
विश्व इतिहासमा नेपाली युवा पुस्ताले एक चमत्कार गरेका छन् । २८ घण्टाभित्रै देशको शासन सत्ता नै पूरै उलटफेर गरेर देखाईदिएका छन् । भदौ २४ गतेअघि यो कसैको पनि परिकल्पनामा थिएन र अझै पनि धेरैलाई यो सपना जस्तै लागिरहेको हुनुपर्छ । जेन जी, जुन पुस्तालाई वर्तमान समाजले कुनै पनि कोणबाट राजनीतिसँग जोडेर हेरेको थिएन, जसले राजनीतिको र पनि उच्चारण गर्न चाहदैन भन्ने बुझाइ थियो, त्यही पुस्ताले राष्ट्रियमात्रै नभई विश्व राजनीतिमा नै अहिले तरंग मच्चाएको छ । यो कुनै भवितव्य भने अवश्य होइन । यो किन भयो, कसरी सभव भयो यस बिषयमा धेरै चर्चा परिचर्चा चलिरहेको छ र अझै लामो समयसम्म चलि नै रहनेछ ।
त्यो बिषयमा अब मलाई जानु छैन । भागवत गीताको अनुयायी भएको हुनाले मेरो दृष्टिकोण सधै एकै छ–जे भयो राम्रै भयो, जे हुँदै छ राम्रो हँुदै छ, र जे हुन्छ राम्रो नै हुन्छ । भूत काल हाम्रो हातमा छैन, वर्तमानमा हामीले गर्ने कामले हाम्रो भविष्य निर्धारण गर्छ । अब विगतमा भएका कुराबाट पाठ सिकेर अघि बढ्नुबाहेक हामी कसैसँग केही विकल्प पनि छैन । यो समयमा आएर किन यसो भयो, कसरी भयो भनेर टाउको दुखाउनुपर्ने अब पुराना राजनीतिक दलहरुले हो, कुनै पनि राष्ट्रप्रेमी नेपालीले होइन ।
हामीलाई अब शान्ति चाहिएको छ, भ्रष्टाचारमुक्त समतामूलक समाजको निर्माणमा लाग्नु छ र त्यसका लागि के गर्न सकिन्छ भनेर सोच्नुपर्ने बेला आएको छ । जेन जी आन्दोलनले भ्रष्टाचारीको भविष्य कस्तो हुन्छ भनेर त राम्रो झलक देखाइसकेको छ, अब सायद कुनै पनि नेता या कर्मचारीले भ्रष्टाचार गर्नु पूर्व हजार पटक सोच्न बाध्य हुने वातावरण त केही हदसम्म निर्माण भएको छ, तर त्यसलाई पूरै निमिट्यान्न पर्न कसरी सकिन्छ भनेर पनि सोच्न थाल्नु पर्छ ।
भ्रष्टाचार राष्ट्रको धमिरा हो, यही कारण नै नेपो बेबी ट्रेन्डका कारण चलेको वर्ग संघर्ष पनि जेन जी आन्दोलनको एउटा ऊर्जा थियो, कार्ल माक्र्सको वर्ग संघर्षको सिद्धान्त अनुसार नै यो जेन जी आन्दोलनले मुर्त रुप लिएको हो भनेर सहजै बुझ्न सकिन्छ ।
भ्रष्टाचारको जरा मजबुत गर्ने काम नेपालमा दलीयतन्त्रले गरेको हो भन्दा अत्युक्ति नहुने मेरो विचार छ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, ऊर्जामन्त्री दीपक खड्का, माओवादी सुप्रिमो प्रचण्ड लगायतका निवासमा जलेका पैसाका बिटा भ्रष्टाचारका साक्षी हुन् ।
नेतादेखि कर्मचारीतन्त्रमा हुने भ्रष्टाचारको मेरुदण्ड पुरातन राजनीति नै थियो । राजनीतिक दलको आडमा मौलाएको दण्डहीनता भ्रष्टाचारको पक्षपोषक थियो । दलीयतन्त्र हावी भइरहँदा राज्यमा हरेक क्षेत्रमा भ्रष्टाचारको बिगबिगी थियो । हरेक क्षेत्रमा भ्रष्टाचारलाई जन्माउने काम चुनावमा लड्न टिकट पाउनदेखि राज्यका जुनसुकै पदमा जान पनि चढाउनु पर्ने किस्ती हो । पैसा नखुवाई कुनै पनि पद या काम नहुने भएपछि बाध्यताले पनि धेरैलाई भ्रष्टाचारी बनाएको छ र यसको पालनकर्ता दलीयतन्त्र नै हो ।
पैसा नखुवाई कुनै पनि पद या काम नहुने भएपछि बाध्यताले पनि धेरैलाई भ्रष्टाचारी बनाएको छ र यसको पालनकर्ता दलीयतन्त्र नै हो
त्यसो भए त भ्रस्टाचार कहिले पनि सकिने भएन त ? लोकतन्त्रमा राजनीतिक दल त अपरिहार्य नै हो भन्ने हाम्रो बुझाई र अभ्यास पनि त्यही नै छ । राजनीतिक दल बिनाको लोकतन्त्रको परिकल्पना त राजनीति शास्त्रले पनि गरेको छैन, हामीले कसरी गर्न सक्छौं र ? यो प्रश्न स्वाभाविक हो ।
राजनीतिशास्त्रकै विद्यार्थी भएर पनि आज म एउटा छुट्टै अभ्यासको बारेमा विचार गर्दै छु, सम्भावनाको खोजी गर्दै छु । विश्वमा दल विहीन राष्ट्रहरु त छन्, तर अधिकांशमा राजतन्त्र छ । जस्तै बहराइन, कुवेत, ओमन, कतार, साउदी आदि । विश्वमा लोकतान्त्रिक गणतन्त्र भएर पनि दल विहीन दुई राज्यहरु छन्–माइक्रोनेसिया र पलाउ । दुवै साना साना टापु मिलेर बनेका राज्यहरु हुन् जहाँ प्रत्यक्ष कार्यकारी राष्ट्रपति निर्वाचनबाट चुनिन्छन, उनले गैर सांसद मन्त्रीहरु बनाउछन, संसद पनि स्वतन्त्र उठेर आउछन् ।
यसबाट व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाइ स्वतन्त्र रुपले काम गर्ने वातावरण बन्न जान्छ । वर्तमानमा हाम्रो देशमा कार्यपालिकाको हरेक क्षेत्रमा बर्चस्व देखिन्छ र कार्यपालिकामा राजनीतिक पार्टीको । त्यसैले दलीयतन्त्र स्वेच्छाचारी भएको अवस्था हो । यसलाई सन्तुलनमा ल्याउन प्रत्यक्ष कार्यकारी राष्ट्रपति, मन्त्रिपरिषद स्वतन्त्र रुपले कार्यकारीले छान्न पाउने, संसद पनि पूरै स्वतन्त्र रुपले निर्वाचनमा जान पाउने भएमा किस्ती प्रथा उन्मूलन हुन जान्छ । यसले गर्दा भ्रष्ट्राचारको जरा नै पलाउन नदिने आकलन गर्न सकिन्छ ।
कार्यपालिका र व्यवस्थापिका दुवै गैर दलीय हुनेबित्तिकै न्यायपालिका पनि स्वतन्त्र हुने सम्भावना स्वतः हुन जान्छ । यसले गर्दा कुनै पनि दलीय भातृ संगठनहरुको आवश्यकता पर्दैन, जसले गर्दा हामीले परिकल्पना गरेको जस्तो कर्मचारीतन्त्रदेखि विद्यालय होस् या अस्पताल, कतै पनि दलीय भागबन्डामा नियुक्ति हुने सम्भावना हुँदैन । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा स्वतन्त्र उम्मेद्वारहरुमात्रै उठ्न पाउने व्यवस्था गर्न सकिन्छ । प्रतिनिधि सभामा उम्मेदवार हुन हालको योग्यता नै राख्न सकिन्छ तर राष्ट्रिय सभामा हरेक क्षेत्रका विज्ञहरुमात्रै उठ्न पाउने योग्यता राखेर दुवै सदनलाई उत्तिकै महत्वपूर्ण र जिम्मेवार बनाउन सहजै सकिन्छ ।
हामीले, जेन जीले सोचेको नयाँ नेपाल पनि त त्यही नै हैन तः भ्रष्टाचार मुक्त देश !

डा सञ्जय कोइराला
नाक कान घाँटी रोग विशेषज्ञ डा कोइराला राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै छन् ।







मनाङको हिउँमा बेपत्ता भारतीय २ पर्यटकको शव भेटियो, उनीहरु बाबुछोरी रहेको पुष्टी
बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया