सम्पादकीय—चाडपर्वमा सडकको दुर्दशा

दसैँ, तिहार र छठजस्ता महान् चाडपर्व नजिकिँदै गर्दा नेपालीहरूको मनमा घर फर्कने र प्रियजनसँग भेट्ने उत्साह छ । तर, यस वर्ष पनि सडकको अवस्थाले त्यो उत्साहलाई चिन्तामा परिणत गरिदिएको छ । सडक विभागले मुख्य राजमार्गहरू मर्मतसम्भार भइरहेको र चाडपर्वमा सहज यात्राका लागि तयारी अवस्थामा रहेको दाबी गरे पनि वास्तविकता भने फरक छ । दर्जनौँ राजमार्गहरू महिनौँदेखि अवरुद्ध छन्, र कतिपय सडक खण्डहरू सामान्य वर्षामा पनि पुनः अवरुद्ध हुने जोखिममा छन् । यसले चाडपर्वको बेला हुने यात्रुहरूको ठुलो चाप व्यवस्थापनमा गम्भीर चुनौती थपेको छ ।
सडक विभागका अनुसार, काठमाडौँलाई जोड्ने मुख्य राजमार्गहरूलाई चुस्त–दुरुस्त राख्न नियमित मर्मतसम्भार र खाल्डाखुल्डी पुर्ने कार्य भइरहेको छ । बीपी राजमार्गलाई चुस्त राख्न ३५ वटा उपकरण तैनाथ गरिएका छन् भने, मुग्लिङ सडकखण्डमा भदौ मसान्तभित्र खाल्डाखुल्डी पुर्ने काम सम्पन्न गरिने दाबी गरिएको छ । पहिरोको उच्च जोखिम रहेका क्षेत्रहरूमा यन्त्र–उपकरणसहितको टोली तैनाथ गरिएको र तत्काल अवरोध पन्छाएर यातायात सुचारु गराउन सकिने विभागको भनाइ छ । यसका साथै, चालु अवस्थामा रहेका ठेक्का अन्तर्गतका निर्माण व्यवसायीहरूलाई पनि आफ्नो क्षेत्रका खाल्डाखुल्डी तत्काल मर्मत गर्न निर्देशन दिइएको छ ।
तर, विभागको यी दाबीहरूका बाबजुद, वास्तविकता अलि फरक छ । अरनिको राजमार्ग एक महिनादेखि, गल्छी–स्याफ्रुबेँसी सडक दुई महिनादेखि पूर्ण रूपमा अवरुद्ध छन् । कोशी करिडोर, तमोर करिडोर, भेरी करिडोर, सहिदमार्ग र जुम्ला सडक लगायतका अन्य धेरै मार्गहरू पनि तत्काल सञ्चालनमा आउन सकेका छैनन् । अविरल वर्षा र बाढीपहिरोका कारण देशका ६ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन् भने, ६ वटा राजमार्ग एकतर्फी सञ्चालनमा छन् ।
यसपालि चीनसँगको कनेक्सन जोड्ने मितेरी पुल पनि लेन्दे खोलाले बगाएपछि नेपाल–चीन व्यापारिक मार्गमा समेत अवरोध आएको छ । चीनले बेलीब्रिज जडानका लागि आफ्नोतर्फ संरचना तयार गरे पनि, नेपालतर्फ पानीको बहाब बढेकाले काम अघि बढ्न सकेको छैन । सिन्धुपाल्चोकको कोदारी खण्डमा अरनिको राजमार्ग चौधौँ पटकसम्म अवरुद्ध भएको छ, जुन साउन १८ गतेदेखि अवरुद्ध भएर भदौ ५ गते खुले पनि, फेरि भदौ ८ गतेदेखि पूर्ण रूपमा बन्द छ ।
विभागले देशभरीका सडकमा अवरोध आएको ३० देखि ६० मिनेटभित्र उपकरण परिचालन गर्ने र ४ घण्टाभित्र एकतर्फी भए पनि सडक खुलाउने नीति लिएको छ । मर्मतका लागि देशभर २७७ वटा उपकरण तयारी अवस्थामा राखिएको छ । तर, महिनौँदेखि बन्द रहेका मुख्य मार्गहरूको अवस्था हेर्दा, विभागको यो तयारी पर्याप्त नदेखिएको स्पष्ट हुन्छ ।
चाडपर्वमा घर फर्किने लाखौँ यात्रुहरूको सहज यात्रा सुनिश्चित गर्न सडक विभागले थप गम्भीरताका साथ काम गर्नुपर्ने देखिन्छ । केवल दाबी र योजनाहरूले मात्र पुग्दैन, सडकमा देखिने वास्तविक प्रगतिले मात्र यात्रुहरूलाई ढुक्क बनाउन सक्छ । चाडपर्वको मुखमा पनि सडकहरू अवरुद्ध रहँदा आम नागरिकको जनजीवन र अर्थतन्त्रमा पर्न सक्ने नकारात्मक असरलाई नजरअन्दाज गर्न मिल्दैन । यस वर्षको चाडपर्वमा पनि सडकको दुरवस्थाले गर्दा यात्रुहरूले सास्ती भोग्न पर्ने देखिन्छ ।







‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
पोखरामा बन्यो भैरव मन्दिर
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया