प्रधानमन्त्री बनेकी कार्कीले निर्वाचनमार्फत संक्रमण पार गर्ने जिम्मेवारी सम्हालिन्

समाधान संवाददाता २०८२ भदौ २८ गते ५:०४
राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाइ तथा शुभकामना दिँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

Advertisement

काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने गम्भीर दायित्व पाएकी छन् । देशको संक्रमणकाललाई निर्वाचनमार्फत पार लगाउनुपर्ने प्रमुख कार्यभार उनीमाथि आएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानमा राष्ट्रपतिलाई दिइएको संवैधानिक अधिकार प्रयोग गरी पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । संविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि संविधानले तोकेको व्यवस्था अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई सरकारको नेतृत्व जिम्मा दिएका हुन् ।

Advertisement

भदौ २३ र २४ गते भएको जेनजी युवाको आन्दोलनपछि देखिएको राजनीतिक परिवर्तनका आधारमा कार्की प्रधानमन्त्री बनेकी हुन् । उनी नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी छन् ।

शीतल निवासमा भएको शपथग्रहण कार्यक्रममा राष्ट्रपति पौडेलले कार्कीलाई शुभकामना दिँदै भने, ‘धेरै धेरै बधाई छ । धेरै धेरै शुभकामना । तपाईं सफल हुनुहोस् । देश सफल होस् ।’

Advertisement

कार्कीले नेपालको संविधानको धारा ८० अनुसार प्रधानमन्त्री पदको पद तथा गोपनियताको शपथ लिएकी हुन् । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, पूर्वप्रधानमन्त्री प्राडा बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठलगायतको उपस्थिति थियो ।

शपथ कार्यक्रममा अमेरिका, चीन, भारतसहितका मुलुकका राजदूतहरू सहभागी थिए भने आन्दोलनको पक्षधर जेनजी युवाहरू पनि उपस्थित थिए । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधानसेनापति र अन्य सुरक्षा निकायका प्रमुखहरू समेत समारोहमा सहभागी भए । नवनियुक्त प्रधानमन्त्री कार्कीका पति दुर्गा सुवेदी पनि शपथ समारोहमा उपस्थित थिए ।

तपाईको प्रतिक्रिया