सम्पादकीय—संविधानको रक्षाः आजको आवश्यकता

समाधान संवाददाता २०८२ असोज ३ गते १२:१२

नेपालको संविधान २०७२ जारी भएको असोज ३ गतेलाई हामी संविधान दिवसका रूपमा मनाउँदै आएका छौं । यो दिवस संविधान निर्माणको ऐतिहासिक क्षणको स्मरण मात्र नभई, देशमा लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशिताका आधारभूत सिद्धान्तहरूको पुनरावलोकन गर्ने अवसर पनि हो । हालसम्म विभिन्न समयमा ६ वटा संविधानहरू लागू भइसकेको नेपालमा, २०७२ को संविधानले नेपाली समाजको विविधता र बहुलतालाई आत्मसाथ गर्दै सामाजिक न्याय र समावेशी विकासको मार्गचित्र कोरेको छ । यस वर्ष सरकार, राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रमुख राजनीतिक दलहरूले संविधान दिवस मनाउने तयारी गरिरहेका छन् । तर, जेनजी युवा आन्दोलन र त्यसपछिका राजनीतिक उथलपुथलले यसपटकको संविधान दिवसलाई ‘संविधानको रक्षाका लागि खबरदारी’ गर्ने विशेष अवसरका रूपमा उभ्याएको छ ।


संविधान प्रारम्भ भएपश्चात् अभ्यासमा देखा परेका सबल र दुर्बल पक्षहरूको समीक्षा गर्दै राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदअनुकूलको कानुन निर्माण गर्ने विषय विगतमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सात बुँदे सहमतिमा समेटिएको थियो । सहमति अनुसार बनेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएको र प्रतिनिधि सभा विघटन भएको विषम परिस्थितिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बनेको छ ।

संविधान संशोधन गर्ने प्रतिनिधि सभा नभएको अवस्थामा अहिले संविधान संशोधनभन्दा पनि संविधानको रक्षालाई प्रमुख सवाल बनेको छ । संविधान जारी भएको एक दशक पुग्नै लाग्दा, समयानुकूल पुनरावलोकन, परिमार्जन तथा संशोधनको आवश्यकता महसुस गरिनु स्वाभाविक हो । तथापि, वर्तमान परिस्थितिमा संविधानको मर्म र भावनामाथि कुनै पनि किसिमको प्रहार हुन नदिनु नै अहिलेको प्राथमिक दायित्व हो ।

Advertisement


जेनजी युवा आन्दोलनपछि रक्षात्मक अवस्थामा पुगेका प्रमुख राजनीतिक दलहरूले आ–आफ्नो तरिकाले संविधान दिवस मनाउने तयारी गरेका छन् । उनीहरूले नयाँ सरकारबाट लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण हुनसक्ने आशंकामा संविधान रक्षालाई नै केन्द्रमा राखेर दिवस मनाउने जनाएका छन् । शान्तिपूर्ण तरिकाले संविधान हातमा लिएर संयमतापूर्वक र दृढतापूर्वक संविधानको रक्षा गर्ने जिम्मेवारीलाई शिरमा राखेर दिवस मनाउन उनीहरूले सर्कुलर जारी गरेका छन् । आन्दोलनका नाममा संवैधानिक व्यवस्थालाई कमजोर बनाउन सुनियोजित षड्यन्त्र भइरहेको छ । यस्तो अवस्थामा संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि वृहत् अभियान गर्नु आवश्यक छ ।


संविधानमाथि खतरा पैदा भएको भन्दै हालसम्मको राजनीतिक उपलब्धि रक्षाका लागि खबरदारीसहित संविधान दिवस मनाउनुपर्ने आवश्यकता टड्कारो देखिएको छ । ठूलो बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै, संघीय लोकतान्त्रिक व्यवस्था बचाउँदै र आन्दोलनको नाममा हुने अराजकताको विरोध गर्दै युवा आन्दोलनको मूल मर्मलाई सम्बोधन गर्न आह्वान गरिनु अहिलेको सन्दर्भमा सान्दर्भिक छ । यो परिस्थिति संविधानको रक्षा र यसका आधारभूत मूल्यमान्यताप्रति नेपाली जनताको अटूट विश्वासको प्रतीक हो । संविधान दिवस मनाउनुको अर्थ केवल एक दिनको उत्सव मनाउनु मात्र होइन, बरु संविधानले परिकल्पना गरेको समाज निर्माणका लागि निरन्तर प्रतिबद्ध रहनु हो ।

Advertisement

तपाईको प्रतिक्रिया