कार्यालय खरानी भयो, हाम्रो हौसला खरानी भएको छैन

किरण बराल २०८२ भदौ २९ गते १०:५२

यही भदौ २३ र २४ गतेको ‘जेन जेड आन्दोलन’ युवा पुस्ताको आवाज थियो । अधिकार र असमानताको विरुद्धमा उठेको ऐतिहासिक स्वर थियो । म, जेन जेड समूहले उठाएका यथार्थ र समयसापेक्ष मुद्दाहरूप्रति पूर्ण समर्थन प्रकट गर्छु । तर, आन्दोलनको क्रममा भएको केही घटनाहरूले हामी सबैलाई स्तब्ध र चिन्तित बनाएको छ ।


विशेष गरी, केही नियोजित घुसपैठ वा अराजक समूहद्वारा जनताको वडा कार्यालयमा आगजनी, सरकारी कागजातहरूको नष्टीकरण, सार्वजनिक सम्पत्ति ध्वस्त पारिनु र निजी तथा मानवीय क्षेत्रमा समेत क्षति पुग्नु अत्यन्तै दुःखद र निन्दनीय विषय हो । यी घटना स्वतस्फूर्त आन्दोलनभन्दा बाहिरको नियोजित काम जस्तो लाग्दछ, जुन मेरो व्यक्तिगत बुझाइ हो । आन्दोलनको मूल भावना र उद्देश्य सशक्त थियो, तर त्यस क्रममा भएको हिंसा र तोडफोडले आन्दोलनको गरिमा र सारमा आघात पु¥याएको छ ।


घाइते भएका, आहत भएका र कुनै न कुनै रूपमा पीडित भएका सम्पूर्ण नागरिकहरूप्रति म हार्दिक सहानुभूति प्रकट गर्दछु । तर अब, हाम्रो साझा कर्तव्य — हाम्रो वडालाई फेरि उठाउनु हो । हिजो कार्यालय जलेर खरानी भयो, तर हाम्रो हौसला खरानी भएको छैन ।

Advertisement

कागज जले, संरचना गयो, तर सेवाको भावना अझ बलियो भएर फर्किएको छ ।


कागज जले, संरचना गयो, तर सेवाको भावना अझ बलियो भएर फर्किएको छ । आज सबैभन्दा बढी हाम्रो आस्था जलेको छ । जहाँ वडाबासीको अभिलेख, मेहनत तथा सपना थियो । दिनरातको परिश्रमले उभिएको त्यो एउटा भवन मात्र थिएन । एउटा हाम्रो लागि मन्दिर बनिसकेको थियो । हामी सबैको नित्यकर्म त्यहीँबाट सुरु हुन्थ्यो । जहाँबाट वडाबासी सबैले नागरिक हुन पाएका थियौँ ।

Advertisement


आजको आवश्यकता दोषारोपण होइन, पुनर्निर्माण हो । वडालाई जोगाउन, आगो निभाउन र शान्तिपूर्ण समाधान खोज्न हरपल तत्पर रहनुभएका वडाबासी सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनीप्रति म हृदयदेखि आभार व्यक्त गर्दछु । तपाइहरूको साथले हामी छौ भन्न पाएका छौ ।


तपाईंहरूको साथ, सहयोग र संयमले नै मलाई फेरि उठ्न हिम्मत दिएको छ । अब समय आएको छ — गुनासो होइन, सहभागिताको । एकता र पुनस्र्थापनाको बाटो अवलम्बन गर्दै ’आफ्नो वडा, आफैं बनाउने’ अभियानमा जुट्ने घडीको । एउटा इँटा तपाईंको, अर्को मेरो — हामी सबै मिलेर फेरि वडाको नयाँ ढोका खोल्नेछौँ । जलेका कागजहरूलाई ज्ञानका नयाँ पानाले बदल्नेछौँ । हामी एउटा बिरुवा थियौँ । पात झर्छ पुनः पलाउँछ । हामी पनि त्यस्तै हौ । बिरुवाले पालुवा पलाउन नबिर्से जस्तै हामी पुनः उठ्नेछौँ ।


दुःखलाई शक्तिमा, पीडालाई प्रेरणामा रूपान्तरण गर्नेछौँ । हामी फेरि उठ्नेछौँ — अझ सशक्त भएर, अझ संगठित भएर । हाम्रो वडा, हाम्रो इज्जत — यसलाई अब हामी सबै मिलेर पुनर्निर्माण गर्छौँ । जय वडा नम्बर १३, जय पोखरा महानगर ।

बराल पोखरा महानगर १३ का वडाध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया