सम्पादकीय—दलहरु चुनाव केन्द्रित बन

समाधान संवाददाता २०८२ असोज २ गते ११:५७

जेनजी आन्दोलनपछि देश नयाँ राजनीतिक परिवेशमा पुगेको छ । एक हप्ताभित्र मुलुकमा धेरैले कल्पना नै नगरेको राजनीतिक उथलपुथल देखियो । भदौ २३ गते जेनजी पुस्ताका नवयुवामाथि क्रूर दमनमा राज्य उत्रिएपछि स्थिति हिंसात्मक बन्न पुग्यो । जसको कल्पना कसैले गरेका थिएनन् । आन्दोलनकारी पक्षबाट पनि कमी, कमजोरी भए देखिए, घूसपैठियाहरुले स्थितिलाई उत्तेजक बनाए । तर राज्यका सुरक्षा अंगले नागरिकलाई छातीमा सुरक्षा दिन उचित रणनीति अपनाउन सकेको देखिएन ।

टाउकोमा ताकी–ताकी गोली हान्ने अत्यन्तै बर्बर शैलीको दमन गर्दा अहिलेको परिस्थिति आएको हो । युवाले उठाएको सामान्य खालका मागलाई समयमै सम्बोधन नगर्ने हठी शासकहरु यति बेला पश्चाताप गर्दै छन् ।समयमै बुद्धि पुर्‍याएको भए यो परिस्थिति आउने थिएन । थुप्रै प्रतिकूलताका वावजुद पनि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्रीत्वमा सरकार बनेको छ । आगामी फागुन २१ गते चुनाव घोषणा भएकाले अब राजनीतिक दलहरु निर्वाचनमा लाग्नुको विकल्प छैन ।


प्रतिनिधिसभा विघटन भएकोमा कांग्रेस, एमाले र माओवादीले आपत्ति जनाउनु स्वाभाविक छ । किनभने यसबाट उनीहरुको तलब, भत्ता बन्द भएको छ, पदहरु गएका छन् । संघीयतापछि पनि उनीहरुले प्रतिनिधिसभालाई तमासा देखाउने थलो बनाएका थिए । पटक पटक सरकार फेरिए पनि पात्रहरु भने तीन जनामै केन्द्रित भयो । गणतन्त्रको प्रतीक र संविधानको संरक्षक राष्ट्रपति संस्था रहँदासम्म प्रतिनिधिसभा आवश्यक परे ब्यूँतन सक्छ । प्रतिनिधिसभा ब्यूताएर ऐतिहासिक निर्णयहरु गरिएको पनि इतिहास छ । राज्यका अंगहरु कब्जा गरेर भ्रष्टाचार र कुशासन चलाउने र निहत्था युवालाई मारेर शासनको अभ्यास गर्नेहरु इतिहासमा कलंकित भइसकेका छन् । अब दलहरु जनतामा जानुपर्छ, पार्टीलाई पुनर्गठन गर्दै जनताको अपेक्षाअनुरुप चलाउनुपर्छ ।

Advertisement

विद्रोह वा आन्दोलनले सफलता प्राप्त गरेपछि राजनीतिक रुपमा त्यसको व्यवस्थापन गर्नैपर्ने हुन्छ । अहिले पनि बीचको बाटोबाट समाधान खोजिएको बुझ्न सकिन्छ । हाम्रा शासकले ठीक ढंगले राज्य सञ्चालन गर्न नसक्दा पटक–पटक आन्दोलन वा विद्रोहको परिस्थिति बनेको छ । जेनजी युवाले अहिले उठाएका मुद्दाहरु सही हुँदा नै उनीहरु अहिले राज्य सत्तामा स्थापित हुने प्रक्रियामा छन् । राम्रो काम गर्न नसके र आपसी एकता बलियो बनाउन नसके भोलि उनीहरु असफल पनि हुन सक्लान् ।

दुई दलीय अभ्यास गर्छौै भन्ने अराजनीतिक भाषणहरु अब असान्दर्भिक भएका छन् । प्रमुख राजनीतिक दलहरुले एउटा धक्का खाएका छन् । आत्मसमीक्षा गर्न सकेनन् र पार्टी पुनर्निर्माण गर्न सकेनन् भने आगामी चुनावमा उनीहरुको अस्तित्व नै खतरामा पर्न सक्छ । भर्खरै भएको विद्रोहमा युवाको त्यागको सम्मान गर्दै राजनीतिक दलहरु चुनावको तयारीमा लाग्नु श्रेयस्कर हुन्छ । फेरि यो सरकार विघटन गर्ने र आफूहरु सत्तामा पुग्ने दिवास्वप्न उनीहरुले त्याग्नैपर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया