जेनजी प्रदर्शनमा ज्यान गुमाएका प्रहरी सहायक हवल्दार अमृत गुरुङका परिवारलाई १५ लाख आर्थिक सहायता

समाधान संवाददाता २०८२ असोज १३ गते ८:२९

पोखरा । कास्की जिल्ला रुपा गाउँपालिका–५ स्थायी निवासी तथा प्रहरी प्रभाग कोटेश्वर, काठमाडौंमा कार्यरत प्रहरी सहायक हवल्दार अमृत गुरुङको पीडित परिवारलाई सरकारले १५ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ।

भदौ २३ र २४ गतेको प्रदर्शन नियन्त्रण गर्ने क्रममा ड्युटीमा रहँदा ३५ वर्षीय गुरुङको मृत्यु भएको थियो। राज्यको पक्षबाट शान्ति–सुरक्षा कायम गर्ने क्रममा ज्यान आहुति दिएका गुरुङको सम्मानस्वरूप नेपाल सरकारले मृतकको नजिकको हकदार श्रीमती कान्ति गुरुङको नाममा उक्त सहयोग रकम उपलब्ध गराएको हो। आर्थिक सहायता रकम असोज १२ गते भुक्तानी (जम्मा) गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।

अमृत गुरुङ अनुशासित, कर्तव्यनिष्ठ र जिम्मेवार प्रहरी अधिकारीका रूपमा परिचित थिए। सेवाकालीन समयमा उनले विभिन्न संवेदनशील ठाउँमा खटेर अपराध नियन्त्रण, शान्ति–सुरक्षा कायम र समाजमा शान्तिपूर्ण वातावरण बनाउन निरन्तर योगदान दिएका थिए। प्रहरी संगठनमा गुरुङको सक्रियता र इमानदार सेवाभाव प्रशंसा गरिन्थ्यो।

Advertisement

आर्थिक सहायता हस्तान्तरणका क्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, सशस्त्र प्रहरी, सैनिक तथा राष्ट्रिय अनुसन्धानका प्रतिनिधिसहित जिल्ला सुरक्षा समितिका सदस्यहरू मृतक गुरुङको घर पुगेर परिवारलाई भेटी सान्त्वना दिएका थिए। उनीहरूले दिवंगत गुरुङले राष्ट्र र जनताको सुरक्षामा दिएको योगदानको स्मरण गर्दै परिवारलाई धैर्य धारण गर्न आग्रह गरे।

Advertisement

तपाईको प्रतिक्रिया