सम्पादकीय—संवाद र सहमतिमा अघि बढ्नु श्रेयस्कर

जेन जी आन्दोलनको पृष्ठभूमिबाट प्रधानमन्त्री नियुक्त सुशीला कार्कीले पहिलो दिन मन्त्रिपरिषदसमेत गठन गर्न सकिनन् । शुक्रबार नियुक्ति र सपथ लिएकी उनले आज आइतबारदेखि कार्यभार सम्हाल्दै छिन् । तर उनको कार्यभार निकै चुनौतीपूर्ण छ । दलहरुले गरेको भ्रष्ट शासनविरुद्धको आन्दोलनबाट आएकी उनले नै कुशासन कसरी अन्त्य गर्लिन् र जेन जीको सपना साकार गर्लिन् यसै भन्न सकिन्न । त्यसो त संसद विघटनको निर्णय र आमनिर्वाचनको मिति तय गरेर उनले दलहरुलाई हदैसम्मको उपेक्षा गरेकी छन्, जब कि उनले गराउने भनेको आमनिर्वाचनको मुख्य हिस्सेदार दलहरु नै हुन् ।
जेन जी अगुवाहरु त राजनीतिमा आउने त परै अहिले मन्त्रिपरिषदमा समेत नबस्ने भनेर भनिसकेका छन् । लोकतन्त्रको मुख्य चलायमान शक्ति राजनीतिक दलहरु हुन् । तिनीहरुप्रति हदैसम्मको घृणा थियो, त्यसैको परिणाम नै जेन जी आन्दोलन हो । जेन जीले पुराना दलका पुराना नेताको विस्थापन खोजेका थिए । हठी प्रधानमन्त्री केपी शर्मा ओलीको च्यूत पनि खोजेको थियो जेन जीले र सोही अनुसार उनले घुँडा टेके । दलहरु सच्चिनुपर्ने, सुध्रिनुपर्ने र पुनसंरचनामै जानुपर्ने गरी जेन जी आन्दोलनले ठूलो सवक दिएको छ । तर दलहरुको आवाजलाई बेवास्ता गरेर अघि बढ्दा सफलताको बिन्दु नभेटिन सक्छ भन्ने हेक्का राख्नु नै परिपक्वता हुन्छ ।
यसै पनि प्रधानमन्त्री कार्कीको नियुक्ति, उनले गरेको संसद विघटन र आमनिर्वाचनको घोषणा न्यायपालिकाको कसीमा घोटिने नै छन् । यी कुरालाई वैधता प्राप्त हुँदामात्रै कार्कीले आफूले गर्न चाहेको निर्वाचन कार्यान्वयन गर्न सक्नेछिन् । आवश्यकताको सिद्धान्त भनेर उनको नियुक्ति र निर्णय सदर होला कि नहोला भनेर अहिल्यै अनुमान गर्न सकिन्न । दलहरूले रिट दायर गरे भने सर्वाेच्च अदालतले संविधानको धारा ७६ र ८५ अनुसार विघटनको वैधानिकता जाँच्नेछ, जसमा प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको निर्णयको औचित्य मूल्यांकन हुन्छ ।
विगतका घटनाहरू जस्तै केपी ओलीको विघटनमा अदालतले पुनस्र्थापना गरेको थियो, जसले यो मामिलालाई पनि प्रभावित गर्न सक्छ । तर, कार्की स्वयं पूर्वप्रधानन्यायाधीश भएकोले अदालतले निष्पक्षतासाथ हेर्नेछ, र यदि विघटनलाई जनआन्दोलनको सन्दर्भमा वैधानिक ठहरियो भने कार्यान्वयन सहज हुनेछ । सबै पक्षसँग संवाद र सहमतिको बाटो अपनाएर नै कार्की अगाडि बढ्नुपर्छ ।
कार्कीको प्रधानमन्त्री बनेको परिस्थिति सामान्य छैन । न्यायपालिकामा तीन दशकभन्दा बढी अनुभव भएकी कार्कीका लागि कार्यपालिकाको नेतृत्व गर्नु नयाँ चुनौती हो । न्यायाधीशको रूपमा उनले स्वतन्त्रता र निष्पक्षताका साथ काम गरे पनि प्रधानमन्त्रीको हैसियतमा उनले राजनीतिक सहमति र व्यावहारिकताको साथ अगाडि बढ्नुपर्छ । यो संक्रमण आफैमा कठिन छ । संसद विघटनको निर्णयले गम्भीर संवैधानिक प्रश्न खडा गरिसकेको छ ।
राजनीतिक दलहरूले यसको विरोध गरिसकेका छन् र सर्वोच्च अदालतमा रिट निवेदन दायर हुने सम्भावना प्रबल छ । संसदविहीन अवस्थामा सरकार सञ्चालन गर्नुपर्छ जसको अर्थ नयाँ नीति निर्माण र कानुन पारित गर्ने क्षमता सीमित हुन्छ । राजनीतिक स्थिरता कायम गर्दै निर्वाचनको तयारी गर्नुपर्छ । अर्थतन्त्रको दिशा निर्धारण गर्ने ठूला निर्णयहरू लिन नसकिने अवस्था छ । तर अर्थतन्त्र उकास्न निजी क्षेत्रको मनोबल माथि लैजाने दायित्व पनि कार्की सरकारकै हो । कार्कीको प्रधानमन्त्री बन्नु नेपालमा पहिलो महिला प्रधानमन्त्री बनेको इतिहासमात्रै सीमित हुनुहुँदैन ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया