एकैसाथ डेंगी र सापुको जोखिम, कसरी जोगिने ?

राम थापा २०८२ भदौ २९ गते १७:१७

गण्डकी । पछिल्लो समय गण्डकी प्रदेशका विभिन्न जिल्लामा डेङ्गी र ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापु)को सङ्क्रमण देखिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयको पछिल्लो आँकडाअनुसार गत पुसयता प्रदेशका ११ वटै जिल्लामा गरी नौ सय ६४ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ ।

सबैभन्दा बढी कास्कीमा ५०३ र सबैभन्दा कम मुस्ताङ र मनाङमा एक/एक जनामा उक्त रोग देखिएको प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले बताए । यस्तै गत सातादेखि सापुको सङ्क्रमण देखिन सुरु गरेको छ ।

पोखरास्थित हिमालय आँखा अस्पतालमा सूचना अधिकारी कुमार गर्बुजाका अनुसार बागलुङको ढोरपाटन नगरपालिकाका दुई, कास्कीको रुपा र माछापुच्छ्रे गाउँपालिकाका एक/एक र लमजुङका एक गरी हालसम्म पाँच जना बिरामी अस्पताल भर्ना भई उपचार सेवा लिएका छन् । दुई जना निको भएर घर फर्केका बताए र तीन जना उपचारकै क्रममा रहेका बताए ।

Advertisement

आगामी कात्तिक/मङ्सिरसम्म डेङ्गी र सापुको सङ्क्रमण फैलने जोखिम उच्च रहने भएकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिए । दुवै रोगको सङ्क्रमण वर्षायामपछि बढी देखिने गरेको छ ।

हिमालय आँखा अस्पतालका मेडिकल निर्देशक डा बबिता गुरुङले सेतो पुतलीको संसर्गबाट लाग्ने सापुका कारण आँखाको दृष्टि गुम्न सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने बताए । ‘यो रोग लागेको ४८ घण्टादेखि ७२ घण्टासम्म उपचार नभएमा आँखाको दृष्टि नै गुम्न सक्छ’, उनले बताए ।

Advertisement

अस्पताल भर्ना भएकामध्ये आँखामा गम्भीर असर पुगेका तीन जनाको शल्यक्रिया गरिएको डा गुरुङले बताए । उनका अनुसार हालसम्म सापु रोग लाग्नुको मुख्य कारण सेतो पुतलीलाई मानिएको छ । अन्य जीवाणु र विषाणुका कारणले पनि यसको सङ्क्रमण हुने गरेको पाइएको छ ।

अस्पतालले सापुबाट जोगिन सेतो पुतलीको संसर्गबाट टाढै रहन, धेरै उज्यालो सेता बत्ती नबाल्न, साँझ र रातिमा घरको झ्यालढोका बन्द गर्न, बत्ती निभाएर झुलभित्र मात्र सुत्न, साँझपख बालबालिकालाई घर बाहिर जान नदिन सर्वसाधारणमा आग्रह गरेको छ ।

सापुको सङ्क्रमण भएमा एक्कासी एउटा आँखा मात्र रातो हुनु, चिप्रा लाग्नु, उज्यालोमा हेर्न नसक्नु, आँखामा सामान्य दुखाइ हुनु, आँखाको नानी सेतो हुँदै जानु, दृष्टि कमजोर हुनुलेगायत लक्षण देखिने बताए । ‘समयमै उपचार भएमा यो रोग पूर्ण रूपमा निको हुन्छ, शङ्कास्पद लक्षण देखिएमा तुरुन्त अस्पताल गई जाँच र उपचार सुरु गर्नुपर्छ’, उनले बताए । ‘उपचार ढिलो भएमा दृष्टि गुम्ने, आँखा सुक्ने खतरा हुन्छ ।’

असोजदेखि मङ्सिरसम्म सापुको सङ्क्रमण बढी देखिने बताए । पहिलोपटक सन् १९७५ मा पोखराको नारायणटारमा सापु रोग भेटिएको थियो ।

नेत्ररोग विशेषज्ञ डा मदन उपाध्यायले यो रोग पत्ता लगाउनुभएको थियो । नेपालको मध्यपहाडी क्षेत्रमा यो रोगको सङ्क्रमण बढी देखिने गरेको बताए । ‘दुई वर्षको अन्तरमा यो रोगको सङ्क्रमण देखिन्छ, सन् २०२३ पछि अहिले आएर बिरामी भेटिएका हुन्’, उनले बताए । ‘सन् २०२१ मा पनि धेरै जनामा यो रोग देखिएको थियो ।’

सापु लाग्नुको यकीन कारण अझै पत्ता नलागेको उल्लेख गर्दै उनले बिरामीको रगतबाट वंशाणुगत अध्ययन गर्ने तयारी भइरहेको जानकारी दिए । अहिलेसम्मको अध्ययनले बत्तीमा झुम्मिने कालो धर्सा भएको सेतो पुतलीको रौँ र झुस आँखामा पुग्दा सापुको सङ्क्रमण हुने भएको पत्ता लागेको बताए । जटिल अवस्थाका बिरामीलाई आँखाभित्र औषधिको सुइँ लगाएर शल्यक्रियामार्फत उपचार गर्ने गरिएको बताए ।

सापुको सङ्क्रमण समुदायमा फैलन नदिन स्वास्थ्यमा सजगता अपनाउनुपर्नेमा डा गुरुङले जोड दिए । सापुका बिरामीको हिमालय आँखा अस्पतालले निःशुल्क जाँच तथा उपचार गर्दै आएको छ । शल्यक्रियासहितका सबै सेवा निःशुल्क भइरहेको अस्पतालले बताए ।

पछिल्लो समय सापुसँगै डेङ्गीको सङ्क्रमणको पनि उच्च जोखिम रहेको धवलागिरि अस्पतालका चिकित्सक प्रभात सिंहले बताए । वर्षा रोकिएपछि घमाइला दिनमा यी रोगको सङ्क्रमण छिटो फैलने हुनाले सर्तकता अपनाउनुपर्नेमा जोड दिए । लामखुट्टेको टोकाइबाट बच्नु डेङ्गी सङ्क्रमणबाट जोगिने उत्तम उपाय भएको बताए ।

डेङ्गीबाट बच्न घर, कार्यालय र सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थान भेटिएमा नष्ट गर्नुपर्ने सुझाव दिए । डेङ्गी सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान लाग्नेलगायत लक्षण देखिए अस्पतालको विशेष निगरानीमा उपचार गर्नुपर्ने बताए ।

धेरैजसो डेङ्गीका बिरामी सामान्य उपचार र हेरचाहपछि निको हुने गरे पनि कतिपयमा यसले जटिलता ल्याउने गरेको उल्लेख गरे । डेङ्गीबाट ज्यान जोखिममासमेत पर्नसक्ने भएकाले सामान्य रोग हो भन्ने लापरबाही नर्गन सर्वसाधारणमा आग्रह गरे ।

डेङ्गी हुँदा शरीरलाई प्रशस्त झोलिलो पदार्थ र आरामको जरुरी हुने पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले बताए । डेङ्गी सङ्क्रमणका बेला आफूखुसी औषधि सेवन गर्न नहुने बताए ।

जनस्वास्थ्य निरीक्षक रेग्मीका अनुसार ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गी सर्छ । ‘चार प्रकारका भाइरसबाट मानिसमा डेङ्गी हुन्छ । उक्त लामखुट्टेले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा जन्माउने गर्दछ । यो लामखुट्टेले दिनमा मात्र टोक्ने हुँदा दिउँसोको समयमा बढी सावधानी अपनाउनुपर्छ’, उनले बताए ।

गत वर्षको तुलनामा यो वर्ष सङ्क्रमण दर कम देखिएपनि जोखिम भने अझै कायम रहेको जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए । पोखरा गत वर्ष डेङ्गीको ‘हटस्पट’ बनेको थियो । उक्त वर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार ६०० जनाभन्दा बढीमा डेङ्गी सङ्क्रमण भएको थियो । डेङ्गी सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको थियो । रासस

तपाईको प्रतिक्रिया