
जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर १ स्थित चिमाङ गाउँमा हिमाली कालो भालुको आतंक बढेको छ । भालुले बालीनाली सखाप पार्ने क्रम नरोकिएपछि त्यहाँका किसान दैनिक मध्यरातसम्म भालु धपाउन गस्तीमा खटिएका छन् ।
किसानले उत्पादन गरेको स्याउ लगायतका अन्नबाली हिमाली कालो भालु पसेर खाइदिने गरेपछि चिमाङ गाउँमा ५ जना सम्मिलित ७ वटा समूह बनाएर गस्ती गर्न थालिएको छ । किसानलाई भालुले अन्नबाली सखाप पारेर निकै ठूलो सास्ती दिएको स्थानीय सुकबहादुर विश्वकर्मा बताउँछन् । यहाँ एक्याप संरक्षित क्षेत्रमा कालो भालु र मानवबिचको द्वन्द्व बढ्दै गएको हो ।
समुन्द्री सतहको ३ हजार मिटरमा रहेको चिमाङ गाउँ बेनी जोमसोम सडक मार्गको कालिगण्डकी पारी अग्लो र भिरालो स्थानमा अवस्थित छ । घना जंगलको फेदमा अवस्थित गाउँका किसानलाई खेतबारीमा लगाएको अन्न बाली जोगाउनै धौधौ परेको किसान विश्वकर्माको भनाइ छ ।
त्यहाँ उवा र जौबाहेक सबै अन्नबाली भालुले सखाप पारिदिने गरेको छ । अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको मातहतमा रहेको यहाँको चिमाङ गाउँमा कालो भालुको जत्थाले स्थानीय किसानले उत्पादन गरेको बालीनाली सखाप पारिदिन थालेपछि किसान चिन्तित बनेका छन् ।
यो समस्या त्यहाँका किसानले वर्षौ वर्षदेखि झेल्नु परेको गुनासो गरेका छन् । किसानले उत्पादन गरेको स्याउ, फापर, मकै, सिमी, हरियो तरकारी लगायतका बाली हिमाली कालो भालुले रातिको समयमा खेतबारीमा पसेर सखाप पारिदिने गरेको स्थानीय किसानहरुको भनाइ छ ।
चिमाङ गाउँमा किसानले उत्पादन गरेको कृषि उत्पादन कालो भालुले सखाप पारिदिन थालेपछि घरपझोङ गाउँपालिकाले किसानको खेतबारीमा ग्याबिनसहित ताराजाली लगाएको थियो । तर, त्यहाँ लगाइएको घेराबार तालजालीमाथि उक्लिएर भालुले खेतबारीमा लगाइएको अन्नबाली नोक्सान पारिदिएको घरपझोङकी कार्यपालिका सदस्य मनी विश्वकर्माले जानकारी दिए ।
चिमाङ गाउँमा कृषि उत्पादनको प्रचुर सम्भावना छ । यहाँका किसान कृषिमा आत्मनिर्भर छन् । तर, यहाँको मुख्य आम्दानीको रुपमा रहेको कृषि व्यवसायलाई कालो भालुको आतंकले दुख दिने थालेपछि यहाँका किसान निकै ठूलो समस्यामा परेका हुन् ।
भालु आतंक रोक्न गाउँको खेतबारीमा लगाएको तारजालीले काम नगरेपछि त्यसको विकल्पमा एक्याप जोमसोमले गत वर्ष भालु धपाउने यन्त्र (साइरन) जडान गरेको कार्यपालिका सदस्य मनी विकले उल्लेख गरे । तर, त्यस प्रकारको यन्त्रले पनि भालुको आतंक रोक्न असफल सम्भव भएन ।
खेतबारीमा लगाइएको तारजाली, भालु धपाउने साइरन र विद्युतीय तारजालीले समेत भालु रोक्न नसकेपछि राति किसानको गस्ती
चिमाङ गाउँको खेतबारीमा तारजाली र भालु धपाउने यन्त्र जडान गरे पनि त्यसले काम नगरेपछि त्यहाँका किसानले ६÷७ जनाको समुह बनाएर दैनिक हेरालो बस्न सुरु गरेका थिए । एक्यापले भालु नियन्त्रण गर्न तीन कर्मचारीको पारिश्रमिकवापत १ लाख ३० हजार बजेट विनियोजन गरेको थियो । तर, भालु नियन्त्रण गर्न तीन कर्मचारी पर्याप्त नभएपछि ६÷७ जनाको समूह बनाएर पारिश्रमिक बाँडफाँड गरिएको हो ।
चिमाङकी स्थानीय कार्यपालिका सदस्य विश्वकर्माले गाउँमा दैनिक राति ८ बजेबाट १२ बजेसम्म भालु आउँछ कि भनी खेतबारीमा गस्ती गर्ने गरेको जनाए । गाउँमा समूह विभाजन गरी आलोपालो दैनिक राति गस्ती सुरु गरेपछि भालु आतंक आशिंक रुपमा कम भएको उनको भनाइ छ ।
चिमाङ गाउँमा किसानले उत्पादन गर्ने कृषि उपज संरक्षण गर्न एक्याप जोमसोमले परीक्षणका रुपमा विद्युतीय तारजाली निर्माण गरेको कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए । सौर्य ऊर्जा प्रणालीबाट विद्युत प्रवाह हुने गरी भालु नियन्त्रण गर्न १ हजार २ सय ७० मिटर क्षेत्रफलमा विद्युतीय घेराबार निर्माण गरिएको कार्यालय प्रमुख गुप्ताले सुनाए । उनले यस कार्यका लागि ४ लाख खर्च भएको जनाए ।
तर, यहाँ एक्यापले परीक्षणको रुपमा लगाएको विद्युतीय तारजालीले भालु नियन्त्रणमा कुनै फाइदा नपुगेको कार्यपालिका सदस्य विकले दाबी गरे । चिमाङमा भालु भिरालो स्थानबाट चढेर खेतबारी पस्ने गरेको र विद्युतीय तारजालीसमेत नाघेर किसानको उत्पादन नष्ट गर्ने गरेको किसानहरु बताउँछन् ।
यहाँ अहिले पनि दैनिक रुपमा राति किसानहरु भालु धपाउन हेरालो बस्न गरेका छन् । चिमाङ गाउँमा मात्रै होइन, भालुले थासाङ गाउँपालिकामा पनि बर्सेनि किसानको बालीनाली सखाप पारिदिने गरेको छ । यहाँको कुञ्जो, ताक्लुङ, छयो, झिप्रा देउराली, सौरु, सिर्खुम, नाउरीकोट लगायतका ठाउँमा पनि हिमाली कालो भालुको आतंकले किसानहरु आजित छन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







तारकाङमा डेंगी अभिमुखीकरण
पोखरा १५ मा नागरिक सुनुवाइ
पर्वतकी रानी जोगाउने प्रयास
भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया