युनाइटेड क्लब पोखराद्वारा वडा नं १० र १२ लाई कम्प्युटर र प्रिन्टर सहयोग

पोखरा । युनाइटेड क्लब पोखराले पोखरा महानगरपालिका वडा नं १० र १२ लाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगलागीबाट वडा कार्यालयहरू पूर्ण रूपमा क्षतिग्रस्त भई सेवाग्राहीको काम प्रभावित भएपछि, क्लबले आफ्नो विपद् व्यवस्थापन कोष अन्तर्गत उक्त सहयोग गरेको हो ।
युनाइटेड क्लबले नेपालीहरूको महान पर्व तिहारको अवसरमा देउसी–भैलो कार्यक्रम आयोजना गरी सो कोष स्थापना गरेको हो । विपद्का घटनामा सहयोग पुर्याउने परम्परा अनुरूप मंगलबार क्लबका अध्यक्ष लोकबहादुर थापा, निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, द्वितीय उपाध्यक्ष तथा विपद् व्यवस्थापन समिति संयोजक सूर्यबहादुर बानियाँ, कोषाध्यक्ष जयराम आचार्य, सचिव सन्तोष कार्की, कार्यसमिति सदस्य पूर्णकुमार श्रेष्ठलगायतको टोलीले कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको हो ।
सो अवसरमा पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङले युनाइटेड क्लबले सामाजिक उत्तरदायित्व वहन गर्दै वडाको आवश्यकतामा सहयोग पुर्याएको भन्दै आभार व्यक्त गरे ।
त्यसैगरी, क्लबको टोलीले पोखरा महानगरपालिका वडा नं १२ का वडाध्यक्ष सन्तोष बास्तोला, वडास्तरीय पुनर्निर्माण मूल समितिका संयोजक टिकाराम कार्की र अन्य जनप्रतिनिधिहरूलाई मेयर धनराज आचार्यको प्रमुख आतिथ्यतामा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गर्यो ।
मेयर आचार्यले अधिकांश वडाहरू क्षतिग्रस्त भएको अवस्थामा पुनर्निर्माणका लागि स्थानीय तह, संघ–संस्था र दातृ निकायको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै युनाइटेड क्लबलाई धन्यवाद ज्ञापन गरे । उनले वडास्तरीय कार्यालयहरू नागरिकको पहिलो सेवा केन्द्र भएकाले पुनर्निर्माणमा स्थानीयको सक्रियता आवश्यक हुनेमा जोड दिए ।
त्यस्तै, पुनर्निर्माण समितिका संयोजक टिकाराम कार्कीले वडाभित्रका संघ–संस्था र सहयोगी मनहरूको योगदानबाट हालसम्म १० लाख रुपैयाँ नगदसहित कम्प्युटर र प्रिन्टर प्राप्त भएको जानकारी दिए । उनले वडाको काम सुचारु गर्न अझै सहयोग आवश्यक पर्ने सम्भावना रहेको भन्दै सबै सहयोगीप्रति आभार प्रकट गरे ।
युनाइटेड क्लबका अध्यक्ष लोकबहादुर थापाले क्लबले पोखरा महोत्सवमार्फत शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवर्द्धनमा काम गर्दै आएको स्मरण गर्दै, विपद् व्यवस्थापन कोषमार्फत जेनजी आन्दोलनको आगलागीबाट क्षतिग्रस्त वडाहरूलाई कम्प्युटर र प्रिन्टर सहयोग गरिएको बताए ।
विपद् व्यवस्थापन समिति संयोजक सूर्यबहादुर बानियाँले अघिल्ला वर्षहरूमा पनि क्लबले विपद्को समयमा सहयोग गर्दै आएको उल्लेख गर्दै, यसपटक पूर्ण रूपमा क्षतिग्रस्त भएका वडा कार्यालय र अन्य सरकारी निकायहरूलाई आवश्यक सामग्री उपलब्ध गराएको जानकारी दिए ।









प्रतिनिधिसभा निर्वाचनका लागि १०७ चुनाव चिह्न तय, कुन दललाई के ?
कांग्रेस कास्की–१ मा उम्मेदवार प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १२ र समानुपातिकमा ८ जनाको दाबी
गोरखा–२ बाट पूर्वउपरथी बाबुराम श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिने
प्रेमराजको ‘एक्लो रात’ सार्वजनिक, भाषाविद् उपाध्यायले गरे विमोचन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया