सम्पादकीय—दसैं, च्यांग्रा र जीवनशैली

समाधान संवाददाता २०८२ असोज ६ गते ११:२४

पोखरा, दसैं र च्यांग्रा अहिले प्रायः समानार्थी जस्तै बनेका छन् । दसैं नजिकिँदै जाँदा पोखराका जौबारी, याम्दी र हेमजाजस्ता क्षेत्रमा भेडाच्यांग्राको बथान देखिनु अब कुनै नयाँ कुरा रहेन । हिमालपारिबाट छेउछाउका गाउँलेहरूले हप्तौंको पैदल यात्रापछि ल्याउने यी भेडाच्यांग्रा केवल मासुको स्रोत मात्र होइनन्, पोषण, परम्परा र ग्रामीण अर्थतन्त्रसँग जोडिएको एक महत्वपूर्ण कडी पनि हो । च्यांग्राको मासुलाई स्वादिष्ट मात्र नभई पौष्टिक पनि मानिन्छ । हिमालको चिसो हावापानी र जडीबुटीमा चरिएका यी पशुहरूको मासुमा उच्च गुणस्तरको प्रोटिन, आइरन र आवश्यक अमिनो एसिड पाइन्छ । धेरै परिवारका लागि यो वर्षमा एकपटक भए पनि पोषणयुक्त मासु उपभोग गर्ने अवसर हुन्छ । दसैंलाई ‘च्यांग्राको मासु नखाई अपूर्ण’ भन्ने भनाइले पोषणसँगै सामाजिक संस्कारलाई पनि जोडेको छ ।


दसैं नेपाली जीवनशैलीमा मात्र नभई भावनामा पनि गहिरो छाप छोड्ने पर्व हो । देवीपूजादेखि परिवारसँग भेटघाटसम्म र सँगै च्यांग्राको मासु पकाउने र बाँड्ने संस्कारले पर्वलाई विशेष बनाउँछ । पोखराको बजारमा भिडभाड, ‘सिंगै किन्न नसक्नेले मिलेर भए पनि लैजाने’ प्रथा, र मासु बाँड्ने चलनले हाम्रो सामूहिक संस्कृतिलाई अझ प्रष्ट पार्छ ।


भेडाच्यांग्राको व्यापार दसैंमा हिमाली भेगका कृषक र व्यापारीहरूको मुख्य आयस्रोत हो । मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, बझाङदेखि लिइएका भेडाच्यांग्राले स्थानीयलाई नगद आम्दानी दिन्छ । व्यापारलाई समयमै बजार पु¥याउनेहरूले राम्रै नाफा कमाउँछन्, र यही कमाइले उनीहरूलाई लत्ताकपडा, अन्नपात खरिद गर्न सहज बनाउँछ । पोखरा जस्ता सहरमा भने यसले ठूलो बजार गतिविधि र उपभोग चक्र चलाउँछ । कृषक, व्यापारी, ढुवानी गर्ने मजदुरदेखि मासु पसले र उपभोक्तासम्म सबै यस चक्रमा संलग्न हुन्छन् । यस वर्ष मूल्य अलिकति कम देखिए पनि, व्यापारिक परिमाण ठूलो भएकोले अर्थतन्त्रमा यसको योगदान महत्त्वपूर्ण नै छ ।

Advertisement


यद्यपि यो परम्परासँगै केही चुनौती पनि छन् । बथानसँगै आउने रोग–व्याधि नियन्त्रण, ढुवानी र जनावरको कल्याणजस्ता प्रश्न उठ्ने गरेका छन् । साथै उपभोक्ताको क्षमता र मागबीच सन्तुलन कायम गर्न मूल्य स्थायित्व पनि चुनौतीपूर्ण छ । तर, व्यवस्थित ढंगले नियमन गर्न सकिए च्यांग्रा व्यापारलाई ‘हिमाली उत्पादन’ को ब्रान्डमार्फत पर्यटन र निर्यातसँग पनि जोड्न सकिन्छ । दसैं, च्यांग्रा र पोखरा—यी केबल संयोग होइनन्, हाम्रो जीवनशैली, संस्कार र अर्थतन्त्रको गहिरो सम्बन्ध बोकेका आयामहरू हुन् । पौष्टिकता, परम्परा र ग्रामीण आम्दानीको सन्तुलनमा अडिएको यो संस्कारलाई संरक्षण र व्यवस्थापन गर्नु आजको आवश्यकतासमेत हो । यसरी हेर्दा, भेडाच्यांग्राले केबल हाम्रो भोजनलाई मात्र मिठो बनाउँदैन, यसले हाम्रो समाजलाई एकै ठाउँमा बाँध्ने अदृश्य सूत्रको काम पनि गरिरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया