तिवारी वा मुखिया भएकोमा घमण्ड गर्नुभएन ।


घरमा म सबैभन्दा सानी थिएँ । बुबालाई हेर्दा मलाई लाग्थ्यो– त्यो गाउँ नै एउटा राज्य हो र मेरा बा त्यो राज्यका चुपचाप राजा । उहाँ उदार, बहादुर, न्यायप्रेमी र दानवीर हुनुहुन्थ्यो । तर बुबा मेरा लागि सधँै चुपचाप, गहिरो, र अलि डरलाग्दो पात्रजस्तै लाग्नुहुन्थ्यो । कडा मिजासको भएकोले उहाँसँग म डराउँथेँ । नदीको छाल छुनुअघि त्यसको गहिराइ अनुमान गरिनुपर्छ – म बुबासँग बोल्दा सधैं सतर्क हुन्थेँ ।

Advertisement


बुबाहरूले कहिल्यै मलाई गाली गर्नुभएन । तर जसरी उहाँहरूले अरूलाई गाली गर्नुभयो वा पिट्नु पनि भयो मलाई उहाँहरूका सामु जानै डर लाग्यो । सायद उहाँहरू कडा भएकै कारण हामी अनुशासित भयौँ ।

बुझ्दै जाँदा अनि आज बुबाको अभावमा मलाई लाग्छ – सेदी खोलाभन्दा पनि मेरा बा गहिरो हुनुहुँदो रहेछ

Advertisement


अलि ठुलो भएपछि गाई चराउन दाइ दिदीहरूको पछि लाग्न थालेँ । उनीहरूसँगैँं भिरमा गोटा, बाघचाल अनि खेतबारीमा डन्डिबियो, कबड्डी खेल्थ्यौं । कहिलेकाहीँ आमाहरूले बनाइदिएको कपडाको बलले ढुङ्गा चुली पल्टाउने खेल खेल्थ्यौं । आगोबिनाको भान्सा कति बनाइयो र कल्पनाको तातो खाना त्यति पटक खाइयो । कहिलेकाहीँ निलो रह भएको सेदी (छत्तिसे) खोलामा पनि पस्थ्यौं– हर्ष र डरको दोधारमा । त्यो रह हेर्दा आकाशको टुक्रा पानीमा अडिएको जस्तो लाग्थ्यो । रहले मलाई बोलाउँथ्यो, ‘आऊ मेरो निलो रहमा आफ्नो मुटु डुबाऊ ।’


एकदिन दिउँसोभरि घुमेर साझँ घर फक्र्यौं । घर पुग्ने बित्तिकै मूलघरको आँगनमा बोलावट आयो । दाइहरू आँगनमा अनि बुबा पिँढीको खाटमा ढुंगा जस्तो अनुहार बनाएर बसिरहनु भएको थियो । ‘बुबाले हामीहरू खोलामा पसेको थाहा पाउनुभयो होला सायद’ सोच्दैमा मेरो सातो गयो । मलाई आफू अपराधी भएर कचहरीमा उभ्याइएको जस्तो भान भयो । जब हामी सबैजना आँगनमा जम्मा भयौँ बुबा खाटबाट उठ्नुभयो । मुखिया ठुलो बुवाले गल्ती गर्ने मान्छेलाई पिटेझैँ बुबाले मलाई पिट्नुहुन्छ जस्तो लाग्यो ।


‘आज खोलामा पौडी खेल्ने को को हौ ?’ बुबाले चट्याङ स्वरमा सोध्नुभयो । ‘पौडी खेलेको होइन तर पानीमा पसेको मात्र हो’ भन्न मन थियो । मेरो जिब्रो हल्लिएन । तर मैले त्यति सोचेर बोल्ने आँट नगर्दै बुबाले भन्नुभयो, ‘मेरा पछाडि पनि आँखा छन् । तिमीहरू खोलामा पसेको मलाई थाहा हुन्छ । भोलिबाट कोही खोलामा नजानु ।’ बुबाका यी वाक्यहरूले बाँध जस्तै गरी मेरा रहरको धार ठप्प रोकिदियो ।


त्यस दिनदेखि म कहिले खोलातिर फर्किन सकिनँ । पछाडि आँखा भएका बाको चेतावनीले मेरो रहरको आकाश काटिदियो । खोलाको मुक्त शैली र रहको लोभलाग्दो भावको आकर्षण बुबाको त्यो चेतावनीले मनभित्र नै लुकाइदियो । धेरै समयसम्म मलाई लाग्यो – बुबा साँच्चिकै पछाडि पनि आँखा भएका मान्छे हुन् ।


बुबाको त्यस बोलीले मेरो खोलामा पौडी खेल्ने रहर नै मर्‍यो । तर केटा मान्छेहरू मुर्ख हुन्छन् । त्यसैले आँटिला पनि । बुबाको कुरा उनीहरूले पत्याएनन् । उनीहरू सधैँ स्कुल छेउकै खोलाको हरियो रहमा पौडी खेलिरहे । बुबाको आँखा छली बदमासी गरे पनि बुबाको अगाडि उनीहरूको सातो जान्थ्यो । बा अगाडि आएपछि ती सबैको आवाज हराउँथ्यो ।


सानो हुँदा दाइहरूसँग पौडिन रहर गर्ने सेदी खोलामा हरेक वर्ष ठुलो बाढी आउँथ्यो । हाम्रो घरतिरको आकाश सुकेको बेला पनि खोलाको भेल एक्कासि ठुलो हुने गथ्र्यो । त्यस भेलले ढुङ्गा, काठ मात्र होइन कहिलेकाहीँ मान्छे पनि बगाउँथ्यो र कालीगण्डकी नदीमा मिसाएर गायव बनाइदिथ्यो । बुबा हामी खोला पसेको बेला बाढीले हामीलाई बगाउँछ कि भनेर डराउनुहुँदो रहेछ । त्यसकारण हामीलाई डराउन दिएर हाम्रो नै सुरक्षा गर्न खोज्नुभएको रहेछ ।


सेदी खोला र बुबा उस्तै उस्तै रहेछन् । कहिलेकाहीँ वर्षा नभएको बेला पनि एक्कासि सेदी खोलाले अचानक आक्रोश देखाउँथ्यो । बुबा पनि मायालु, शान्त, मौन र सहनशील हुँदा हुँदै पनि अचानक कठोर बनिदिनुहुन्थ्यो । बुझ्दै जाँदा अनि आज बुबाको अभावमा मलाई लाग्छ – सेदी खोलाभन्दा पनि मेरा बा गहिरो हुनुहुँदो रहेछ ।


आजकल म जन्मेको माइतीघरको आँगन काठमाडाैं र तराईं मदेसतिर बसाइँ सरेको छ । त्यही पनि कहिलेकाहीँ आफू जन्मेको गाउँ पुग्नअघि सेदी खोलाको बगर हिँड्छु । त्यस खोलाको भेलमा बुबाको स्वर सुन्छु, ‘कान्छी… मेरा पछाडि पनि आँखा छन् ।’

तपाईको प्रतिक्रिया