अझै सुन र पित्तल नछुटाउने !

चिरञ्जीवी शर्मा पौडेल २०८२ असोज ८ गते ११:२०

निश्चित उमेर समूहका तरुणहरूले चलाएको गत भाद्र २३ र २४ गतेको विरोध प्रदर्शनमा घूसपैठ हुँदा यसले उग्ररुप लिन पुग्यो । विरोध प्रदर्शन हिंसात्मक आन्दोलनमा रुपान्तरण भयो । आन्दोलनले देशको प्रशासनिक अड्डा सिंहदरबार, सर्वोच्च अदालत र थुप्रै सरकारी कार्यालय ध्वस्त तुल्यायो । यस्ता आततायीपूर्ण घटना घट्न पुग्यो कि जुन अपराध कुनै कुख्यात वा पेशेवर वा तालिम प्राप्त अपराधीले मात्र घटाउन सक्छ ।


उक्त घटना हेरि सकेपछि म आफूलाई अब्राहम लिंकनको एउटा भनाइ याद आयोः संविधान बंग्याउनेलाई जनताले अन्तत हटाइ दिने छन् । आन्दोलनको नेतृत्वले नागरिक चाहना र आफूप्रति नागरिकले हेर्ने नजर बुझेर भावी कदम चाल्न वा आपूm अलग्गिएर मार्ग प्रशस्त गर्न आवश्यक थियो । सत्ताको नेतृत्व गरिरहेका व्यक्तित्वहरूले नागरिकको चाहना र आफूलाई हेर्ने नजरका बारेमा समयमै होस पुर्‍याउन सकेको देखिँदैन । यसले पनि देशल हिंसात्मक द्वन्द्वको सामना गर्नुपर्ने अवस्था रह्यो । हामी नेपाली पनि उस्तै छौं, जो भूतलाई मन्दिरमा लगेर स्थापित गरिदियौं ।


मन्दिरमा भूत स्थापित गरिसकेपछि त्यही मन्दिरबाट देवताको आशीर्वाद खोज्ने प्रयत्न गर्यौं, जो अत्यन्त असम्भव नै थियो । विगतमा हामीले अर्को पनि गल्ती गर्‍याे । देशको इज्जत बेचेर विध्वंस गरेर आएकाहरुबाट मुलुकको निर्माण र देशको इज्जतको आशा ग¥र्यौं । सायद हाम्रा यिनै गल्तीका कारणले वर्तमान विध्वंशको स्थिति सामना गर्नु पर्‍यो । यस्तै यस्तै नरसंहारकारी परिस्थितिको दास बनेका हामी सायद अब त उठ्नै न सक्ने गरी थेचारिने भई बेला भइसकेका छन् ।

Advertisement


राजनीतिलाई रक्तपात विहीन युद्ध बनाउनतर्फ हाम्रो बुद्धि वा दिमागले कहिल्यै काम गर्न सकेन । अब पनि परिस्थिति यही नै रहने हो भने हाम्रो मुलुकको अस्तित्व नै समाप्त हुने कुरामा दुइ मत रहन सक्दैन । गत भाद्र २३ र २४ गतेको विरोध प्रदर्शन हिंसात्मक आन्दोलनमा रुपान्तरण हुनुका पछाडि देशको नेतृत्व जिम्मेवार त छ नै, यसको सँगसँगै विगत देखि नै हिंसा र अराजकताको जगमा हुर्किआएको नेकपा माओवादी केन्द्र, शासन फर्काउन लागेको राष्ट्रिय प्रजातन्त्र पार्टी र सहकारीको अकुत सम्पत्ति ठगी गरी हाल मुद्दा पुर्पक्षको सिलसिलामा कारागारमा बन्दी बनेका रवि लामिछाने र उनका सत्ता पिपासु आसेपासेहरु पनि उत्तिकै जिम्मेवार छन् ।


रास्वपाको समूह जो राजनीतिको गिद्धे लुछाचुँडीमा अभ्यस्त भएको छ र ऊ सानो लोभ देखाएर जनतालाई धरापमा पार्न पनि उत्तिकै सीपालु छ । यिनीहरूले थापेको धरापमा समग्र नेपाली जनतामात्र परेनन् आफूले थापेको धरापमा राष्ट्रिय स्वतन्त्र पार्टी स्वयं पनि फस्न पुग्यो । विगतमा मुलुकलाई हत्या र हिंसाको चपेटामा गिजोलेर आएको भारतीय कम्युनिस्ट पार्टीभन्दा फरक नपर्ने नेकपा माओवादी केन्द्रका केही जल्लादले लुटेको सम्पत्तिले उचालिएर नपुगेर गत भदौं २३ र २४ को राज्य आतंक फैलाउन आफ्ना आसेपासेहरूलाई मैदानमा उतार्‍यो ।

Advertisement

सरकारमा रहनेहरुको गैरजिम्मेवारीपन, अनैतिकता, निर्लज्जता र कुकृत्यले देश धुरुधुरु रुने अवस्थामा पुग्यो ।

सायद प्रचण्ड र राजावादीको गोप्य साँठगाँठमा यो आतंक सिर्जना गरिएको थियो । यो आतंक सिर्जित हुनुको पछाडि प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार, छुद्रता र दम्भले पनि उत्तिकै काम गरेको छ । सामाजिक सञ्जालमा आफ्ना विरुद्ध लेख्ने गरेका अनगिन्ती गालीको वर्षालाई सहन गर्न सक्ने क्षमता नहुँदा उनले सामाजिक सञ्जाल नै बन्द गरिदिए ।

‘के निहुँ पाउँ र कनिका बुकाउँ’ भन्ने अवस्थामा रहेका सरकारको कार्यशैलीबाट चरम असन्तुष्ट रहेका नेपाली नागरिक विशेषत निश्चित उमेर समूहका किशोर वा तरुणहरू प्रधानमन्त्रीको यो कदमबाट भड्किनु स्वाभाविकै थियो । हिंसा, अपराध र अराजकताले मुलुक त्यसै त अस्तव्यस्त वा थिलोथिलो परेकै थियो, त्यसमाथि पनि विदेशी स्वार्थ समूहहरुले देशभित्रका केही एनजीओवादी उशृंखल तत्वहरुलाई साथमा लिएर थप चोट पुर्‍याइरहेकै थिए ।


सरकारमा रहनेहरूको गैरजिम्मेवारीपन, अनैतिकता, निर्लज्जता र कुकृत्यले देश धुरुधुरु रुने अवस्थामा पुग्यो । शासन प्रशासन निकम्मा र अस्तव्यस्त भयो । संविधान च्यातियो, चोर र लुटेराहरुलाई देश दोहन गर्न लगाइयो, जतिसुकै बेला जे पनि बोल्ने, राजनीतिलाई सधै बेइमानीपूर्ण तरिकाले उपयोग गर्ने, आफ्नो स्वार्थका लागि जुनसुकै हत्कण्डा अपनाउन पछि नपर्ने अत्यन्त तल गिरेर कर्महरु गर्न सक्ने पात्रहरुका कारण आज देश रोइरहेको छ ।


अब मुलुकमा संयम, शान्ति र वैधानिक मार्ग अनुसरणको आवश्यकता छ । वैधानिक मार्ग अनुसरण गर्न नजान्ने मुलुकलाई लहड दम्भ र अहंकारमा हाँक्न खोज्नेहरुका कारणले मुलुकको अधोगति हुनुका सँगसँगै सहिदका रगतको अबमूल्यन हुन गएको छ । कुनै पनि बहाना सहिदहरूका रगतको अवमूल्यन गर्न पाइँदैन ।


हामी नेपाली पनि त हाम्रो स्वाभिमान, संस्कार र संस्कृतिबाट पथभ्रष्ट भइसकेका छौं । हामीले आफ्नो संस्कार र संस्कृतिलाई लत्याएर अरूको सँस्कार र सँस्कृति अनुसरण गर्न पुग्यौं, त्यसले हामीलाई अरू कसैको गुलाम वा नोकर बन्न सिकायो । जसको फलस्वरुप हामी अब नेपाली रहेनौँ । अब हामी त क्षेत्री, बाहुन, मगर, गुरूङ, पहाडी, मधेसी, सहरिया वा गाउँले आदि विभिन्न चिरामा विभक्त हुन पुग्यौं । हम्रो एकता टुट्यो, हाम्रा बीचमा अरु कसैले खेल्न थाल्यो, हामी आपसमा झगडा गर्दागर्दै सिद्धिन थाल्यौं । हाम्रो सहिष्णुता मेलमिलाप र सौहाद्र्रता हराउन पुग्यो ।


अरु कसैले हामीलाई सस्तो श्रममा निम्नस्तरीय श्रमिकका रूपमा प्रयोग गर्न थाले । अब हामी त हाम्रो देश बनाउन लाग्दैनौं, त्यो अवस्थामा छँदा पनि छैनौं, अब त हामी केवल फुटाउनेहरुका श्रमिकका रूपमा उनीहरूकै मुलुकमा पुगी सक्यौ । नेपालभन्दा साना मुलुकहरू पनि यो संसारमा छन्, जसले आफ्नो स्वाभिमानका सँगसँगै संस्कार र संस्कृतिलाई बचाएर ठूला भनिएका मुलुकहरुलाई ललकारी रहेका छन् ।

ताइवान सानो छ तर चीनलाई लल्कारी रहेको छ । क्युबा सानो छ तर अमेरिकी हस्तक्षेपलाई निरन्तर अस्वीकारमात्र होइन, बेवास्ता पनि गरिआएको छ । पञ्चायतको अन्त्यतिर तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठले जनआन्दोलनका कमान्डर गणेशमानसिंह समक्ष ‘गणेशमान दाइ तपाईं वाममोर्चालाई साथमा लिएर जनआन्दोलनको नेतृत्व गरिरहनु भएको छ तर एउटा कुरा ख्याल गर्नू होला, कम्युनिष्टहरुको सहयोगले पञ्चायती व्यवस्था फाल्न त तपाई सफल हुनु होला तर यी त भारतीय कम्युनिस्ट हुन्, जसले कालान्तरमा तपाईंको प्रजातन्त्र नै फालिदिनेछन, तपाइको प्रजातन्त्रको सँगसँगै यिनीहरुले त देशै बेचिदिने छन् ।’


मरिचमान सिंह विचारमा जस्तोसुकै भए पनि राष्ट्रियताको मामिलामा आफूलाई अत्यन्त निष्ठाका साथ उभ्याउने राष्ट्रवादी पात्र हुन् । उनले भ्रष्टाचारलाई बढावा दिने, राज्यको सम्पत्ति स्रोत, साधनलाई दुरुपयोग गर्ने, विदेशी हस्तक्षेप निम्त्याउने कुनै पनि काम गरेनन् । उनको तुलनामा वर्तमान गणतान्त्रिक र अझ सर्वहाराका नामबाट उठे–उठाइएका नेताहरूको अवस्थालाई तुलनात्मक रुपमा अध्ययन गर्दा के देखिन्छ ? विज्ञ पाठकवर्गहरु आफैंले मूल्यांकन गर्नु नै हुनेछ ।

मरिचमानले भने जस्तै यिनै भारतीय कम्युनिस्टहरूको स्वार्थमा प्रजातन्त्र र प्रजातान्त्रिक संस्था वा प्रतिष्ठानहरुलाई नष्टभ्रष्ट वा भंग गर्ने काम गरियो । मुलुक बन्दुकको छायाँबाट सञ्चालन गर्न खोजियो सामान्य नागरिकलाई राज्यकातर्फबाट वा राजनीतिक आन्दोलनको नेतृत्व गर्नेहरुबाट आस्वस्त होइन, आतंकित बनाउने काम गरियो। २०७२ सालमा जारी गरिएको नेपालको संविधानलाई संविधान वादको मूल्य मर्म र सिद्धान्त बमोजिम बनाउने काम गरिएन, यो संविधानलाई प्रजातन्त्र मैत्री पनि बन्न दिइएन ।


यो संविधानले स्थानीय नागरिकको उपयोगितालाई अनुकूलन गर्न पनि नसकेको भन्ने गम्भीर आरोप लाग्ने गरेको छ । यो संविधान स्वभावत कम्युनिस्टमैत्री संविधान हो, जसलाई देखाएर कुशासन, दण्डहिनता र अपारदर्शिताका खेलहरू खेल्ने गरियो । त्यसैको प्रतिफल हो संसदको ३२ सिट प्राप्त कान्छो पार्टीले पटक पटक सरकारको नेतृत्व गर्नु कुशासन र दण्डहिनताका अनेकौ हर्कत सञ्चालन गर्नु्, भ्रष्टाचारलाई चरम बढावा दिनु, उक्त खेलमा अन्य राजनीतिक दलहरु प्नि सामेल हुनुले परिस्थिति अझै भयानक बन्न पुग्यो ।

राज्य सञ्चालक र विपक्षी विहीन संसद दुवै निकम्मा साबित हुन पृुगे । मुलुक कस्ले सञ्चालन गरको छ भन्ने नै थाहा नहुने अवस्था रह्यो । आन्दोलनको अवसर छोपेर वा अरु कुनै बहानामा जे जसरी हुन्छ, सानादेखि ठूलासम्मले राज्यमा लुटडकैती वा.दोहन गर्न अभ्यस्त हुने शिक्षा र संस्कारको सुरुवात गरियो । हिजोको राज्य आतंक फैलाउन खप्पिस कर्ताहरुलाई राज्यका महत्त्वपूर्ण दस्तावेज नष्ट तुल्याउन, अपराधीका रेकर्डर हुने गरी खडा गरिएका अदालती प्रमाण समाप्त गर्न खटाइयो ।


समग्रमा देशलाई १८ औं शताब्दीतर्फ धकेलियो । रवि लामिछाने नामका नटवरलालसँग गठजोड गरेर हजारौं हजार अपराध कर्ममा संलग्न कैदीबन्दीलाई जेलबाट निकाल्ने काम गरियो र तीनै अपराधीहरुलाई अड्डा अदालतमा आगो झोस्न, बैंक डकैटी गर्न पठाइयो । के हामीले प्राप्त गरेको गणतान्त्रिक व्यवस्थाले दिने प्रतिफल यही हो ? आन्दोलनको राप र तापबाट नेताका रूपमा स्थापितहरुले सिकाउने र दिने संस्कार के यही हो ? जनताको चाहना र आक्रोशप्रति के तपाईंहरूको थोरै पनि जिम्मेवारीपन नभएकै हो ?

अब मुलुकलाई अझै पनि पतनतर्फ लैजाने नै हो ? यदि अझै पनि यहाँहरुले आफूलाई सुध्रने सुधार्ने इतिहासको पानाबाट तपाईंहरूको नाम फालिने .। साथै अर्कोतर्फ हामी नागरिक पनि अझैं सुन वा पित्तल छुट्याउने अवस्थामा छैनौं । हामीले पहेंलो देख्दैमा पित्तललाई सुन मानेर चर्को मूल्य तिरिरहेका छौंँ । अझै पनि सुन र पित्तल नछुट्याउने हो भने यो मुलुकको अस्तित्व हाम्रो राष्ट्रियता र हाम्रो स्वाभीमान कहाँ पुग्छ भन्न सकिँदैन ।


( वरिष्ठ अधिवक्ता चिरञ्जीवी शर्मा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता हुन् ।)

तपाईको प्रतिक्रिया