जेन जी आन्दोलन र अर्थतन्त्र

नेपालको सडक फेरि एकपटक युवा ऊर्जाले भरिएको छ, जुन सन् १९९७ देखि २०१२ बीच जन्मिएका पुस्ताले नेतृत्व गरेको ऐतिहासिक आन्दोलन हो । यसले भ्रष्टाचारविरुद्ध, सामाजिक सञ्जाल प्रतिबन्धको विरोध र राजनीतिक परिवर्तनको माग गर्दै दुई तिहाइको सरकार ढालेर अन्तरिम सरकार गठनसम्म पुर्यायो । अकल्पनीय राजनीतिक परिवर्तन भयो तर नेपालको अर्थतन्त्रमा यसले छोडेको असर अझै गहिरो रह्यो । आन्दोलनका क्रममा देखिएका दृश्यहरू, सरकारी भवनमा आगजनी, निजी उद्योगमा तोडफोड, सडकमा निरन्तर जुलुस र बन्दले नेपाललाई ठूलो आर्थिक क्षति पुर्यायो ।
नकारात्मक प्रभावहरु
लगानीमा धक्काः विदेशी तथा निजी लगानीकर्तामा त्रास फैलियो । चौधरी ग्रुप, आइएमई ग्रुप, भाटभटेनी सुपरमार्केट, हिल्टन होटल र एनसेलका कार्यालयमाथि भएको आक्रमणले पुँजीको सुरक्षा गम्भीर प्रश्नमा ल्यायो । यसले पुँजी पलायनको जोखिम बढाएको छ ।
व्यापार र बजारः निजी क्षेत्रमा आधा खर्बभन्दा बढी क्षति भएको अनुमान छ । बिमा दाबी मात्र ५० अर्ब नाघ्ने देखिन्छ । बजारमा व्यापार ठप्प हुँदा सेयर बजारमा ठूलो गिरावट आयो, लगानीकर्ताको मनोबल खस्कियो । रोजगारीमा असरः हजारौँले रोजगारी गुमाए । भाटभटेनीले मात्र करिब ५,००० भन्दा बढी कामदार प्रभावित पारेको उदाहरण ठूलो हो । यो असर परिवारको दैनिक जीवनसम्म पुगेको छ ।
सरकारी खर्च र राजस्वः पुँजीगत बजेट पुनर्निर्माणमा मोडिन बाध्य भयो । राजस्व सङ्कलनमा गिरावट देखिएको छ भने वैदेशिक ऋण निर्भरता अझ बढ्ने सङ्केत छ । अन्य क्षेत्रहरु पर्यटन, स्वास्थ्य संरचना र सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ । चाडपर्वमा भुक्तानी चक्र नै अवरुद्ध भयो, जसको असर आम नागरिकले महसुस गरे ।
सकारात्मक प्रभावहरु
भ्रष्टाचारविरुद्ध जागरणः यो आन्दोलनको मूल आत्मा नै भ्रष्टाचारविरोध थियो । यदि अन्तरिम सरकारले सुशासनलाई प्राथमिकता दियो भने दीर्घकालमा यसले अर्थतन्त्रलाई नै सुदृढ तुल्याउनेछ । नयाँ नेतृत्व र सोचः युवाले देखाएको ऊर्जा र डिजिटल पुस्ताको जागरण राजनीतिमा नयाँपन ल्याउन सक्छ । यो सकारात्मक शक्ति बनेर राज्य व्यवस्थामा सुधार ल्याउने सम्भावना छ ।
पुनर्निर्माणको अवसरः ध्वस्त भवन र संरचनालाई योजनाबद्ध पुनर्निर्माण गरेर व्यवस्थित बसोबास, नयाँ उद्योग र रोजगारी सिर्जना गर्न सकिन्छ । यसले छोटो अवधिमा अर्थतन्त्रलाई गति दिनेछ ।
आन्दोलनको परिणाम स्वरूप बनेको अन्तरिम सरकारले यदि युवाको अपेक्षा सम्बोधन गर्न सक्यो भने यो अस्थिरता लामो समय टिक्ने छैन । निजी क्षेत्रमा आत्मविश्वास बढाउन क्षतिपूर्ति, लगानी प्रोत्साहन र पारदर्शी नीति जरुरी छ । छिमेकी मुलुकसँग सहकार्य, सूचना प्रविधि क्षेत्रमा लगानी र पर्यटनलाई पुनः जीवित गर्न सकिने सम्भावना अझै बाँकी छ ।
जेन जि आन्दोलनले तत्काल अर्थतन्त्रलाई सङ्कुचनमा पारेको छ । लगानीकर्ताको विश्वास घटेको छ, रोजगारी गुमेको छ र सरकारी राजस्वमा दबाब बढेको छ । तर यसले नेपाली समाजमा भ्रष्टाचारविरोधी चेतना जगाएको छ, नयाँ नेतृत्वको आवश्यकता देखाएको छ र पुनर्निर्माणमार्फत नयाँ अवसर सिर्जना गर्ने ढोका खोलेको छ । प्रश्न यत्ति हो, के अन्तरिम सरकार र हामी सबैले यो सङ्कटलाई अवसरमा बदल्न सक्नेछौँ? यदि हो भने, आजको पीडा भोलिको सम्भावनाका रूपान्तरित हुनेछ ।
चापागाईं जनज्योति क्याम्पस, भीमाद–६, तनहुँका उप प्राध्यापक हुन् ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया