शीर्ष निकायमार्फत मूल मुद्दाको किनारा लगाउनु पर्ने कांग्रेस गण्डकी प्रदेशको निष्कर्ष

समाधान संवाददाता २०८२ असोज ८ गते १७:३८

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसम्पादन समितिले पार्टीका मूल मूल्य—राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रता—बारे यथाशीघ्र निर्णय आवश्यक रहेको निष्कर्ष निकालेको छ । बैठकले यस विषयमा ठोस निष्कर्षमा पुग्न पार्टी पदाधिकारी बैठक, केन्द्रीय कार्यसम्पादन समिति, केन्द्रीय कार्यसमिति, महासमिति, विशेष महाधिवेशन वा १५ औँ महाधिवेशनमध्ये उपयुक्त निकायमार्फत निकास दिनुपर्ने धारणा व्यक्त गरेको हो ।

बैठकमा नेताहरूले अहिलेको परिस्थितिमा मुलुक गम्भीर राजनीतिक संकटमा फसेको भन्दै पार्टीले ढिला नगरी निर्णय प्रक्रियामा प्रवेश गर्नुपर्नेमा जोड दिए । उनीहरूले “देश जलेको विषम घडीमा बहाना बनाएर समय खेर फाल्न नहुने” भन्दै आगामी बैठकमार्फत ठोस निष्कर्षमा पुग्ने प्रतिबद्धता जनाए ।

बैठकले यसअघि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा धनजनमा पुगेको क्षतिको विषयमा गण्डकी प्रदेश कांग्रेसले भदौ २४ र २६ गते जारी गरेको विज्ञप्तिलाई अनुमोदन पनि गर्‍यो । साथै, आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरिएको छ । घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दै आन्दोलनका क्रममा भएको धनजन क्षतिबारे न्यायिक छानबिन हुनुपर्ने माग पनि उठाइएको छ ।

Advertisement

यस्तै, बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा र अन्य नेतामाथि गरिएको शारीरिक आक्रमणको भर्त्सना गर्दै स्वास्थ्यलाभको शुभकामना व्यक्त गरेको छ । जेनजी आन्दोलनले उठाएका मागलाई आत्मसात गर्दै आपसी सद्भाव र पार्टीभित्र सहमति खोज्नुपर्ने निष्कर्ष समेत बैठकले निकालेको छ ।

बैठकमा अन्तरिम सरकार गठन, संसद विघटन, निर्वाचन मिति घोषणा, संविधान संशोधन लगायतका विषयमा पनि गम्भीर छलफल भएको थियो । नेताहरूले यस अवस्थामा कांग्रेसले अग्रणी भूमिका खेल्नुपर्नेमा एकमत प्रकट गरेका प्रवक्ता माधव बास्तोला मधुले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया