पाताले छाँगो निजी कम्पनीलाई दिने निर्णयले विवाद

पोखरा ।
पोखरा छोरेपाटनमा रहेकाे पाताले छाँगो ४० वर्षका लागि निजी कम्पनीलाई ठेक्कामा दिने विषय विवादित बनेको छ । पोखरा महानगरपालिकाले सीसाको पुललगायत संरचना निर्माणका लागि सेती क्यानोनिङ प्रालिसँग सम्झौता गरेपछि यसलाई लिएर स्थानीय, विद्यार्थी संगठन र महानगरबीच विवाद बढेको हो ।
बिहीबार बिहान कम्पनीले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नेपाल विद्यार्थी संघसहित विभिन्न विद्यार्थी संगठनका नेता तथा स्थानीयबासीले विरोध जनाएपछि कार्यक्रम बिथोलिएको थियो । विवादको क्रममा नेविसंघ नेता निर्दोष विक्रम पौडेलमाथि खुकुरी प्रहार भएको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ भने खुकुरी प्रहार गर्ने बंशसिंह खवासलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कार्यक्रम सुरु भएलगत्तै नाराबाजी गर्दै विद्यार्थी संगठनका नेताहरूले योजना कुनै पनि हालतमा अगाडि बढ्न नदिने चेतावनी दिएका थिए । विवाद बढ्दै गएपछि मेयर धनराज आचार्य कार्यक्रमस्थल छाडेर निस्किएका थिए । त्यसपछि नाराबाजी थप चर्किएको थियो ।
निवर्तमान मेयर मानबहादुर जिसी नेतृत्वको कार्यकालको अन्तिम बैठकले पाताले छाँगो, मोरेखहरे घाट, सेती खोंचलगायत सम्पदालाई ३५–४० वर्षका लागि सार्वजनिक–निजी साझेदारी अन्तर्गत सेती क्यानोनिङ प्रालिलाई दिने निर्णय गरेको थियो । सो निर्णयलाई वर्तमान मेयर आचार्य नेतृत्वको १७औं कार्यपालिका बैठकले गत वैशाख ३ गते सदर गरेको थियो ।
सम्झौताअनुसार २०७८ साउन १४ मा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महेश बराल र कम्पनी अध्यक्ष कर्केन गुरुङबीच सम्झौता भएको थियो ।
यसअघि पाताले छाँगोको आम्दानी स्थानीय छोरेपाटन माध्यमिक विद्यालयले संकलन गर्दै आएकोमा महानगरले गत वर्षदेखि आफैं उठाउन थालेको छ । विद्यालयलाई ३ करोड दिने बताइएको छ । तर, स्थानीयहरूले स्वार्थ समूहसँग मिलेर महानगरले घाटा खाएर सम्पदा निजी क्षेत्रलाई सुम्पन खोजेको भन्दै निरन्तर विरोध गरिरहेका छन् ।








जेपी क्रस बास्केटबलः पोखरा युनाइटेड र अल्फा बोर्डिङ फाइनलमा
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म
आदर्श कप माघको दोस्रो साता
टेनिसमा शिभालीले रचिन् इतिहास
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया