
काठमाडौं । निजामती सेवा दिवस २०६१ सालदेखि हरेक वर्ष मनाउने गरिँदै आएको छ । यस्ता दिवसहरुको आफ्नै महत्व हुन्छ । खासगरी सेवामा भएका राम्रा पक्षहरुप्रति गौरव गर्न, अग्रजहरुप्रति कृतज्ञता गर्न र त्यसबाट शिक्षा लिएर भविष्यको मार्गदर्शनका लागि दिवस मनाउने गरिन्छ ।
विसं २०१३ मा प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले निजामती सेवा ऐन जारी गरेपछि नेपालमा निजामती सेवा औपचारिक रुपमा थालनी भएको हो भने २०१६ सालमा प्रधानमन्त्री विपी कोइरालाले यसलाई आधुनिकीकरण र व्यवस्थित बनाउनु भएको थियो । निजामती सेवा ऐन जारी भएको चार महिनामै पौषमा निजामती सेवा नियमावली जारी भएको थियो । यसले विस्तारै भर्ना र बढुवामा पब्लिक सर्भिस कमिशनलाई सरिक गराउन थालिएको देखिन्छ । निजामती सेवाले आफ्नो गौरवका कुरा के भयो, सात दशकमा केही गर्व गर्न लायक कामहरु भएका छन्, तिनको समीक्षा गर्ने अवसर पनि दिवसले प्रदान गर्छ ।
सामाजिक र राजनीतिक संस्था निस्क्रिय हुँदा निजामती सेवाले धान्ने गर्दै आएको छ । कर्मचारीतन्त्रले हरेक राजनीतिक परिवर्तनको पछाडि आएका सङ्क्रमणकालीन अवस्थाको व्यवस्थापन गर्दै आएको छ । त्यति मात्र होइन, सशस्त्र द्वन्द्वको बेला सुरक्षाकर्मीसमेत जान नसकेको ठाउँमा निजामती सेवाले मात्र सरकारी उपस्थिति देखाउन सकेको थियो । जनतालाई सेवा दिने क्रममा थुप्रै असैनिक दर्जाका कर्मचारीको ज्यान पनि गयो । समयमा स्थानीय निर्वाचन नहुँदा कर्मचारीले जनप्रतिनिधिका काम समेत गर्नु परेको थियो ।
कर्मचारीलाई अनिर्वाचित सिनेटको रुपमा लिने गरिन्छ । राज्यका तीनवटै अङ्ग कर्मचारीबाट नै सञ्चालित हुन्छन् । वास्तवमा कर्मचारीतन्त्र स्थायी सरकार पनि हो । राजनीतिक नेतृत्व जनताबाट आवधिक निर्वाचनमार्फत् निश्चित अवधिका लागि आउँछ तर कर्मचारी हजारौँसँग प्रतिस्पर्धा गरी आफूलाई अब्बल सावित गरी वर्षौंसम्म जनतासँग निकट भएर काम गर्दै आएका हुन्छन् । बदलिँदो विश्वपरिवेश, प्रविधिको विकास र राष्ट्रिय आवश्यकताअनुसार कर्मचारीमा नयाँ भूमिका थपिंदैछ । जनप्रतिनिधि र जनताबीचको मध्यवर्ती भूमिका खेल्नुपर्छ । नागरिकका सरकारमा पु¥याउने र सरकारका कार्यक्रम जनतासामु पु¥याउने माध्यम कर्मचारी हुन् । यी कामहरु गर्न हाम्रो कर्मचारीतन्त्र त्यति सक्षम देखिएन, सबै वर्गबाट आलोचित हुँदैछ ।
कर्मचारीहरुको निस्पक्षता तब प्रदर्शित हुन्छ, जब उनीहरुको आफ्ना काममा स्वच्छता देखिन्छ । राजनीतिक दलबाट दिक्षित हुन थालेपछि यो सम्भव हुँदैन । राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र सार्वजनिक प्रशासनका दुई पाटा हुन् र तिनीहरु एकअर्काका परिपूरक हुन् । दुवै वर्गले साझेदारको रुपमा काम गर्नुपर्छ । राजनीतिक नेतृत्वले दिएको नीतिलाई कर्मचारीतन्त्रले कार्यान्वयन गर्ने हो । कर्मचारीतन्त्रले राजनीतिक साध्यका लागि साधक हुनुपर्छ । साधन र साध्यबीचको बेमेलले असफलता हात लाग्दछ, यसले देश र जनतालाई फाइदा पुग्दैन । कर्मचारीमा जसरी राजनीति सङ्क्रिमत हुँदैछ, यो बढ्दै जाने हो भने राज्यबाट वितरण हुनेसेवाहरु दलीय आग्रह पूर्वाग्रहमा वितरण हुन थाल्नेछन् र यसबाट राज्य संयन्त्रप्रतिको जनताको विश्वास समाप्त हुनेछ । सेवा प्रवाहमा अराजनीतिकरण भएमा मात्र कर्मचारीतन्त्रप्रति नागरिकहरुले विश्वास गर्नेछन् ।
कर्मचारीतन्त्र माथि लागेको आरोप
अहिले कर्मचारीतन्त्रले राजनीतिक परिस्थितीय अवस्थासँग मिल्न सकेन, परिवर्तनलाई आत्मसात गर्न जानेन भन्ने आरोप लाग्ने गरेको छ । पञ्चायतकालमा राजाहरुले व्यवस्था टिकाउन कर्मचारीतन्त्रलाई उपयोग गरे । एक अर्थमा भन्ने हो भने त्यतिबेला निजामती सेवा शक्तिशाली थियो तर जनताको नजरमा लोकप्रिय थिएन । २०४६ सालपछि कर्मचारीतन्त्रले आफूलाई रुपान्तरित गर्न सक्नुपथ्र्यो, नयाँ मूल्य मान्यता बोक्नुपथ्र्यो, त्यसो हुन सकेन । बरु राजनीतिक दलका भातृ संस्थाका रुपमा कर्मचारी सङ्गठनहरु खुले । यो निजामती सेवाको मूल धर्म विपरीत छ । यसले कर्मचारीको मुख्य धर्म निष्पक्षता, तटस्थताको पालना भएन ।
यो संस्थाले लोकतान्त्रिक मूल्य बोक्न सकेन । जनताको सहभागिता, कानुनको शासनको आधारमा चल्न सकेन भन्ने आरोप लाग्दै आएको छ । गैरउत्तरदायी, अपारदर्शी, औपचारिक र अनौपचारिक प्रक्रियाको जञ्जालभित्र काम गर्न रुचाउने प्रवृत्ति हाबी हुँदै गएको टिप्पणी गरिन्छ । यसले गर्दा अहिले कर्मचारीतन्त्रलाई हेर्ने दृष्टिकोण राम्रो छैन । कामचोर भ्रष्टको रुपमा हेर्ने गर्छन् । यसो हुनुमा कर्मचारीतन्त्रकै कमजोरीलाई लिन सकिन्छ । राजनीतिक र सामाजिक परिवर्तनसँग आत्मसात गर्न सकेन । पछिल्लो समय कर्मचारीतन्त्रमा राजनीति गर्ने सोख र राजनीतिमा विज्ञ सल्लाहकार नियुक्त गरी प्रशासन चलाउने सोख बढेको पाइन्छ । यस्तो अवस्था आउन नदिन कर्मचारीहरुमा नैतिकता र सदचिरित्रताजस्ता गुणहरुलाई हराउन दिनुहुँदैन ।
अब के गर्ने त ?
आलोचना हुनु नराम्रो होइन, दिनहुँ जनतासँग प्रत्यक्ष सम्बन्ध राख्नुपर्ने हुँदा कर्मचारीको भूमिका पुनःप्रशिक्षित गर्नु पर्नेछ । हिजोको जस्तो कर्मचारी एक ठाउँमा मात्र उत्तरदायी रहनसक्ने अवस्था छैन, प्रविधिका कारण अब विभिन्न तहका सरकार, नागरिक समाज, संसद्, जनता र समग्रमा देशप्रति उत्तरदायी हुनुपर्ने देखिन्छ ।
निजामती कर्मचारीले निष्पक्ष रूपमा कानुनअनुसार विधिसम्मत ढङ्गबाट नभई राजनीति दबाब र प्रभावमा रहेर कार्यसम्पादन गर्नुपर्ने स्थिति छ । त्यसैले, कर्मचारी संयन्त्रले निष्पक्षतापूर्वक काम गर्नसक्ने अवस्था नरहेको देखिन्छ । राज्यको नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्ने प्रमुख संयन्त्र भनेको निजामती प्रशासन नै भएकाले परम्परागत निजामती प्रशासनले मात्र परिणाम दिन सक्दैन । निजामती प्रशासन निष्पक्ष र जनउत्तरदायी हुनु पर्दछ ।
अबका निजामती कर्मचारीले सूचना र प्रविधिलाई उच्च रूपमा प्रयोग गर्दै सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्नुपर्छ । निजामती प्रशासन राजनीतिक दबाब, प्रभाव, भ्रष्टाचार, अनुशासनहीनताबाट टाढा रहनुपर्दछ ।
प्रविधिमा आएको चमत्कारले धेरैजसो सेवाहरु अब प्रविधिमैत्री भएका छन् । सानो मुलुक इस्टोनियामा ९९ प्रतिशत सेवा डिजिटलाइजेशनमा गएको छ । हामीहरु पनि अब विस्तारै त्यतितिर नगई धरै छैन । पुरानो सोच र कार्यशैलीमा रहेका कर्मचारीहरु आफ्नो भूमिका गौण हुने भयले नयाँ प्रविधिको विपक्षमा हुन सक्छन् । हामी कहाँ पनि लोक सेवा आयोगका परीक्षार्थीहरुले अनलाइनबाटै फर्म भरेका हुन्छन्, एकैपटक उनीहरुसँग देखभेट परीक्षा हलमा मात्र हुन्छ । अब सेवा प्रदायक र सेवाग्राहीबीच प्रत्यक्ष सम्पर्क हुँदैन, प्रविधिबाटै सबै काम हुने भएकाले यसमा अभ्यस्त हुन तद्नुरुप दक्ष जनशक्ति हुनु जरुरी छ । झन् अहिले त कृत्रिम बौद्धिकताले धेरै सेवाहरु प्रविधिबाटै हुन सम्भव भएको छ । त्यसैले नेपालको कर्मचारीतन्त्र प्रविधिमैत्री हुनैपर्छ । यसोहुँदा भ्रष्टाचार, ढिलासुस्ती, कुशासन जस्ता आरोपहरु विस्तारै कम हुँदै पनि जान्छ ।
कर्मचारीले पनि आफ्नो संस्कारमा सुधार ल्याउन जरुरी छ । आफूमाथि लाग्दै आरोपलाई अन्त्य गर्न नैतिकता, दण्ड पुरस्कारलाई आबद्ध गर्नुपर्छ । लोकतन्त्रमा जनताको सर्वोच्चता हुनेहुँदा कर्मचारी संयन्त्रप्रति जनताको अपनत्व बढाउन नागरिक संस्था र प्रक्रियामा जानुपर्ने हुन्छ । आज विश्वका अधिकांश मुलुकमा नयाँ सार्वजनिक शासनको अवधारणाको विकास भएको छ । हामी कहाँ पनि यसको उदाहरण सामुदायिक प्रहरी र सामुदायिक वनमा गरेका छौँ । अब निजामती सेवा जनताप्रति उत्तरदायी नभई सुखै छैन । स्थायी सरकारका रूपमा रहेका कर्मचारीले राम्रो काम गर्दा मात्र सरकारको छवि राम्रो बन्ने भएकाले आमनागरिकमा सकारात्मक सन्देश जाने गरी सबै कर्मचारीले सेवाग्राहीलाई सेवा प्रवाह गर्नुपर्छ ।
लोकतन्त्रमा नागरिकलाई जोड्ने कर्मचारीतन्त्रको हो । त्यसैले यसले आफ्ना पुरातन मूल्यमान्यतालाई लोकतान्त्रिक मूल्य मान्यताले विस्थापित गर्दै लाज जरुरी छ । प्रशासनविद् वाल्डोले भने जस्तै व्यवस्था र व्यवस्थाका मूल्यमा काम गर्नु यस संस्थाको परम कर्तव्य हो । यसले यसमा प्रभावकारी भूमिका खेल्न सक्यो भने मात्र राज्यको जनतासँगको सामाजिक सम्झौताको नवीकरण हुन सक्दछ । कर्मचारीतन्त्र सरकारको सहयोगी मात्र होइन, राज्यको अवयव पनि हो ।
कर्मचारीतन्त्रका जे जति अवगुण भए पनि यसको पूर्ण विकल्प भने देखिँदैन । यसैले कर्मचारीतन्त्रलाई जनउत्तरदायी, परिणाममुखी र सक्षम सेवाको रुपमा बदल्न सक्नुपर्दछ ।
कर्मचारीले जनप्रतिनिधिको निर्णयलाई अवज्ञा गर्न मिल्दैन । पछिल्लो समय संसद्ले गरेका निर्णयहरुमा उच्चपदस्थ कर्मचारीहरुको असन्तुष्टि भन्ने कुराले छवि धमिल्याएको छ । जनप्रतिनिधि पनि कर्मचारीको इशारामा चल्नु हुँदैन । कर्मचारीले जनप्रतिनिधि प्रभावित तुल्याई आफ्नो एजेण्डा स्थापित गराउन खोज्नु हुँदैन । निजामती सेवाको तीनवटा भूमिका हुन्छ । त्यो हो सरकारले बनाएका नीतिहरुको कार्यान्वयन गर्नु, राजनीतिज्ञलाई तटस्थ सल्लाह दिनु र अप्ठ्यारो परेको अवस्थामा सरकार सञ्चालन गर्नु । त्यसभन्दा बाहिरको भूमिका खोज्नु हुँदैन । कर्मचारीतन्त्रप्रति विश्वास दिलाउन निजामती सेवा दिवसले प्रेरणा देओस् । (प्रस्तुत विचार लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा नेपाल सरकारका पूर्वसचिव मैनालीसँग गरिएको कुराकानीमा आधारित)
—







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया