सम्पादकीय—प्रदेश सरकारले हेर्नुपर्ने ऐना

जेन–जी आन्दोलनले नेपालको केन्द्रीय सत्ता परिवर्तन गर्याे प्रतिनिधि सभा विघटन भयो । प्रदेशहरु भने जीवितै छन् । कतिपयले प्रदेश संरचना खारेजीको दुवाली पनि यसैबेला थापेका थिए, तर धमिलो पानीमा माछा मार्न खोज्नेहरुको सपना पूरा भएन । जेन—जीले यही संविधानको निरन्तरता चाहे । सोही कारण संविधानतः व्यवस्था भएको प्रदेश संरचना निरन्तर छ । जेन—जीले यस मामलामा बुद्धिमत्तापूर्ण विवेक प्रयोग गरेको छ । अहिलेको संविधानको निरन्तरताले नेपालको लोकतान्त्रिक र संघीय प्रणालीलाई कायम राखेको छ, यसलाई सकारात्मक मान्नुपर्छ । तर यसको मतलब यो होइन कि प्रदेश संरचनाका कारण नेपालीमा खुसीमात्रै छाएको थियो ।
राजनीतिलाई फोहोरी खेल बनाउने र संघीयताको बदनाम गराउने काममा प्रदेश संरचना र सरकारहरुको ठूलो भूमिका छ । तसर्थ जेन—जीले चाहेको प्रदेश संरचनामा पनि सुधार थियो भन्ने भुल्न हुँदैन । संविधान दिवसका दिन गण्डकी प्रदेशका शीर्ष नेताहरुको अभिव्यक्ति सुन्दा भने सुधारको गुञ्जायस भेटिएन, जुन बिडम्वनापूर्ण हो । जस्तो संघमा सिद्धान्त र निष्ठा विपरीतका गठबन्धन गर्ने, सरकार फेरेको फेर्यै गर्ने हर्कतहरु दलहरुले गरे, त्यही उपक्रम प्रदेशहरुमा पनि चलेको हो । नेता र ठूलाबडाका क्षेत्रमा बजेट हाल्ने, टुक्रे बजेटका कनिका छर्ने र ठोस उपलब्धि नदिने उपक्रममा प्रदेशहरु पनि कम्ती रहेनन् ।
सातवटै प्रदेशका प्रादेशिक संरचनामा भएको आक्रमण प्रदेशहरुले गरिरहेको कामप्रतिको आक्रोश र असन्तोष हो भनेर बुझिन्न भने त्यो अर्काे भूल हो । हो, विध्वंसलाई कसैलाई स्वीकार्न सक्दैन । ध्वंस हुनु हुँदैनथ्योमात्रै होइन, ध्वंस गर्नेलाई खोजीखोजी कारबाही पनि गर्नुपर्छ । तर प्रदेश सरकारहरुमा पनि सुधारको खाँचो छ । ‘सिंहदरबारको अधिकार गाउँगाउँमा’ भन्ने नारालाई प्रदेश र पालिकाहरुले सिंहदरबारको भ्रष्टाचार गाउँगाउँमा शैलीमा नउतारेका होइनन् । प्रदेश सरकारहरूमा कतिसम्म अस्थिरता भयो भने २ वटा कार्यकालमात्रै बिताएका प्रदेशहरुमा हुनुपर्ने त २/२ जना मुख्यमन्त्री हो, तर भएका ६/७ जना । मन्त्री बन्ने वा सांसद बन्ने खेल पैसाको सौदाबाजीमा चलेका छन् भन्ने आम बुझाइ छ । गण्डकी प्रदेशमै पनि ४ जना मुख्यमन्त्री भइसकेका छन् । ७ पटक सरकार परिवर्तन भएको छ । जनताले प्रदेश सरकारहरूको अस्थिर चरित्र चाहेका थिएनन् ।
विकासभन्दा कुर्सीको खेल बढी होस् भनेर चाहेका थिएनन् । वामे सर्दै गरेको विश्वविद्यालयमाथि राजनीति नहोस् भन्ने जेन—जी र आम जनताको चाहना थियो । जनताले विज्ञान र प्रविधिका प्रतिष्ठानहरु खारेज गर्ने तर सांसदका खल्तीका योजनामा बजेट हालियोस् भन्ने चाहेका थिएनन् । कम्तीमा पनि जेन—जी पुस्ताले विज्ञान र प्रविधिको तेजोबध चाहेको थिएन । यो पुस्ता नै विज्ञान प्रविधिसँग अभ्यस्त पुस्ता हो । खर्च कटौतीका नाममा विज्ञान प्रतिष्ठान खारेज गर्ने तर सांसदका टुक्रे योजनामा कनिका छर्ने बठ्याइँ गर्दै जनतालाई मूर्ख बनाउने खेल गण्डकी प्रदेशले खेलेको जेन—जी पुस्तालाई थाहा छ ।
आपराधिक पृष्ठभूमिका व्यक्तिलाई पनि मन्त्री बनाउन तयार हुने तर युवाले रोजगारीको माध्यम बनाएको राइड सेयरिङलाई वैधता दिने कानुन ल्याएर पनि यातायातको सिन्डकेटका अघि घुँडा टेक्ने प्रदेश सरकारको कमजोरी छिपेको छैन । मन्त्री बन्न सरकारलाई समर्थन गर्ने तर युवाले आन्दोलन गरेपछि पानीमाथिको ओभानो बन्न राजीनामा दिने साना दलका सांसद÷मन्त्रीदेखि सरकारमा जान वा बसिरहन सिद्धान्तलाई लत्याउने ठूला दलको हर्कत जनताले नियालेकै थियो र छ । दोष संघ सरकारलाई दिने तर आफ्नै बजेट कार्यान्वयन गर्न नसक्ने कमजोरी र अकर्मण्यतालाई जनताले नियालेकै छ ।
तर गण्डकीका नेताहरु अझै सुधार गर्छाैं, सुध्रिन्छौं भन्न सक्दैनन् र प्रदेश उनीहरुबाटै शासित हुन अभिशप्त हुन्छ भने ठूलो बिडम्वना हो । नेताहरुले भन्न सक्नुपर्छ, प्रदेश सरकारको कार्यशैली बदल्छौं । जनतामा केन्द्रित हुन्छौं र जनतालाई प्रदेश सरकार नजिकको र भरोसालाग्दो सरकार हो भन्ने प्रत्याभूति दिन्छौं । त्यसैअनुसार बदलिनु पनि पर्छ । प्रदेश सरकारले पनि ऐनामा आफूलाई हेर्नुपर्छ । जेन—जी आन्दोलन संघ सरकारको कुशासनको विरुद्धमात्रै थिएन, प्रदेशहरुको कमजोरीका विरुद्ध पनि थियो ।







मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया