काठमाडौंमा ‘जेन-जी’ प्रदर्शन: प्रहरीको गोली लागेर १९ जनाको मृत्यु, ३४७ घाइते

समाधान संवाददाता २०८२ भदौ २३ गते १८:४५
फाइल तस्बिर

काठमाडौं । भ्रष्टाचारविरुद्धको ‘जेन-जी’ प्रदर्शनका क्रममा काठमाडौंको बानेश्वरकेन्द्रित आन्दोलनमा प्रहरीले गोली चलाउँदा हालसम्म १९ जनाको मृत्यु भएको छ। देशका मुख्य शहरहरूमा समेत फैलिएको यस प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ठूलो मानवीय क्षति भएको हो।

विभिन्न अस्पतालबाट प्राप्त जानकारी अनुसार, मृत्यु हुनेहरूमध्ये ट्रमा सेन्टरमा ८ जना, एभरेस्ट अस्पतालमा ३ जना, सिभिल अस्पतालमा ३ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र केएमसी अस्पतालमा २ जना रहेका छन्। यसैगरी, इटहरीमा पनि प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको पुष्टि भएसँगै कुल मृतकको संख्या १९ पुगेको छ।

प्रदर्शनका क्रममा ३४७ जना घाइते भएका छन्, जसको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूमध्ये सिभिल अस्पतालमा १०० जना, ट्रमा सेन्टरमा ५९ जना, एभरेस्ट अस्पतालमा १०२ जना, केएमसीमा ३७ जना, वीर अस्पतालमा ६ जना, पाटन अस्पतालमा ४ जना, त्रिवि शिक्षण अस्पतालमा १८ जना, नर्भिक अस्पतालमा ३ जना, बीपी प्रतिष्ठानमा २ जना, गण्डकी मेडिकल कलेजमा १ जना, विराट मेडिकल कलेजमा ४ जना र दमक अस्पतालमा ७ जनाको उपचार भइरहेको छ।

Advertisement

एभरेस्ट अस्पतालका अधिकारी अनिल अधिकारीका अनुसार त्यहाँ ४ जनाको अवस्था गम्भीर छ। यस्तै, ट्रमा सेन्टरका डा. दीपेन्द्र पाण्डेले ट्रमामा उपचाररत १० जना गम्भीर अवस्थामा रहेको र उनीहरूको टाउको तथा छातीमा गोली लागेको जानकारी दिएका छन्।

प्रदर्शनकारीहरूमाथि नियन्त्रणका लागि प्रहरीले पानीको फोहरा, अश्रुग्यास र गोली समेत प्रहार गरेको थियो। भ्रष्टाचारका विरुद्धमा युवा पुस्ता ‘जेन-जी’को यो आन्दोलन काठमाडौंसहित देशका विभिन्न प्रमुख शहरहरूमा जारी छ।

Advertisement

तपाईको प्रतिक्रिया