जेनजी आन्दोलनमा ड्युटीमै अस्ताए हवल्दार गुरुङ

प्रमिला कुँवर २०८२ असोज १ गते १५:५२

पोखरा ।
त्यो दिन पनि अमृत गुरुङ ड्युटीमै खटिएका थिए । शरीर रुघाखोकीले थलिएको थियो, तर उनको आत्मबल बलियो थियो । राती २ घण्टा मात्र सुतेर उनी रातभरी निरन्तर ड्युटीमै रहे । भदौ २४ गते, उनी कार्यरत प्रहरी प्रभाग कोटेश्वरमा परिस्थिति अचानक तनावपूर्ण बन्यो । जेनजी आन्दोलनकारीको समूह एकाएक आक्रमणकारी रुपमा अघि बढ्यो । आन्दोलन हिंसात्मक भइसकेको थियो । प्रहरीमाथि ढुंगामुढा सुरु भयो, भीड नियन्त्रण बाहिर गइसकेको थियो ।


प्रहरीहरुले शान्त गर्न खोजे, तर भीड अझ आक्रामक बन्यो । प्रहरी विभागभित्र छिरेका आन्दोलनकारीले हातहतियार खोसेर उल्टै प्रहरीमाथि प्रहार गर्न थाले । प्रहरी भीडलाई रोक्न सकेन । भीडको झुण्डभित्र प्रहरीहरु तितरबितर भए । आन्दोनलकारीले प्रहरी कार्यालयमा आगजनी गरे । केही प्रहरीलाई कुटपिट गर्दै सडकसम्म घिसारेर ल्याए । चर्का नारा, धुँवा र भीडबीच प्रहरी निरही बन्यो ।


त्यसपछि अमृतको सम्पर्क टुट्यो । साथीहरूले उनलाई खोज्न थाले, तर केही थाहा भएन । परिवारले फोन गरिरहे, तर मोबाइल उठेन । अमृतकी श्रीमती कान्ति गुरुङको मन दिनभरी बेचैन थियो । प्रहरी सेवामा रहेका उनका श्रीमान अमृत गुरुङको फोन आउँछ कि भनेर मोबाइलतिर नजर लगाइरहिन् । तर प्रतिक्षामा पुरा भएन । छटपटिमा रातभर बित्यो तर खबर आएन । एकपल पनि उनी निदाउन सकिनन् ।

Advertisement


भोलिपल्ट २५ गते फोनले खबर सुनायो, अमृत अब कहिल्यै फर्कनेछैनन् । कान्तिको संसार भत्कियो । ‘अघिल्लो रात १० बजेतिर फोनमा कुरा भएको थियो । १२ बजे उठर डिउटीमा जानुछ भन्नुभएको थियो । अर्काे दिन बिहान ६ बजे फोन गरेर अफिसमै रहेको र आन्दोलनमा जान पर्ने भएमा जाने भन्नुभएको थियो,’ कान्तिले भनिन् ।


सेवामा रहेकै समयमा रुपा गाउँपालिका ५ का ३१ वर्षीय प्रहरी सहायक हवल्दार गुरुङ प्रदर्शनकारीको आक्रमणमा परे । उनी भाग्न खोज्दा पनि जोगिएनन् । कुटपिटबाट सख्त घाइते भएका उनलाई दिउँसो १ः३० मा बीएन्डबी अस्पताल पुर्‍याइएको थियो । अस्पतालले ४ः४५ मा मृत घोषणा गर्‍यो । उनको शव २७ गते मा घर आइपुग्यो र २८ गते उनको अन्त्यष्टि गरिएको हो ।

Advertisement

अमृतले न्याय पाउनैपर्छ, अपराधीलाई कडा कारबाहि गरिनुपर्छ । उनको बलिदान र परिवारले भोगेको पीडाको सहि मूल्यांकन हुनुपर्छ ।


उनको अन्तिम पटक अमृतसँग कुरा बिहान साढे १० बजे भएको थियो । त्यसपछि उनी सम्पर्कविहिन भए । सोसल मिडियामा आन्लोलनकारीले जताततै आगजनी गरेको, प्रहरी कार्यालय जलाएको, प्रहरीलाई कुटेको समाचारले मनमा त्रास थपेको उनले बताइन् । ४ बजेदेखि अमृतलाई फोन गर्न थालिन् तर फोन उठेन, उनको मनमा चिसो पस्यो ।


अमृतका सहकर्मीसाथी तथा प्रहरी कार्यालयमा लगातार फोन गरेर अमृतको अवस्थाको बारेमा बुझिरहिन् । कसैले पनि प्रस्ट जानकारी दिन नसकेको उनको भनाइ छ । २५ गते बिहान प्रहरी प्रभाग कोटेश्वरका इन्चार्जसँग कुरा भयो उनले ३/४ जना प्रहरी सम्पर्कमा नभएको बताएको उनले भनिन् । हराएकालाई खोजीरहेका बताएका थिए ।


‘रातभरी फोनको प्रतिक्षामा बसें । कतै सबै ठिक छ भन्ने खबर आउँछ कि भनेर । कतै लुक्नु भएको होला सुरक्षित हुनुहोला भन्ने मनमा लागिरह्यो । इन्चार्जसँग दिउँसो ३ बजेतिर कुरा हुँदा अहिले बोल्न मिल्दैन भन्नुभएको थियो रे । उहाँ (अमृत)को सबै सामान जलेको छ रे । सामान पाउने आस छ जुन अमृतको चिनोको रुपमा रहनेछ ।’ कान्तिले भनिन् ।


पारिवारिक जिम्मेवारीका कारण गुरुङले प्रहरी सेवाको जागिर रोजेका थिए । गुरुङ २०७० असोज १५ गतेदेखि नेपाल प्रहरीको सेवामा थिए । पाल्पा, मुगु, सुर्खेत हुँदै दुई वर्षदेखि काठमाडौंमा कार्यरत थिए । घरमा बाजे र बुबा छन् । ९ महिना अघिमात्र ब्रेन ह्यामरेजका कारण आमाको मृत्यु भइसकेको छ भने, दिदीबहिनीको बिहे भइसकेको छ । घरको आधारस्तम्भ बनेर अमृतले परिवारको भार काँधमा बोकेर हिँडेका थिए ।


२०७७ सालमा कान्ति गुरुङसँग उनको प्रेम विवाह भयो । प्रेमलाई वैवाहिक बन्धनमा बाँध्दा दुवै जनाले सुनौलो भविष्यको सपनामा सजाएका थिए । उनीहरुको दुइ वर्ष छोरा छ । कान्तिले भनिन, ‘छोराले ‘आमा’, ‘बाबा’ भनेर बोली फुटाउँदैछ । उहाँले छोरालाई धेरै माया गर्नुहुन्थ्यो । तर परिवारसँग बिताएका पल निकै थोरै छन् । ड्युटी, जिम्मेवारी र परिवारबीच दौडिरहेको अमृतको जिन्दगी कहिल्यै सजिलो थिएन ।’


कान्तिको आग्रह छ, ‘न्याय पाउनैपर्छ, अपराधीलाई कडा कारबाहि गरिनुपर्छ ।’ अमृतको बलिदानको र परिवारले भोगेको पीडाको सहि मूल्यांकन हुनुपर्ने उनको भनाइ छ । अमृतको असामयिक निधनले उनको जीवनमा गहिरो शून्यता ल्याएको छ । तर पनि श्रीमानले आफ्नो जीवन समाज र कर्तव्यका लागि बलिदान गरेकोप्रति उनलाई गर्व छ ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया