नवलपुरमा जापानीज इन्सेफलाइटिसबाट ३ को मृत्यु, १४ सङ्क्रमित

नवलपुर । जापानीज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै गएपछि नवलपुरमा ३ जनाको मृत्यु भएको छ भने १४ जना सङ्क्रमित भएका छन् । संक्रमितमध्ये २ जना अझै प्रादेशिक अस्पताल डण्डामा उपचाररत छन् भने बाँकी निको भएर घर फर्किएका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीका अनुसार मृत्यु हुनेमा हुप्सेकोट–१ की १३ वर्षीया बालिका, मध्यविन्दु–१ का ५२ वर्षीय पुरुष र बौदिकाली–२ की ४५ वर्षीया महिला छन् । सबैभन्दा बढी सङ्क्रमण कावासोती नगरपालिकामा ६ जनामा देखिएको छ भने मध्यविन्दु नगरपालिकामा ४ जना, हुप्सेकोट, देवचुली, बौदिकाली र गैँडाकोटमा एक–एक जना सङ्क्रमित भएका छन् ।
अघिल्लो आर्थिक वर्षमा जम्मा ३ जनामा सङ्क्रमण देखिएको थियो भने आर्थिक वर्ष २०८०/८१ मा १२ जना सङ्क्रमित हुँदा ४ जनाको मृत्यु भएको थियो । जापनिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने रोग हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार विशेषगरी झरी, वर्षासँगै धान खेत, बागबानीमा काम गर्ने तथा ताल–किनारमा माछा मार्ने मानिसहरूमा यो रोग फैलिने गरेको छ ।
यसैबीच सङ्क्रमण बढेपछि कावासोती नगरपालिकाले रोकथामका उपाय अपनाउन सबैलाई आग्रह गरेको छ । प्रमुख प्रशासकीय अधिकृत महेश पाण्डेले सूचना निकाल्दै लामखुट्टेको टोकाइबाट जोगिन, हाँस, कुखुरा, सुंगुर, बंगुर जस्ता पशुपक्षीलाई घरदेखि टाढा राख्न, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाउन र सरसफाइमा ध्यान दिन आग्रह गरेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयले पनि पालिकास्तरमा जनप्रतिनिधि र सरोकारवालासँग सहकार्य गर्दै सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जनाएको छ ।








जेपी क्रस बास्केटबलः पोखरा युनाइटेड र अल्फा बोर्डिङ फाइनलमा
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म
आदर्श कप माघको दोस्रो साता
टेनिसमा शिभालीले रचिन् इतिहास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया