जीवनको सपनासँगै आगोभित्र हराएकी स्वस्थानी

पोखरा । भदौ २४ गते मंगलबार पोखराको लेकसाइड । आन्दोलनको उग्र रूपले सहर थर्काइरहेको थियो। भीडले गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाको अंशुभरा स्क्वाएर भवनलाई निशाना बनायो। क्षणमै ढुङ्गा वर्षिए, सटर फुटे, र भवनमा आगो सल्काइयो।
त्यो भीडको कहरकै बीचमा २५ वर्षीया स्वस्थानी खड्का आफ्नो साथीको साथ भवनभित्र थिइन्। दोलखा, बैत्यश्वर–८ घर भएकी उनी पोखरा कामकै सिलसिलामा आएकी थिइन्। ब्युटिसियनको काम गर्थिन्, साथसाथै रत्न राज्यलक्ष्मी कलेजमा स्नातक अध्ययन गरिरहेकी थिइन्।
आन्दोलनकारी भवनमा पसेपछि उनी र उनकी साथी भाग्दै बाहिर निस्किए। तर, केहीबेरमै सम्झिइन्—भित्र आफ्ना सामान छुटेका छन्। सामान टिप्न फर्केर पस्दा उनी जीवनकै अन्तिम पटक भवनभित्र प्रवेश गरिरहेकी थिइन्।
“भित्र मेरो साथी छ, आगो नलगाउनुहोस्,” उनकी साथीको चिच्याहट भीडले सुनेन। केही मिनेटमै आगोले सम्पूर्ण भवनलाई घेरेको थियो। धुवाँ, ज्वाला र हल्लामध्ये स्वस्थानी त्यहीँ अल्झिइन्।
प्रहरी पछि पुगेपछि भित्र मान्छे भएको सूचना आयो। तर त्यो बेलासम्म ढिलो भइसकेको थियो। प्रहरीले आगो निभाएर खोज्दा स्वस्थानीको शरीर घोप्टो परेको अवस्थामा भेटियो। उनलाई निकालेर अस्पताल पुर्याइए पनि जीवन भने जलेर खरानी भइसकेको थियो।
दोलखामा रहेका उनका परिवारलाई यो खबर चट्याङझैँ पर्यो। बुबा राजेश खड्का र आमा बालकुमारी खड्का दुःखले ढले। “सम्हाल्न गाह्रो भएको छ,” उनका भिनाजुले बताए। बुधबार काठमाडौँ पुगेका उनीहरूले पशुपति आर्यघाटमा अन्तिम संस्कार गरे।
स्वस्थानीका तीन दिदी र एक भाइ छन्। सामान्य आर्थिक अवस्थाको परिवार खेतीपाती गरेर बाँचेको हो। उनी परिवारको ठूलो आशा थिइन्—उच्च शिक्षा, शहरमा काम र परिवारलाई टेवा दिने सपना बोकेकी थिइन्।
तर राजनीति वा आन्दोलनसँग कुनै सरोकार नभएकी स्वस्थानीको जीवन २५ वर्षमै आन्दोलनको आगोले लुट्यो।
आज पशुपति परिसरमा उनको काजक्रिया चलिरहेको छ। बाँकी परिवार शोकसागरमा डुबेको छ।
लेकसाइडमा सल्किएको आगो अब खड्का परिवारको जीवनभरि निभ्ने छैन।








जेन्जी आन्दोलनका क्रममा मारिएका प्रहरी अमृतको रुपा घरमा गृहमन्त्री र आइजिपी
कांग्रेसले डाक्यो केन्द्रीय समितिको आकस्मिक बैठक
खौलालाँकुरी पोखरा सम्पर्क समाजको नेतृत्वमा लालप्रसाद शर्मा
विधान महाधिवेशनको निर्णय उल्टियो : एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ्यो, ईश्वर पोखरेलको असन्तुष्टि
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया